विश्वकप फुटबलअन्तर्गत आज हुने बेल्जियम र इंग्ल्याण्डको खेलमा दुबै टोलीका महत्वपूर्ण खेलाडी अनुपस्थित हुने भएका छन्।
समूह चरण पार गरिसकेका दुबै टोलीका लागि आजको खेलको जित हारको महत्व कम छ। खेलले केवल समूह विजेता र उपविजेता चयन गर्नेछ।
त्यसमाथि बेल्जियम र इंग्ल्याण्ड दुबै आज हारका लागि खेल्न लागेको व्यापक चर्चा चलेको छ। बिबिसीका अनुसार बेलायतका पब, मिडिया, कार्यालय र घरका बैठक कोठामा इंग्ल्याण्डले आज हार्न खेल्न लागेको चर्चा छ।
महत्वपूर्ण खेलाडी अनुपस्थित हुने भएपछि त्यस्तो चर्चामा थप बल पुगेको छ।
बेल्जियमका स्ट्राइकर रोमेलो लुकाकु खेलमा अनुपस्थित हुने भएका छन्। म्यान्चेष्टर युनाइटेडका स्टार लुकाकुको ट्युनिसियासँग खेलमा गोलीगाँठामा समस्या देखिएको थियो। प्रशिक्षक रोबर्टो मार्टिनेजले इंग्ल्याण्डसँगको खेल बाहिर रहे पनि लुकाकुले अन्य खेल नगुमाउने बताएका छन्। बेल्जिमयका कप्तान एवम् प्रिमियर लिग क्लब चेल्सीका स्टारका इडन हाजार्डको पनि आज खेल्ने सम्भावना कम रहेको बताइएको छ। उनी पिडौँलाको समस्याबाट गुज्रिएका छन्।
इंग्ल्याण्डले पनि मिडफिल्डर देले अलिलाई आज मैदानमा नउतार्ने भएको छ। ट्युनिसियासँगको खेलका क्रममा उनको मांसपेशीमा समस्या देखिएको थियो। ट्रेनिङका लागि मैदानमा उत्रिए पनि इंग्ल्याण्डले 'रिस्क' नलिने जनाएको छ।
इंग्ल्याण्डले कप्तान हेरी केनलाई पनि आराम दिने सम्भावना छ। त्यस्तै म्यान्चेष्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने रहिम स्टर्लिङको ठाउँमा म्याचेष्टर युनाइटेडबाट खेल्ने मार्कोस रासफोर्डलाई खेलाउने सम्भावना छ।
इंग्ल्याण्ड र बेल्जिमय समूह जीमा छन्। जारी विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका दुबैले 'राउण्ड सिक्सटिन'को खेललाई नजरअन्दाज गरेका छन्। उनीहरूको आँखा क्वाटरफाइनलमा छ।
आज समूह विजेता बन्नेले क्वाटरफाइनमा ब्राजिल वा मेक्सिकोमध्ये एकको सामना गर्नुपर्ने छ। जबकी उपविजेताले स्वीडेन अथवा स्विट्जरल्याण्डमध्ये एकको सामना गर्नेछ।
नकआउट चरणमा विजेता र उपविजेताले जापान, सेनेगल वा कोलम्बियामध्ये एकसँग भिड्नु पर्नेछ।
समूह एचमा रहेका यी राष्ट्रहरुको खेल पनि आजै हुदैँछ। सो समूहबाट पोल्याण्ड भने बाहिरिसकेको छ।
इंग्ल्याण्डका प्रशिक्षक गेरेथ साउथगेटले समूह उपविजेता हुन खेल्न लागेको हल्लालाई अस्वीकार गरेका छन्।
'दोश्रो स्थानका लागि तयारी कसरी गरिन्छ? यो सम्भव छ र', साउथगेटले भनेका छन्, 'मैले खेलाडीलाई पहिलो वा दोश्रो हुँदा के फरक पर्छ भनेर सोचेर समय खेर नफाल्न भनेको छु। मैले हामी पछाडि कोसँग खेल्दैछौं भन्ने पनि नसोच्न भनेको छु।'
जारी विश्वकपमा ५ गोल गरेका हेरी केन र ४ गोल गरेका रोमेलु लुकाकु दुबै अनुपस्थित रहे खेल खल्लो बन्न सक्छ। दुबै टोलीले अघिल्ला खेलहरुमा पहेँलो कार्ड पाएका खेलाडीलाई आज आराम दिने सम्भावना पनि छ।
इंग्ल्याण्डका पूर्वकप्तान डेभिड बेकह्याम बेल्जियमविरूद्धको खेल हेर्न आज रसिया पुगेका छन्। इंग्ल्याण्डका प्रशिक्षक साउथगेटले बेह्क्यामलाई स्वागत गरेका छन्। साउथगेट र बेह्क्यामले विगतमा सँगै राष्ट्रिल टोलीबाट फुटबल खेलेका थिए।
बेह्क्यामले पानामा र ट्युनिसियाको खेलपछि समेत साउथगेटलाई खेलबारे सुझाव दिएका थिए।
खेल रसियाको कालिइन्गार्द रंगशालामा राति पौने १२ बजे सुरू हुनेछ।