म अहिले पनि रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार सम्झन्छु।
६ वर्षको हुँदा स्कुलको हाफ टाइममा म दिउँसोको खाना खान घर आउँथे।
आमा हरेक दिन उही खाना दिन्थिन्, रोटी र दुध। बच्चा हुँदा तपाईंहरू यस्तो कुरा सोच्नु पनि हुन्न। तर मलाई लाग्छ हामीले खान सक्ने भनेकै त्यहीमात्र थियो।
एकदिन म घर आएँ र सिधै भान्छामा छिरें। आमा रेफ्रिजेरेटरको छेउमा थिइन्। सधैँझैं हातमा दुधको बट्टा समातेकी। उनले दुधमा केही मिसाइरहेकी थिइन्। केहीबेरमा उनले बट्टा तलमाथि हल्लाइन्। आमाले के गरेकी हुन् मैले मेसो पाइनँ।
एकछिनमा उनले सबैकुरा ठिकठाक भएजस्तै मुस्कुराउँदै मलाई खाना ल्याइदिइन्। त्यसपछि मैले थाहा पाएँ- आमाले अघि के गरेकी थिइन्।
उनले दुधमा पानी मिसाएकी थिइन्। हप्ताभरि पुग्ने दुध किन्न हामीसँग पैसा थिएन। हामी टाट पल्टिएका थियौं। गरिबमात्र होइन टाटै पल्टेका।
मेरा बा फुटबल खेल्थे तर उनी आफ्नो करियरको अन्त्यतिर थिए र सबै पैसा सकिइसकेको थियो।
पहिले केबल टिभी गयो। त्यसपछि न फुटबल, न म्याच अफ द डे । न त सिग्नल।
राति म घर आउँदा बत्ती हुन्थेन। दुई/तीन हप्तासम्म बिजुली आउँथेन।
नुहाउन तातोपानी हुन्थेन। स्टोभमाथि केट्ली राखेर आमा अलिकति पानी तताउँथिन्। म सावरको मुनि कपले टाउकोमा तातोपानी खन्याउँदै उभिन्थे।
समय यस्तो पनि थियो, गल्लीको बेकरी पसलबाट आमा पाउरोटी उधारोमा ल्याउँथिन्। ती पसले मलाई र भाइलाई चिन्थे। त्यही भएर शुक्रबार पैसा तिर्ने गरी सोमबार नै पाउरोटी दिइदिन्थे।
मलाई थाहा थियो हामी संघर्ष गरिरहेका छौं। तर जतिबेला आमाले दुधमा पानी मिसाएको देखें। मैले महशुस गरे- सबैथोक सकियो। तपाईंले बुझ्नुभयो मैले भन्न खोजेको कुरा? हाम्रो जीवन यस्तै थियो।
त्यो दिन मैले आमासँग एक शब्द बोलिनँ। म उनलाई तनाव दिन चाहदैनथें। मैले खाना खाएँ र निस्कें।
तर मैले भगवानसँग कसम खाएँ र आफैंसँग एउटा वाचा गरें।
मैले गरेको वाचा केही समयआफैंसँग राखें। एकदिन स्कुलबाट घर फर्कँदा आमा रोइरहेकी थिइन्।
मैले आमालाई भनें- आमा यो सबै फेरिन्छ। हेरिराख, म एन्डरलेक्टका लागि फुटबल खेल्दैछु र त्यो पनि छिटै। त्यसपछि हामीलाई राम्रो हुनेछ। त्यसपछि तिमीले केही सुर्ता गर्नुपर्दैन।
६ वर्षको हुँदा मैले बालाई सोधें-कति वर्ष भएपछि व्यावसयिक फुटबल खेल्न पाइन्छ?
बाले भने- १६ वर्षमा।
मैले भनें- ठिक छ। त्यसो भने १६ वर्ष।
त्यसपछि मैले खेल्ने हरेक खेल फाइनल थिए। पार्कमा खेल्दा पनि त्यो फाइनल थियो। किन्डरगार्डेनको ब्रेक टाइममा खेल्दा पनि त्यो फाइनल थियो।
म निकै गम्भीर थिएँ। हरेक पटक बल हान्दा म पूरै बल लगाएर हिर्काउँथे। बल फुट्ने गरी हिर्काउँथे । हामी फिफा खेलिरहेका हुन्थेनौं, साथी। कलात्मक सट पनि होइन। मसँग नयाँ फिफा थिएन। मसँग प्लेस्टेसन पनि थिएन। म मार्ने गरी खेलिरहेको हुन्थें।
जब म ठूलो हुँदै गएँ, केही शिक्षक र अभिभावक मलाई तनाव दिन थाले।
पहिलो पटक एक अधवैंशेले ‘ओइ, तँ कति वर्षको भइस्?कुन साल जन्मेको?’ भनेर सोधेको म कहिल्यै बिर्सने छैन।
११ वर्षको हुँदा म लियर्से युवा टोलीबाट खेल्थें। अर्को टोलीका एक अभिभावकले मलाई पिचमा जानबाट रोक्न खोजे।
उनले भने- यो फुच्चे कति वर्षको भयो? उसको परिचय पत्र खोइ? यो कहाँबाट आएको हो?
मैले सोचें- म कहाँबाट आएको रे! केरे। म एन्टवेर्पमा जन्मेको हुँ। म त बेल्जिमको हुँ।
मेरा बा त्यहाँ थिएनन् किनकी त्यहाँसम्म मलाई लैजान उनीसँग कार थिएन। म नितान्त एक्लो थिएँ, मैले आफैं आफ्नाबारे बोल्नुपर्थ्यो।
म बाहिर गएँ र झोलाबाट परिचयपत्र निकालेर ती अभिभावकलाई दिएँ। उनीहरूले नक्कली त होइन भनेर हेर्न एकार्कालाई दिए।
मभित्र भने रगत उम्लिरहेको थियो। मैले सोचें- पख न म तिमीहरूका छोरालाई सेकाउँछु। उसलाई हराउन त मआइसकेको थिएँ। अब त उसको सत्यानाश नै गरिदिन्छु। तिमी आफ्नो रोइरहेको छोरालाई लिएर घर जान्छौ।
बेल्जियमको इतिहासमै म सबैभन्दा राम्रो फुटबलर हुन चाहन्थें। त्यो मेरो लक्ष्य थियो। राम्रो होइन। महान पनि होइन। सबैभन्दा राम्रो।
म निकै आक्रोशित भएर खेल्थें किनकी त्यहाँ धेरै कुरा थिए… किनकी हाम्रो अपार्टमेन्टमा मुसाहरू दौडिरहेका हुन्थे। किनकी म च्याम्पियन्स लिग हेर्न पाउँदैनथें। किनकी अरू अभिभावक मलाई अर्कै तरिकाले हेर्थे।
म एउटा मिसनमा थिएँ।
१२ वर्षको हुँदा मैले ३४ खेलमा ७६ गोल हानेको थिएँ। ती सबै गोल मैले बाका जुत्ता लगाएर गरेको थिएँ। खुट्टाको आकार मिल्न थालेदेखि हामी एकार्काका जुत्ता लगाउँथ्यौं।
एकदिन मैले आमापट्टीका हजुरबुवालाई फोन गरें। उनी मेरो जिन्दगीमा सबैभन्दा महत्वपूर्ण व्यक्तिमध्ये एक थिए। उनी मेरा बुवा र आमा आएको कंगोका थिए। बेलाबेलामा हाम्रो फोनमा कुराकानी हुन्थ्यो।
फोनमा मैले भनें- हजुरबा, मैले एकदम राम्रो गरिरहेको छु। मैले ७६ गोल गरें र हामीले लिग जित्यौं। ठूला क्लबहरूले पनि मलाई आँखा लगाउन थालेका छन्।
उनी सधैँ मेरो फुटबलबारे सुन्न चाहन्थे। तर यसपटक अचम्म भयो।
उनले भने- हो रोम, त्यो राम्रो हो। तर तिमी मलाई एउटा सहयोग गर्न सक्छौ?
‘सक्छु नि, के हो भन्नु त?’ मैले भनें।
‘तिमी मेरी छोरीको हेरचाह गर्न सक्छौ?’
म दोधारमा परें। हजुरबाले के भनेका होलान्।
मैले भने- आमा ठिक छन्। हामी सबै ठिक छौं।
‘नाइँ, मलाई वचन देऊ। तिमी मलाई वचन दिन सक्छौ?मेरी छोरीको राम्रो हेरचाह गर। मेरा लागि मेरी छोरीको राम्रो हेरचाह गर। हुन्छ?’, हजुरबाले भने।
मैले भने- हुन्छ हजुरबा, मैले बुझें। तपाईंलाई मेरो वचन भयो।
त्यसको पाँचदिनपछि हजुरबा बिते। मैले बल्ल बुझें उनले किन त्यसो भनेछन्।
मलाई त्यो सम्झेर अहिले दु:ख लाग्छ। हजुरबा चार वर्ष अरू बाँचेको भए मलाई एन्डरलेक्टबाट खेलेको देख्थे। मैले आफ्नो वचन पूरा गरेको देख्थे। सबै कुरा ठिकठाक भएको देख्थे।
मैले आमालाई म १६ वर्षको भएपछि सबै राम्रो हुन्छ भनेको थिएँ। म १६ वर्ष हुन ११ दिन मात्र बाँकी थियो।
मे २४, २००९। एन्डरलेक्ट र स्टान्डर्ड लिजबीचको प्लेअफ फाइनल।
त्यो मेरो जिन्दगीकै अविश्वसनीय दिन थियो। तर हामीले एक मिनेट अझ पछाडि फर्केर हेर्नुपर्छ। किनभने सिजनको सुरूआतमा म एन्डरलेक्टको यू-१९ बाट मुस्किलले खेलिरहेको थिएँ। प्रशिक्षकले मलाई बेन्चमा बस्न भनिरहेका थिए। म सोचिरहेको थिएँ- अझै बेञ्चमा बसेर म आफ्नो १६ औं जन्म दिनमा कसरी प्रो कन्ट्रयाक्टमा साइन गरौंला?
त्यसपछि मैले प्रशिक्षकसँग बाजी थापें।
मैले भनें- यदि मलाई खेल्न दिनुभयो भने डिसेम्बरसम्म म २५ गोल हान्छु।
उनी हाँसे। उनी साँच्चै हाँसे।
‘पत्याउनुभएन। ल बाजी राखौं।’
उनले भने- ओके। तर तिमीले डिसेम्बरसम्म २५ गोल गरेनौं भने फेरि बेन्चमा बस्नुपर्छ।
‘हुन्छ। तर मैले जितें भने तपाईंले खेलाडीलाई घरबाट ट्रेनिङ गर्ने ठाउँसम्म ल्याउने सबै गाडी सफा गर्नुपर्छ।’
उनले भने- ल बाजी भयो।
‘एउटा अर्को कुरा पनि तपाईंले हरेक दिन हाम्रा लागि पेनकेक पनि बनाउनुपर्छ।‘
उनले भने- हुन्छ। केही छैन।
सायद उनले आजसम्म थापेको सबैभन्दा मुर्खतापूर्ण बाजी थियो त्यो।
नोभेम्बरमै मैले २५ गोल हानें। त्यसपछि क्रिशमसअघि नै हामीले पेनकेक खान थाल्यौं।
मे १३ मेरो जन्मदिन हो। सोही दिनको अवसरमा मैले एन्डरलेक्टसँग प्रोकन्ट्रयाक्ट साइन गरें।
त्यसपछि सिधै बाहिर गएँ र न्यु फिफा र केबल प्याकेज किनें। त्यतिबेला सिजन सकिइसकेको थियो। त्यसैले मैले घरमा रमाइलो गरें।
तर बेल्जियम लिगचाहिँ त्यो वर्ष अचम्मको भइरहेको थियो किनकी एन्डरलेक्ट र स्टान्डर्ड लिजले बराबरी प्वाइन्ट ल्याएका थिए। त्यही भएर उपाधिका लागि दुईवटा प्लेअफ खेल्नुपर्ने थियो।
पहिलो खेल हुँदा म समर्थकजस्तो घर बसेर टिभीमा हेरिरहेको थिएँ।
एन्डरलेक्टमा दोस्रो खेल हुनु अघिल्लो दिन मलाई प्रशिक्षकले फोन गरे।
‘हेलो।’
‘हेलो रोम। तिमी के गरिरहेका छौ?’
‘पार्कमा फुटबल खेल्न जान लाग्या छु।’
‘हुन्न, हुन्न पार्कमा खेल्न नजाऊ। तिम्रो झोलासोला छिटो तयार गर।’
‘के रे? के गरें र मैले?’
‘होइन तिमीले केही गरेका छैनौं।तिमी तत्काल रंगशाला जानुपर्ने भयो। पहिलो टिम तिमीलाई चाहन्छ।’
‘के रे!म?’
‘हो, तिमी छिटो आऊ।‘
म बाको ओछ्यानमाथि उफ्रिएँ। बालाई भनें- छिटो उठ, हामी अहिल्यै नै जानुपर्छ।
बाले मलाई के भन्छ कहाँ जाने भन्याजस्तो गरेर हेरे।
‘एन्डरलेक्ट।’
त्यो दिन रंगशला पूरै हेरेको र दौडिँदै ड्रेसिङ रूममा गएको म कहिल्यै बिर्सन्न।
ड्रेसिङ रूममा सामान दिने मान्छेले सोध्यो- कति नम्बरको जर्सी लगाउन चाहन्छौ?
मैले भनें- १० नम्बरको जर्सी दिनुस्।
डराउनका लागि पनि सायद म धेरै सानो थिएँ।
उसले भन्यो- एकेडेमीका खेलाडीले ३० नम्बर वा माथिको जर्सी लगाउनुपर्छ।
‘ओके त्यसो भए ३ मा ६ जोड्दा ९ हुन्छ। त्यो ठिक नम्बर छ। मलाई ३६ नम्बरको दिनुस्।’
त्यो रात होटलमा टिमका दाइहरूले खाना खानेबेला मलाई गीत गाउन लगाए। के गाएँ भन्नेचाहिँ म सम्झन्नँ। त्यतिबेला टाउको फनफनी घुमिरहेको थियो।
अर्को दिन बिहान साथीहरू म फुटबल खेल्न जान्छु कि जान्न भनेर घरको ढोकामा हान्न आएछन्। आमाले भनिछन्- ऊ त बाहिर खेल्न गइसक्यो।
‘कहाँ।’
उनले भनिछन्- फाइनल खेल्न गयो।
रंगशाला पुगेपछि हामी सबै बसबाट ओर्लियौं। सबै खेलाडी सुट लगाएर हिँडिरहेका थिए। म चाहिं एकदमै नराम्रो ट्रयाकसुट लगाएर बसबाट झरें। टेलिभिजनका क्यामेरा मतिर सोझिएका थिए। लकर रुमसम्म जान ३०० मिटर हिँड्नु पर्ने थियो। सायद तिन मिनेटको हिँडाइ। मैले लकर रूममा पैताला राख्नेबित्तिकै फोन बज्याबज्यै भयो।
सबैजनाले मलाई टिभीमा देखेछन्। तीन मिनेटमा मलाई २५ म्यासेज आए। मेरा साथीहरू अचम्मित भइरहेका थिए।
‘साथी,तिमी किन खेल हुने ठाउँमा?’, ‘रोम, के भयो? तिमी किन टिभीमा?’
मैले बेस्ट फ्रेन्डलाई मात्र म्यासेज फर्काएँ- साथी, म खेल्दैछु कि छैन भन्ने मलाई थाहा छैन।के हुन लाको हो भन्ने नि पत्तो छैन। तर टिभी हेर्दै गर है।
६३औं मिनेटमा म्यानेजरले मलाई सब्स्टिच्युटमा जान भने।
म १६ वर्ष ११ दिनमा एन्डरलेक्टका लागि मैदानमा उत्रिएँ।
त्यो फाइनल खेल हामीले हार्यौं तर म त आफूले चाहेको ठाउँमा पुगिसकेको थिएँ। मैले आमा र हजुरबालाई गरेको वाचा पूरा गरेको थिएँ। त्यो यस्तो क्षण थियो जतिबेला मैले अब हामी सबै ठिक हुन्छौं भन्ने महशुस गरेको थिएँ।
अर्को सिजनमा म हाइस्कुलको अन्तिम कक्षामा थिएँ र त्यहीबेला युरोपा लिगमा पनि खेलिरहेको थिएँ। मैले सधैँ स्कुलमा ठूलो झोला लिएर जानुपर्थ्यो ताकि दिउँसो जहाज चढ्न सकूँ। हामीले सजिलै लिग जित्यौं। र म अफ्रिकन वर्ष खेलाडीमा दोस्रो भएँ। त्यो पागल बनाउने खालको कुरा थियो।
यो सबै मैले अपेक्षा गरेका कुरा थिए तर यति छिटो हुन्छन् भन्ने थिएन।
मिडियाले मलाई पछ्याइरहेका थिए। ममाथि अपेक्षा राखिरहेका थिए। विशेष गरी राष्ट्रिय टोलीका लागि। कारण जेसुकै भए पनि मैले बेल्जियमका लागि राम्रो खेलिरहेको थिइनँ। मैले सोचेजस्तो भइरहेको थिएन।
जतिबेला म १७,१८ र १९ वर्षको थिएँ। जब मेरो प्रदर्शन राम्रो हुन्थ्यो। समाचारपत्र मलाई रोमेलु लुकाकु, बेल्जियमको स्ट्राइकर लेख्थे।
जब मेरो खेल राम्रो हुँदैनथ्यो, उनीहरू मलाई रोमेलु लुकाकु कंगोली मूलका बेल्जिएन स्ट्राइकर लेख्थे।
यदि तपाईंलाई मेरो खेल्ने शैली मन पर्दैन भने केही छैन तर म यहीँ जन्मेको हुँ। एन्ट्वर्प,लिज र ब्रसेल्समा हुर्किएको हुँ। मैले एन्डरलेक्टका लागि खेल्ने सपना देखें। मैले भिन्सेन्ट कम्पनी हुने सपना पालें। फ्रेन्चमा सुरु गरेको वाक्य डचमा अन्त्य गर्न सक्छु। बेलाबेलामा साथीअनुसार अलिअलि स्पेनिस, पोर्चुगिज वा लिंगला पनि बोल्न सक्छु।
म बेल्जिएन हुँ। हामी सबै बेल्जिएन हौं। यसैले यो देशलाई शान्त बनाएको छ, होइन र?
मलाई थाहा छैन किन मेरै देशभित्रका मानिसहरू मलाई असफल भएको हेर्न चाहन्छन्। साँच्चै मलाई थाहा छैन। जतिबेला म चेल्सी गएँ र खेलिरहेको थिइनँ त्यतिबेला उनीहरू ममाथि हाँसिरहेका थिए। जब मलाई लोनमा वेस्ट ब्रोमबाट खेल्न पठाइयो उनीहरू मलाई देखेर हाँसिरहेका थिए।
तर पनि ठिकै छ। जब हामी सिरिएलमा दूधको साँटो पानी हालिरहेका थियौं ती मानिसहरू हामीसँग थिएनन्। यदि मसँग केही नभएको बेला तिमी मसँग थिएनौ भने तिमी मलाई बुझ्नै सक्दैनौं।
सबैभन्दा रमाइलो कुरा तपाईंलाई थाहा छ?
बच्चा हुँदा मैले १० वर्ष च्याम्पियन्स लिग हेर्न पाइनँ। हामी कहिल्यै पनि यो हेर्न सक्दैनथ्यो। जब म स्कुल आउँथे सबै बच्चाहरू फाइनलको कुरा गरिरहेका हुन्थे, के भएको हो भन्ने मलाई केही मेसो हुन्थेन। २००२ तिरको कुरा म सम्झन्छु। जतिबेला रियल मेड्रिड र बायर लेभरकुसेनले खेलेका थिए। सबै जनाले रियलका जिनेदिन जिदानले हानेको गोलको कुरा गरिरहेका थिए। ‘क्या गज्जबको भली। ओ माइ गड कस्तो भली!’ भनिरहेका थिए।
मैले उनीहरूले गरिरहेको कुरा आफूलाई पनि थाहा भएजस्तो नाटक गर्नुपर्थ्यो।
दुई सातापछि हामी कम्युटर क्लासमा बसिरहेका थियौं एक जना साथीले इन्टरनेटबाट एउटा भिडियो डाउनलोड गर्यो। त्यसपछि मैले देखें- जिदानले कर्नरबाट बाँया खुट्टाले कसरी हिर्काएका रहेछन्।
त्यो बसन्तभरि म त्यही साथीको घर गएँ ताकी रोनाल्डोले विश्वकप फाइनलमा गरेको गोल हेर्न सकूँ। त्यो प्रतियोगिताबारे अरू सबै कुरा मेरा लागि बच्चाहरूले स्कुलमा सुनाएका कथा थिए।
म सम्झिन्छु २००२ मा मेरा प्वाल परेका जुत्ता थिए। ठूला ठूला प्वाल परेका।
त्यसको १२ वर्षपछि म विश्वकप खेलिरहेको थिएँ।
यसपालि म आफ्नो दोस्रो विश्वकप खेल्दैछु।
तपाईंलाई एउटा कुरा थाहा छ?
यसपालि म रमाइलो गर्ने सोचिरहेको छु। तनाव र जालझेलका लागि जीवन साह्रै छोटो छ। हाम्रो टिम र मेराबारेमा मान्छेहरू जे चाहन्छन् त्यो भन्न सक्छन्।
जतिबेला हामी बच्चा थियौं। म्याच अफ द डेमा हामी थिएरी हेनरीलाई हेर्न पनि पाउन्नथ्यौं। अचेल म हरेक दिन राष्ट्रिय टिममा उनीसँग केही सिकिरहेको हुन्छु। म लेजेन्डसँग काँध मिलाएर उभिएको छु र उनी मलाई कसरी उनीजस्तै मैदानको खाली भागमा दौडिने भनेर सिकाउँछन्। हेनरीमात्रै संसारमा यस्ता मानिस हुन् जसले मेराभन्दा बढी फुटबल हेरेका छन्। हामी हरेक कुरामा बहस गर्छौं। हामी सँगै बसेर जर्मनीको सेकेण्ड डिभिजन फुटबलबारे छलफल गरिरहेका हुन्छौं
म सोध्छु- थिएरी,तिमीले फोर्चुना डसेलडर्फको सेटअप देखेका छौ?
उनी भन्छन्- देख्दैन त सिल्ली। अवश्य देखेको छु।
मेरा लागी यो संसारको सबैभन्दा मज्जाको कुरा हो।
बेलाबेलामा मेरा हजुरबा अहिलेसम्म यो सब हेर्न बाँचिदिएका भए भन्ने सोच्छु।
म प्रिमियर लिगको कुरा गरिरहेको छैन। न त मेन्चेस्टर युनाइटेडको कुरा गरिरहेको छु न त च्याम्पियन्स लिगको न त विश्वकपको नै।
मैले भन्न खोजेको त्यो होइन। मेरो प्रार्थना किन मात्र हो भने उनी बाँचेको भए हाम्रो अहिलेको जिन्दगी देख्थे। र म उनलाई फेरि फोन गर्थें। र भन्थें- देख्नुभो हजुरबा। मैले भन्या थिएँ नि। तपाईंकी छोरी ठिक छन्। हाम्रा अपार्टमेन्टमा अचेल मुसा दौडिदैनन्। कोही भूइँमा सुत्नु पर्दैन। कुनै तनाव छैन। हामी अहिले एकदम ठिक छौं। हामी एकदमै ठीक छौं…
अचेल कसैले मेरो परिचय पत्र हेर्दैनन्। किनकी उनीहरूलाई मेरो नाम थाहा छ।
(म्यान्चेन्स्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्ने लुकाकु अहिले दोस्रो पटक विश्वकप खेलिरहेका छन्। द प्लेअर्स ट्रिब्युनमा उनले लेखेको आई ह्याभ गट समथिंङ्स टु से लेखको यो भावानुवाद हो।)
यो पनि पढ्नुस् :