म दुई वर्षको छँदा बुवाको हत्या भयो। त्यसले मेरो पूरै जिन्दगी बदलिदियो। बुवा मारिएको केही समयपछि म र दिदीलाई जमैकामै छोडेर आमाले बेलायत जाने निर्णय गरिन्। त्यहाँ गएर विश्वविद्यालयमा पढ्ने र हाम्रो जीवन राम्रो बनाउने उनको लक्ष्य थियो।
केही वर्ष दिदी र म किङस्टनमा हजुरआमासँग बस्यौं। अहिले पनि सम्झन्छु जतिबेला म आफ्नी आमासँग भएका अरू केटाकेटी देख्थें मलाई साँच्चै ईर्ष्या लाग्थ्यो। आमाले साँच्चै हाम्रा लागि के गरिरहेकी छन् भन्ने मैले राम्ररी बुझेको थिइनँ। मलाई यतिमात्र थाहा थियो कि उनी हामीलाई छोडेर टाढा गएकी छन्।
हजुरआमा असाध्यै मायालु थिइन् तर त्यो उमेरमा हरेक मान्छे आफ्नी आमासँग हुन चाहन्छ।
मसँग आमा थिइनन् तर फुटबल थियो। जतिबेला आकाशबाट पानी पर्थ्यो हामी बच्चाहरू बाहिर दौडिन्थ्यौं। पानी जमेको चउरमा छल्याङबल्याङ गर्दै फुटबल खेल्थ्यौं। त्यो हाम्रा लागि सबैभन्दा राम्रो समय थियो। जमैकाको वातावरणबारे सोच्दा मेरो दिमागमा अहिले पनि आउने तस्बिर यही हो। जतिबेला पानी पर्थ्यो कोही पनि घरभित्र बस्दैनथे। सबैजना बाहिर निस्केर त्यसको आनन्द लिन्थे।
मैले सम्झने अर्को कुरा ग्य्रापनट आइसक्रिम किन्न हजुरआमासँग पैसा माग्न गर्ने बिलौना हो।
हाम्रो नजिकै एकजनाले घरबाहिर सानो पसल चलाउँथे। दिनभरि गल्लीमा फुटबल खेलेपछि म साँझ दौडिदै गएर पसलको ढोकामा ढकढक हान्थें। पसले झ्यालबाट टाउको निकालेर सोध्थ्यो- के चाहियो?
जमैका त्यस्तै हो मित्र, जहाँ मान्छेहरू आफ्नो कर्ममा जे छ त्यसमै चित्त बुझाएर जिउने प्रयासमा लागिरहेका हुन्छन्। चामलदेखि आइसक्रिमसम्मका सबै चिज एउटै सानो पसलमा पाइन्छ।
मैले त्यो बेला महशुस गरिनँ कि मेरी आमा पनि हाम्रो जीवन राम्रो बनाउन आफ्नै तरिकाले भीडभाडमा भौतारिरहेकी थिइन्।
म पाँच वर्षको हुँदा आमासँग बस्न दिदी र म लण्डन आयौं। त्यो कठिन बेला थियो किनकी म जे थिएँ त्योभन्दा यहाँको संस्कृति एकदमै फरक थियो र हामीसँग धेरै पैसा पनि थिएन। आमाले हामीले चाहिने कुरा जहिल्यै पनि पूरा गरिन्। तर यो पक्कै पनि 'द सुइट लाइफ अफ ज्याक एण्ड कोडी' सिरियलमा जस्तो थिएन।
आमा आफ्नो पढाइको फी तिर्न होटलमा सफाईको काम गर्थिन्। हामी स्कुल जानुभन्दा पहिला बिहान स्टोनब्रिजमा आमालाई होटलका ट्वाइलेट सफा गर्न सघाउँथ्यौं। त्यसका लागि सबेरै पाँच बजे उठ्नु पर्ने ती दिन म कहिले पनि बिर्सने छैन। कहिलेकाहीँ म दिदीसँग बाझिरहेको हुन्थें- तँ ट्वाइलेट सफा गर्, म बेडसिट मिलाउँछु।
यसो गर्नुको एउटामात्र राम्रो कुरा के थियो भने काम सकिएपछि भेन्डिङ मेसिनबाट जे निकाले पनि आमाले केही भन्थिनन्। म हरेक दिन मेसिनबाट बाउन्टी बार निकाल्थें।
हामी जहिल्यै अभावमा हुन्थ्यौं। म सधैँ घरभित्रका केही न केही सामान भाँच्थे, बिगार्थें र सोध्थें- आमा म बाहिर जाउँ, आमा म बाहिर जाउँ?
आमा सधैँ भन्थिन- बाहिर जाऊ तर घरभन्दा बाहिर नजाऊ।
म प्राथमिक विद्यालय जान थालें। त्यतिबेला म निकै बदमास थिएँ। आमालाई सायद मानसिक तनाव नै दिएँ। म धेरै नै खराब त थिइनँ तर कसैको कुरा सुन्न चाहन्नथें।
स्कुलमा पनि बसेर शिक्षकशिक्षिकाले भनेको कुरा सुन्दैनथें। कतिबेला ब्रेक टाइम होला भनेर घडीमा एकोहोरो हेरिरहन्थें।
ब्रेक टाइम भएपछि अलिकति खानेकुरा खाएर बाहिर निस्किहाल्थें। हिलोमा म नै रोनाल्डिन्हो हुँ भन्ठानेर दौडिन्थें। मलाई यतिको मात्र मतलब थियो।
धेरै बदमासी गरेकाले होला उनीहरूले मलाई स्कुलबाट निकाले। निकाले मतलब प्राविधिक रूपमै निकालेका होइनन् आमासँग भने कि मलाई धेरै नै ध्यान दिइराख्नु पर्ने ठाउँमा राख्नुपर्छ।
त्यसपछि मलाई छ विद्यार्थी र तीन शिक्षक भएको सानो कोठामा राखे। त्यो कोठामा लुक्ने ठाउँ कतै थिएन।
सबभन्दा झ्याउ लाग्दो कुरा के थियो भने हरेक दिन बसले हामीलाई लैजान्थ्यो र पुर्याइदिन्थ्यो। एकदिन बसमा गइरहेका बेला मैले झ्यालबाट बाहिर हेरें। अरू केटाकेटीहरू हाँस्दै हिँडेर स्कुल गइरहेका थिए। त्यो दृश्यले मलाई छोयो र मैले सोचें- म पनि त्यसरी हाँस्दै हिँडेर स्कुल जान चाहन्छु। म पनि अरूजस्तै हुन चाहन्छु। ममा के खराबी छ र।
म अरू कसैले भनेको सुन्दैनथें तर आमाले भनेको सुन्थें। आमाको कुराले मेरो व्यवहारमा परिवर्तन भयो। एक वर्षपछि म ठूलो स्कुलमा फर्किएँ।
मेरो जिन्दगी त्यतिबेलादेखि बदलियो जतिबेला क्लिभ एलिङटनलाई भेटें।
हाम्रो छिमेकमा ऊ बाबुसँगै नभएका बच्चाहरूलाई पढाउने गर्थ्यो। विदाको दिन हामीलाई लण्डनका विभिन्न ठाउँहरू देखाउन लैजान्थ्यो। कहिलेकाहीँ हामी स्नुकर खेल्नमात्र पनि जान्थ्यौं। ऊ साँच्चै हाम्रो ख्याल गर्थ्यो।
एकदिन ऊ मेरो छेउमा बस्यो र सोध्यो- रहिम, तिमीलाई के गर्न मन पर्छ?
सामान्य, यो सामान्य प्रश्न होइन र? तर मैले कहिल्यै पनि त्यसरी सोचेको थिइनँ।
त्यतिबेला म गल्लीमा फुटबल खेल्थें। साथीहरूसँग साइकल चलाउँथे। म बच्चामात्र भइरहेको थिएँ।
मैले भने- मलाई फुटबल खेल्न मन पर्छ।
उसले भन्यो- म एउटा सानो सन्डे लिग टिममा छु। तिमी आएर किन हामीसँग खेल्दैनौ?
मेरो जीवन बदल्ने क्षण त्यही थियो।
त्यही दिनदेखि जीवन फुटबल, फुटबल, फुटबल भयो। त्यसपछि दिमागमा फुटबल मात्र आइरह्यो।
१०/११ वर्षको हुँदा म लण्डनका ठूला क्लबको आँखामा परिसकेको थिएँ। फुल्हाम मलाई चाहन्थ्यो। आर्सनल मलाई चाहन्थ्यो। र जब तिमीलाई आर्सनल चाहन्छ अवश्य पनि तिमी त्यहाँ जानेबारे सोच्छौ। लन्डनको सबैभन्दा ठूलो क्लब। त्यतिबेला दौडिँदै मैले सबैलाई भनेको थिएँ- म आर्सनल जाँदैछु।
तर मेरी आमालाई म आर्सनल जाने कुरा मन परेन।
एकदिन उनले मलाई आफूसँगै बसाइन् र भनिन्- हेर, म तिमीलाई माया गर्छु तर तिमी आर्सनल जानुपर्छ भन्ने मलाई लाग्दैन।
मैले भनें- अ... ह...।
आमाले भनिन्- तिमी त्यहाँ गयौ भने त्यहाँ तिमीजस्ता ५० खेलाडी छन्। तिमी त धेरैमध्ये एकमात्र हुन्छौ। तिमी त्यस्तो ठाउँ जानुपर्छ जहाँ तिमी तरक्की गर्न सक्छौ।
उनले मलाई क्युपिआर जान राजी बनाइन् यो नै मैले आजसम्म गरेको सबैभन्दा सही निर्णय होला।
क्युपिआरमा उनीहरूले मलाई सानो गल्ती पनि गर्न दिएनन्। तर परिवारका लागि यो निकै कठिन समय भयो किनकी आमा मलाई एक्लै प्रशिक्षणमा जान दिँदैनथिन्। उनी आफू सधैँ काममा जानु पर्थ्यो। त्यही भएर सधैँ दिदीले मलाई हिथ्रोबाहिर लैजानुपर्थ्यो।
त्यहाँ पुग्न तीन वटा बस चढ्नु पर्थ्यो। सवा तीन बजे निस्केका हामी राति ११ बजेमात्र घर आइपुग्थौं। हरेक दिन यही क्रम दोहोरिन्थ्यो। मेरो ट्रेनिङ नसकुन्जेल दिदी एउटा सानो क्याफेको माथि बस्थी। कल्पना गर्नुस त १७ वर्षकी केटी फुच्चे भाइका लागि त्यो सब गरिरहेकी थिई। मैले कहिले पनि उसले 'अहँ, म उसलाई लिएर जान्नँ' भनेको सुनिनँ।
त्यतिबेला मैले बुझेको थिइनँ- दिदीले मेरा लागि कति त्याग गरेकी छ भनेर। मेरी दिदी र आमाले मलाई यहाँसम्म ल्याइपुर्याएका हुन्। पूरै परिवारले मेरो जिन्दगीमा ठूलो भूमिका खेलेको छ। उनीहरू नहुँदा हुन त सायद तपाईंहरू मलाई चिन्नु पनि हुन्थेन।
तपाईंहरूलाई थाहा छ मेरो बहुलठ्ठीपन?
म आफ्नो सपनाको छायामा हुर्किएँ। साँच्चै सपनाको छायामा।
पछाडिको बगैचाबाट मैले नयाँ बनेको वेम्बली रंगशाला हेरें। एकदिन म बाहिर निस्केर हिँडे त्यतिबेला मैले आकाशमा रंगशालाको आर्क देखें। त्यो घरहरूका बीचमा हिमालजस्तो माथि उठेको थियो।
म मेरो घरै छेउको चउरमा खेल्थें। म गोल हानेर खुशीयाली मनाउन पछाडि फर्कँदा वेम्बलीको आर्क ठ्याक्कै मेरो टाउकोमाथि हुन्थ्यो। वेम्बलीमै भए जस्तो हुन्थ्यो।
म साँच्चै सोच्थें, म त्यहाँ खेल्न सक्छु। म त्यो गर्न सक्छु।
तर यो कुरामा कसैले विश्वास गरेनन्। १४ वर्षको हुँदा मेरी एक जना शिक्षिका थिइन्। इमान्दार भएर भन्नुपर्दा म अन्तै हराएको हुन्थें उनका कुरा सुन्नको साटो। एकदिन उनले भनिन्- रहिम, के भयो तिमीलाई? फुटबल नै तिम्रो अन्तिम लक्ष्य हो भन्ने सोच्छौ? तिमीलाई थाहा छ तिमीजस्ता लाखौं केटाकेटी फुटबलर बन्न चाहन्छन्?
मैले सोचें- ठिकै हो, यस्तो कुरा मैले पहिला पनि सुनिसकें।
उनले फेरि थपिन्- तिमीलाई केले विशेष बनाउँछ?
त्यो लाइनले भने मलाई साँच्चै अड्कायो।
हो त मलाई केले विशेष बनाउँछ?
२ महिनापछि म इंग्ल्याण्डको यू-१६ मा समावेश भएँ र उत्तरी आयरल्याण्डविरूद्ध २ गोल गरें। टेलिभिजनलगायत सबैतिर यो देखाइएको थियो। त्यो मेरा लागि निकै ठूलो क्षण थियो। सोमबार स्कुल जाँदा अचानक सबै शिक्षकहरू मेरा संसारकै बेस्ट फ्रेन्ड बनेका थिए।
साँच्चै टर्निङ प्वाइन्टचाहिँ म १५ वर्षको हुँदा आयो। लिभरपुल मलाई चाहन्थ्यो तर यो घरदेखि तीन घन्टा टाढा पर्थ्यो। म आमासँग लिभरपुल जान चाहन्छु भनेको कुरा कहिल्यै बिर्सन्नँ। म छिमेकका साथीहरूलाई माया गर्थें। उनीहरू अहिले पनि मेरा बेस्ट फ्रेन्ड छन्। तर त्यतिबेला केही अपराध र छुरा प्रहारका घटना भइरहेका थिए। मलाई लाग्यो कि लिभरपुल नै कहीँ टाढा गएर फुटबलमा केन्द्रीत हुने ठाउँ हो। मेरो दिमागमा जानुपर्छ भन्ने थियो। मेरी आमा र दिदीले आफ्नो जीवन त्यागेर मलाई यहाँसम्म ल्याइपुर्याए। म यहाँ आइपुगें। अब जान्छु।
दुई वर्षसम्म म हराएँ। तपाईं मेरा साथीलाई सोध्न सक्नुहुन्छ। जब एक दिन बिदा हुन्थ्यो। म रेल चढेर आमालाई भेट्न लण्डन आउँथें र साँझ लिभरपुल फर्किन्थें।
मलाई दुनियाँसँग केही मतलब थिएन। म आफूलाई फुटबलर बनाइरहेको मात्र थिएँ।
क्लबले मलाई ७० वर्षका जोडीसँग बस्ने व्यवस्था मिलाएको थियो। उनीहरू मलाई नातिजस्तै व्यवहार गर्थे। हरेक बिहान म उठेर तल आउँदा ब्याकन बट्टी लिएर उनीहरू पर्खिरहेका हुन्थे। यो अविश्वनीय थियो। पछाडिको बगैंचा, ती फूल, ती रूखहरू त्यो एउटा बेग्लै दुनियाँ थियो।
हरेक दिन बिहान आमा फोन गरेर सोध्थिन्- रहिम, बिहानको प्रार्थना गर्यौ? आजका दिनका लागि धन्यवाद भन्यौ?
म भन्थें- अँ, आमा मैले सबै गरें।
सम्भवत: त्यो मेरो जीवनको सबैभन्दा महत्वपूर्ण समय थियो। मेरो एकमात्र उद्देश्य राम्रो कन्ट्रयाक्ट पाउने थियो ताकी मेरी आमा र बहिनीलाई कुनै पनि कुराको तनाव लिन नपरोस्।
आमालाई घर किनिदिएको दिन म सबैभन्दा खुसी भएको दिन थियो सायद।
म सम्झिन्छु- बच्चा हुँदा तीन चार पटक ट्रेनिङबाट घर फर्किने बस चढेका बेला आमा मलाई नयाँ ठेगानमा आउन म्यासेज पठाउँथिन्। उनले लेखेकी हुन्थिन्- यो हामी अहिले बसिरहेको ठाउँ हो।
भाडा तिर्न नसकेर हामी २ वर्षसम्म कति धेरै ठाउँमा डेरा सरेका थियौं।
त्यतिबेला म यो विषयमा कहिल्यै सोच्दैनथें। तर अहिले म बुझ्न सक्छु त्यस्तो संघर्ष झेल्न आमालाई कस्तो भयो होला।
यो भन्नुपर्दा दु:ख लागेको तर पनि म यो भन्छु। केही मिडियाको धारणा म हिराचाँदी मन पराउँछु। म अरूलाई सम्पत्ति देखाउन चाहन्छु भन्ने छ। मलाई साँच्चै थाहा छैन यस्ता कुरा कहाँबाट आउँछन्। जतिबेला मैले आमालाई घर किनिदिएँ। केही मानिसहरूले लेखिरहेका कुरा अविश्वनिय थिए। कसैले यसो गर्नु निकै दु:खद् हो भन्ने लाग्छ। तिनीहरू त्यो कुरालाई घृणा गर्छन् जे उनीहरूलाई थाहै छैन।
केही वर्ष पहिला यस्ता कुरा म मनमा लिन्थें। आमालाई पनि भन्थें- उनीहरूले मलाई नै किन यसो भन्छन्?
तर अचेल मेरी आमा, दिदी र बच्चाहरूले केही तनाव नलिएजस्तै म पनि ठिक छु।
यदि मानिसहरू आमाको घरको बाथरूमका बारे लेख्न चाहन्छन् भने मैले तपाईंलाई भन्नैपर्छ-१५ वर्षअघि हामी स्टोनब्रिजमा ट्वाइलेट सफा गरिरहेका हुन्थ्यौं र भेन्डिङ मेसिनबाट बिहानको खाजा खान्थ्यौं। यदि दुनियाँमा कोही मान्छे खुसी हुन लायक छ भने ती मेरी आमा हुन्।
उनी केही नल्याई यहाँ आएकी थिइन्। होटलका ट्वाइलेट सफा गरेर बेडसिट मिलाएर पढिन् र अहिले उनी एउटा नर्सिङ होमकी निर्देशक छन्।
र उनको छोरो इंग्ल्याण्डका लागि खेल्छ।
(म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने २३ वर्षिय रहिम अहिले इग्ल्याण्डबाट विश्वकप खेल्न रसियामा छन्। यो उनको दोस्रो विश्वकप हो। द प्लेअर्स ट्रिब्युनमा उनले लेखेको इट वाज अल अ ड्रिमलेखको यो भावानुवाद हो।)