रौतहटकी १८ वर्षीया गंगामाया तामाङले भदौ ३० गते शनिबार ललितपुरस्थित सामुदायिक रेडियोको कार्यालयमा पत्रकार सम्मेलन गरिन्।
उनले 'लिटिल बुद्ध’ भनेर संसारभर चिनिएका रामबहादुर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाइन्। चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे बोलिन्।
गंगामाया बोलिरहँदा त्यहाँ उपस्थित बमजन पक्षधरले उनको भनाइ प्रतिवाद गर्यो। पूर्व स्वास्थ्य राज्यमन्त्री तथा बमजन निकट रहेर काम गरिरहेका मणि लामाले 'गुरु' बारे गंगामायाले झुटो बोलेको बताए।
'गंगामायाले आश्रममा रहँदा ८ लाख चोरी गरिन्,' लामाले उल्टै आरोप लगाउँदै भने, 'त्यही भएर उनलाई आश्रमबाट निकालिएको हो।'
दुवै पक्षबीच वादविवाद भएपछि त्यहाँ उपस्थित धेरै सञ्चारमाध्यमले उक्त पत्रकार सम्मेलनको समाचार बनाएनन्। त्यसले राष्ट्रिय मिडियामा कुनै चर्चा पाएन।
त्यसै दिन गंगामायाले जावलाखेल प्रहरी परिसरमा उजुरी दिन खोजिन्। परिसरले काठमाडौंको टेकुस्थित महानगरीय अपराध महाशाखा जान सुझायो।
रात परिसकेकाले उनी भोलिपल्ट अपराध महाशाखा पुगिन्। महाशाखा प्रमुख धीरजप्रताप सिंहले नै गंगामायालाई बालबालिका संरक्षण गर्ने एउटा संस्थाको जिम्मा लगाइदिए।
सेतोपाटीले पछिल्ला तीन महिना गंगामायाले लगाएका आरोपको सत्यता, बमजनको चरित्र र उनका आश्रममा हुने क्रियाकलापबारे निरन्तर खोजी गर्यो।
हामीले तीन महिना सर्लाही, रौतहट, मकवानपुर, बारा, सिन्धुली र नुवाकोट पुगेर २५ जनासँग कुरा गरेका छौं।
यी २५ मध्ये बमजनको दुर्व्यवहारबाट बच्न ज्यान जोखिममा राखेर उनको आश्रमबाट भागेका तीन जना आनी र उनीहरूका परिवारका सदस्य छन्।
बमजन आश्रममा लामो समय यौन शोषणमा परेर बाहिर निस्केकी एक आनी छिन्, जसको मानसिक अवस्था धेरै खराब छ। बमजनको दुर्व्यवहार र हिंसाका प्रत्यक्षदर्शी, कुनै समय उनकै चेला र अनुयायी भएर काम गरेका चार जना पनि छन्। त्यस्तै, विभिन्न समय बमजनको आश्रममा गएका र अहिले हराइरहेका तीन जना आनीका करिब एक दर्जन परिवारजन छन्।
हामीले भेटेर कुरा गरेकामा बमजन आश्रमबाट हराइरहेका एक जना अनुयायीका छोरा छन्। यसबीच हामीले गंगामायासँग पनि पटक-पटक गरी करिब छ घन्टा कुरा गरेका छौं।
यी सबै भेटघाट र कुराकानीले तपस्वीको भेषमा बस्ने बमजन र उनको आश्रमबारे कहालीलाग्दो तस्बिर हाम्रासामु आएको छ।
उनी कुनै तपस्वी हैनन्। उनको आश्रममा ध्यान र तपस्या हुन्न। बाहिरबाट जाने मानिसलाई देखाउन मात्र उनी त्यसको नाटक गर्छन्। उनमा कुनै आध्यात्मिक ज्ञान वा चेत छैन। न त उनलाई त्यसमा कुनै चासो छ।
उनी एक सामान्य युवा हुन्। र, असामान्य यौन पिपाशु। गंगामाया मात्र हैन, उनको आश्रममा रहेका कयौं आनीको यौन शोषण गरेका छन्। आफूविरुद्ध उठ्ने आवाज दबाउन उनले हिंसाको व्यापक प्रयोग गरेका छन्।
उनको आश्रममा बसेका कम्तिमा तीन जना आनी बेपत्ता छन्। परिवार र आनीहरूमाथि आश्रममा गरिएको दुर्व्यवहार देख्नेहरूको बयानका आधारमा उनीहरू बेपत्ता हुनु रहस्यमयी देखिन्छ।
बमजनको निर्देशनमा एक जना अनुयायीलाई आश्रमभित्रै कुटेर हत्या गरिएको दुई जना प्रत्यक्षदर्शीले हामीलाई बताएका छन्। चार वर्षअघि बमजनको आश्रममा गएका बुबाको अझै अत्तोपत्तो नभएको उनका छोराले हामीलाई बताए। परिवारका सदस्य अहिले पनि उनलाई पर्खिएर बसेका छन्।
पढ्नुहोस्, यो श्रृंखलाको पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
करिब दुई वर्षअघि १४ जना नाबालिग केटीहरू सांसारिक जीवन त्यागेर आनी बन्न बमजनको आश्रम पुगेका थिए। उनीहरू १२ देखि १८ वर्षका थिए। उनीहरू बमजनलाई भगवान मानेर त्यहाँ पुगेका थिए।
पुगेपछि उनीहरूले थाहा पाए- बमजन भगवान हैनन्।
उनी मानसिक हिसाबले स्वस्थ मानिस पनि हैनन् भन्ने उनीहरूले विस्तारै बुझे। यौन र हिंसाको आवेगले व्याकुल बमजन आफूहरूलाई यौन शिकार बनाउन चाहन्छन् भन्ने बुझ्दै गए।
उनीहरूले बमजनका हर्कत सुरुमा पत्याएका थिएनन्। पुराना आनीले सचेत गराउन खोज्दा पनि बुझेका थिएनन्। जब बमजनकी श्रीमती दिपशिखा डुमजन स्वयंले बाध्य भएर एक साँझ सबै आनीका अगाडि उनको कर्तुतबारे बताइन्, उनीहरूको आकाश खस्यो।
'भगवानको घर' ठानेको आश्रम नरक रहेछ भन्ने उनीहरूले थाहा पाए। त्यसको केही दिनमै जीवनसँग खतरा मोलेर पाँच जना आनी त्यहाँबाट भागे। पछि फेरि पाँच जना निस्किए।
आश्रमबाट भागेका यी दस जनामध्ये तीन जनालाई बमजनले थर्काउँदै, फकाउँदै फिर्ता लगेका छन्। भागेका आनीमध्ये तीन जना र उनीहरूको परिवारसँग भेटेर हामीले कुरा गर्यौं।
पढ्नुहोस् यो श्रृंखलाको दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
बमजन आश्रमको कहालीलाग्दो र कारुणिक कथाबीच एउटी नाबालिग आनीको साहसको कथा हो— गंगामायाको कथा।
गंगा सानै हुँदा उनकी आमा काम गर्न कुनै अरब मुलुक गएकी थिइन्। उतै बितिन्।
बुबाले अर्की विवाह गरे। उनका बुबा सुरुदेखि नै बमजनका अनुयायी थिए। गंगाका दुई भाइलाई उनले बमजनकै आश्रम पुर्याएका थिए। बाजे-बज्यैले गंगालाई पनि आश्रम जान सुझाए। उनीहरूले भने, ‘तिमीलाई यहाँ घरमा पनि राम्रो छैन, आश्रममै गएर बस।’
बाजे, बज्यै र बुबासँगै आश्रम गएका बेला भाइले पनि भने, 'दिदी यतै बस्नू, यहाँ राम्रो हुन्छ।'
त्यसै दिन गंगाले सांसारिक जीवन त्यागेर बाँकी जीवन आश्रममा बस्ने निधो गरिन्। आनी बनेर ‘भगवानको घर' बस्ने भइन्।
केही समयपछि नै ‘भगवान’ ले उनलाई जिस्क्याउन थाले। हात हाल्न थाले।
उनका बुबाले भनेका थिए, 'गुरुले कहिलेकाहीँ परीक्षा लिनुहुन्छ।'
गंगाले ठानिन्, गुरुले परीक्षा लिएका होलान्। विस्तारै गुरुले झुक्याएर अंगालोमा अँठ्याउन थाले।
गुरुको नियतबारे गंगालाई अब शंका रहेन।
एक साँझ बमजनकी श्रीमती दिपशिखा आश्रममा थिइनन्। काठमाडौं गएकी थिइन्। बमजनले गंगालाई भान्छा कोठाबाट बाहिर बोलाए। हात समातेर ताने।
उनी कराउन खोजिन्। बमजनले गंगाको मुख थुनिदिए। तान्दै भित्र लगेर बलात्कार गरे।
आफू बलात्कृत भैसकेपछि गंगाको ध्यान आफूभन्दा कलिला आनीहरूलाई जोगाउनमा केन्द्रित भयो। उनले कहिले बमजनको प्रतिवाद गरिन्, कहिले उनलाई फकाइन् त कहिले लडिन्।
बमजन यौन आकांक्षाले उन्मत्त थिए। उनको आश्रममा बसेका एक चेलाले हामीसँग भने, ‘यौनशक्ति बढाउन गुरूले यार्चागुम्बा घोलेर खान्छ। मैले नै कतिपटक घोल बनाएर दिएको छु।’
अर्काले भने, ‘गुरूको मोबाइल फोन अश्लील भिडियोले भरिएको छ। मलाई फोन रिचार्ज गर्न दिँदा मैलै नै त्यस्तो भिडियो हेरेको छु।'
सायद गंगाले नरोकेकी भए ती कलिला आनीहरू ढिलोचाँडो बमजनको यौन आकांक्षाको शिकार हुने थिए।
पढ्नुहोस् यो श्रृंखलाको तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
बमजनकी श्रीमती दिपशिखाको भूमिका विवादास्पद र द्वैध चरित्रको देखिन्छ। उनी दार्जिलिङकी हुन्। उनकी फुपू धेरैअघि बमजनको दर्शन गर्न बाराको हलखोरिया आएकी थिइन्। धेरैपटक आउजाउ गर्दा उनी बमजनसँग नजिक भइन्। आश्रममा बस्न थालिन्। उनैले दिपशिखालाई दार्जिलिङबाट ल्याएर बमजनको सहयोगीका रूपमा स्थापित गरेकी हुन्।
त्यो बेला बमजनको सम्बन्ध सर्लाहीको बाग्मती नगरपालिका-१२ की रिता वोटसँग थियो। उनी आश्रममा रितासँगै बस्न थालेका थिए। केही समयमै रिता रहस्यमय ढंगले बेपत्ता भइन्। त्यसपछि दिपशिखा बमजनकी आधिकारिक श्रीमती बनिन्। अहिले उनीहरूको एउटा छोरा छ।
दिपशिखाले कयौंपटक आनीहरूलाई आफ्नो श्रीमानबाट बचाउन खोजेको देखिन्छ। तर, कयौंपटक उनले आनीहरूलाई आफ्ना श्रीमानसँग सुतेको आरोप पनि लगाएकी छन्। आनीहरूमाथि शारीरिक हमला गरेकी छन्। उनीहरूको श्रम शोषण गरेकी छन्। आनीहरूलाई भात पकाउन, भाँडा माझ्न, लुगा धुन, शरीरमा तेल दल्न र मालिस गर्नदेखि आफू बिरामी परेका बेला आची सोहोर्नसमेत लगाएकी छन्।
बमजनसँग पनि उनको राम्रो सम्बन्ध छैन। आनीहरू भन्छन्, 'दुवैबीच दिनदिनै झगडा हुन्छ। हातपात हुन्छ।'
बमजनको अपराधको फेहरिस्त सायद सबैभन्दा धेरै दिपशिखालाई नै थाहा छ। सायद कतिमा उनी आफैं अंशियार छिन्।
युवा तपस्वीका रूपमा करिब १३ वर्षअघि बाराको रतनपुरी जंगलमा देखा परेका बमजनको कथा आफैंमा कम तिलस्मी र कम विस्मयले भरिएको छैन। उनी कसरी एक सनकी युवाबाट 'लिटिल बुद्ध’ बने? उनलाई कसले 'लिटिल बुद्ध' बनायो? कसरी उनी तपस्वीबाट यौन पिपाशु बने? कसरी यति धेरैको यौन शोषण गरे, कयौंमाथि हिंसा मच्चाए र सम्भवत: कयौंको ज्यान लिए? र, यी सबै खबरबाट राज्य कसरी बेखबर रह्यो? यी सबै अपराध छोपेर उनलाई कसले हजारौं समर्थकबीच 'मैत्रेय बुद्ध’ का रूपमा प्रचार गरिरहेको छ? बमजनसँग आज कति पैसा छ? कति चल-अचल सम्पत्ति छ? कसैलाई थाहा छैन।
सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकका तीन आश्रमको जग्गा जोड्दा उनीसँग सयौं बिघा जग्गा रहेको उनका अनुयायीहरूको अनुमान छ। उनीसँग स्वदेश र विदेशबाट आएको दानको यति धेरै पैसा छ, एउटा आश्रमबाट अर्कोमा जाँदा उनी अक्सर हेलिकप्टर प्रयोग गर्छन्। उनको निजी प्रयोगका लागि टोयटाको ल्यान्डक्रुजर गाडी छ।
डेढ वर्षअघि ललितपुरको चुनीखेलमा पूजा लगाउँदा बमजन गाडीको लावालस्कर लगाएर आए। त्यो पूजामा उनका स्वदेशी अनुयायीका साथै झन्डै तीन दर्जन विदेशी अनुयायी पनि आएका थिए।
उनीसँग कति हातहतियार छन्, कसैलाई थाहा छैन। धेरै पहिले बमजनको आश्रम छाडेका उनका चेलाहरू भन्छन्- त्यही बेलै उनीसँग केही थान पेस्तोल र एउटा राइफल थिए। थुप्रै तरबार थिए। उनले काठमाडौंमा बनाउन लगाएर आश्रममा तरबार जम्मा गर्ने गरेका छन्। यसरी उनी नाबालिग आनीहरूका लागि मात्र हैन, राज्यका लागि पनि सुरक्षा चुनौती बन्दैछन्।
पढ्नुहोस् श्रृंखलाको चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?