दुर्गा प्रसाईंले माग गरेअनुसार २० लाख रूपैयाँभन्दा कम सबै ऋण माफ गर्ने हो भने १५ खर्बभन्दा बढी पैसा लाग्छ। बैंकहरूले लगानी गरेको यो सबै पैसा सर्वसाधारण बचतकर्ताको हो। उनीहरूको पैसा नै बैंक, सहकारी र लघुवित्तले लगानी गरेका हुन्। ऋणीले १५ खर्ब नतिर्ने हो भने बैंकहरूले बचतकर्तालाई पैसा कसरी दिन्छन्? प्रसाईं स्वयंको ऋण पाँच अर्ब रूपैयाँभन्दा बढी छ। बैंकले ताकेता नगरून् र भोलि आफ्नो सम्पत्ति लिलाम गर्ने आँट नगरून् भनेर प्रसाईं सडकमा उत्रिएका हुन्। यति अराजक र अनैतिक माग राखेर प्रसाईंले गरेको आन्दोलनमा राजावादीहरूले च्याँखे थापेका छन्। पूर्वराजा स्वयं लामो समयदेखि व्यवसायी हुन् र उनलाई थाहा छ— बैंक ऋण तिर्दिनँ भन्ने आन्दोलनको नैतिक तागत हुँदैन। तर पनि राजावादीहरूलाई प्रसाईंको आन्दोलनमा किन भरोसा छ?