उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ।
मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वसन्त बस्नेतले १० हजार ७१४ मत पाएका छन्। उनले नेकपा एमालेका भागवत राउतलाई १९३७ मतान्तरले पछि पारेका छन्।
राउतले ८७७७ मत पाउँदा निवर्तमान मेयर नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ७४१० मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यसैगरी उपमेयरमा भने एमालेले अग्रता लिएको छ। एमालेकी उपमेयर उम्मेदवार महेश्वरी राईले ९६६६ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई नेपाली कांग्रेसकी सरिता राईले ९५०० मतसहित पछ्याइरहेकी छन्।
सुरूदेखि नै अगाडि रहेकी सरितालाई महेश्वरीले आइतबार बिहान उछिनेकी हुन्।
तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीलेले ५ हजार ६ सय ४३ मत प्राप्त गरेकी छन्।
१६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म १, २,३,४,५,६,७,८,१४,१५ र १६ नम्बर वडाको मतगणना सकिएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए।
नगरमा कुल ६० हजार ४६ मतदाता मध्ये ४० हजार १७९ मत खसेको थियो।
त्रियुगा नगरपालिका उदयपुर जिल्लाको सदरमुकाम भएको र मतदानपछि विवाद भएकोले ढिलो गरि मतगणना सुरु भएको हो।