निर्वाचन पोस्टमर्टम शृंखला-७
वैशाख ३० गते चुनाव भएका देशभरिका ७५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। अब उदयपुरको त्रियुगा र बाजुराको बुढीगंगा नगरपालिकाको मतपरिणाम आउन बाँकी छ।
यसपालिको चुनावी परिणामलाई हेर्ने हो भने ८१ प्रतिशत पालिकामा प्रमुख र अध्यक्ष नयाँ मान्छेले जितेका छन्। पाँच वर्षअघि मेयर र अध्यक्ष चुनिएकामध्ये १९ प्रतिशतलाई मात्रै जनताले दोस्रो कार्यकालका लागि चुनेका छन्।
यसपालिको चुनावमा झन्डै ४५ प्रतिशत पालिकामा मेयर र अध्यक्षमा पहिलाका जनप्रतिनिधि दोहोरिन खोजेका थिए। ७५३ मध्ये ३४१ पालिकामा पहिलाकै मेयर र अध्यक्षले उम्मेदवारी दिएका थिए।
जनताले भने ५८ प्रतिशत उम्मेदवारलाई अस्वीकृत गरिदिएका छन्। अहिले १४२ पालिकामा मात्रै पुराना मेयर र अध्यक्ष दोहोरिएर विजयी भएका छन्।
स्थानीय सरकार नागरिकको घर-आँगनको सरकार हो। स्थानीय जनप्रतिनिधिका काम मतदाताले नजिकबाट सुक्ष्म ढंगले नियालिरहेका हुन्छन्। दोहोरिएर चुनाव लडेकामध्ये ठूलो संख्यामा उम्मेदवार पराजित हुनुबाट अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिको कामसँग जनता सन्तुष्ट नभएको देखिन्छ।
यसपालि दोहोरिएर चुनाव जित्नेमा नेपाली कांग्रेसका उम्मेदवार सबैभन्दा धेरै छन्। कांग्रेसले १२७ जनालाई मेयर र अध्यक्षमा दोहोर्याएर टिकट दिएको थियो। तीमध्ये ६२ जना फेरि निर्वाचित भएर आएका छन्। ६५ जना पराजित भएका छन्।

नेकपा एमालेले दोहोर्याएर चुनावमा उठाएका ११३ जनामध्ये ४६ जना विजयी भए। एमालेले दोहोर्याउन चाहेका झन्डै ६० प्रतिशत उम्मेदवारले पराजय भोग्नु परेको छ।

यसपालि दोहोरिएर पालिका प्रमुख जित्नेमध्ये एमालेबाट १ जना मात्र महिला छन्। अघिल्लो पटक माओवादी केन्द्रबाट चुनाव जितेकी रीनाकुमारी साहले यसपालि एमालेबाट रौतहटको मौलापुर नगरपालिकाबाट मेयर जितेर दोहोरिएकी छन्।
यसअघि फरक पार्टीमा रहेर पालिका प्रमुख जितेका साहसँगै तीन जनाले यसपालि नेकपा एमालेबाट चुनाव जितेका छन्।
दोहोरिएर चुनाव जित्नेमा सबैभन्दा ठूलो हिस्सा माओवादी केन्द्रमा छ।
यसपालिको चुनावमा ४१ जना उम्मेदवारलाई दोहोर्याएर टिकट दिएको माओवादी केन्द्रका २१ जना विजयी भए। अर्थात् माओवादीले दोहोर्याउन चाहेका आधाभन्दा बढी उम्मेदवारलाई जनताले फेरि विश्वास गरेका छन्।

पहिला संघीय समाजवादीबाट चुनाव जितेका २१ जनाले यसपालि समाजवादी पार्टीबाट उम्मेदवारी दिएका थिए। तीमध्ये दुई जनाले जिते भने १९ जना पराजित भए। यसरी पराजित हुनेमा जनकपुरधाम उपमहानगरमा मेयर उम्मेदवार बनेका लालकिशोर साह पनि पर्छन्।
पहिला एमालेबाट जितेर एकीकृत समाजावादीमा गएका १८ जनाले यसपालि मेयर र अध्यक्षमा दोहोरिन उम्मेदवारी दिएका थिए। तीमध्ये ५ जनाले जित हात पारेका छन् भने ११ जना पराजित भएका छन्।
एमालेबाट त्रियुगा नगरपालिकाको मेयर जितेका बलदेव चौधरीले यसपालि एकीकृत समाजवादीबाट फेरि मेयरमा उम्मेदवारी दिएका छन्। त्यहाँको मतगणना जारी छ।

तत्कालीन राष्ट्रिय जनता पार्टी र अहिलेको लोकतान्त्रिक समाजवादी पार्टीले १६ जनालाई फेरि मेयर र अध्यक्षमा उठाएको थियो। तीमध्ये तीन जना मात्रै निर्वाचित भए।

राप्रपाले उठाएका तीन जनामध्ये १ जना अध्यक्षमा दोहोरिए भने राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले दोहोर्याएका १-१ जनाले नै यसपालि पनि चुनाव जितेका छन्।

यसपालि दोहोरिएर चुनाव जित्ने १४२ मध्ये ५३ जना मेयरमा दोहोरिएका छन्। ८९ जनाले गाउँपालिका अध्यक्ष जितेका छन्।
यी पनि पढ्नुस्: