निर्वाचन पोस्टमर्टम शृंखला- ६
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यसपालिको स्थानीय चुनावमा मधेशमै खुम्चिएको छ।
लोसपाले यसपालि १४ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ। जबकि ०७४ मा तत्कालीन राजपा (अहिलेको लोसपा) ले २५ पालिका प्रमुख/अध्यक्ष जितेको थियो।
लोसपाले मधेशको राजधानी रहेको धनुषामा एक पालिका पनि जित्न सकेन। ०७४ मा यहाँ उपमहानगरपालिकाको मेयर र उपमेयर नै राजपाले जितेको थियो।
लोसपाले १४ पालिका रहेको पर्सामा जम्मा एक पालिका जितेको छ। बिन्दवासिनी गाउँपालिका अध्यक्षमा प्रमोद तिवारी ४१४१ मतसहित निर्वाचित भएका हुन्।
लोसपाले १६ पालिका रहेको बाराका दुई पालिका जितेको छ।
विश्रामपुर गाउँपालिका अध्यक्षमा जुल्फकार अलि भुटो ४३१७ मतसहित जिते भने सिम्रौनगढ नगरपालिकाको मेयरमा किसोरीप्रसाद कलवार १११३७ मतसहित विजयी भएका हुन्।
लोसपाले १५ पालिका रहेको महोत्तरीमा पाँच पालिका जितेको छ।
भँगाहा नगरपालिकाको मेयरमा संजीवकुमार साह ५६१७ मतसहित निर्वाचित भए। मटिहानी नगरपालिकाको मेयरमा हरिप्रसाद मण्डल ४००३ मत ल्याउँदै विजयी भएका छन्।
यस्तै औरही नगरपालिकाको मेयरमा प्रदीपकुमार खडका ६०६७ मतसहित विजयी हुँदा बलवा नगरपालिकाको मेयरमा रामविजय महतो ५७८३ मतसहित निर्वाचित भएका हुन्।
लोसपाले महोत्तरीकै सोनमा गाउँपालिका पनि जितेको छ। विशेश्वरप्रसाद यादव ४१०८ मतसहित गाउँपालिका अध्यक्ष बनेका हुन्।
लोसपाले रौतहटका १८ पालिकामध्ये दुई र सप्तरीका १८ पालिकामध्ये चार पालिका जितेको छ।
रौतहटको ईशनाथ नगरपालिकाका मेयर कौशल्या देवी ६२८२ मतसहित निर्वाचित हुँदा यमुनामाई गाउँपालिका अध्यक्षमा महमद सउद २९२९ मत ल्याउँदै विजयी भए।
यस्तै सप्तरी रुपनी गाउँपालिकाको अध्यक्षमा दिनेशकुमार यादव ४२६९ मतसहित निर्वाचित भएका छन्। छिन्नमस्ता गाउँपालिका अध्यक्षमा विद्दानन्द चौधरी २८९५ मतसहित विजयी भएका छन्।
निर्वाचन आयोगका अनुसार महादेवा गाउँपालिका अध्यक्षमा सुनिलकुमार मण्डल ४५७० मत ल्याउँदै निर्वाचित भएका छन् भने गोडैटा नगरपालिकाको मेयरमा देवेन्द्रकुमार यादव ५२९४ मतसहित विजयी भएका छन्।
पाँच वर्षअघिभन्दा यसपालि लोसपाले कम पालिका जित्नुमा पार्टी फुटको असर देखिएको छ। तत्कालीन राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबीच एकता भई जसपा बनेको थियो। तर जसपा फुटेर ठाकुरको नेतृत्वमा लोसपा गठन भएको थियो।
स्थानीय चुनावको मुखमा लोसपा पनि फुटेको थियो। लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृशेषचन्द्रलाल, विजयकुमार सिंह लगायतले तमलोपा ब्युँताएका थिए।
उनीहरूले गत फागुन १० मा लोसपा फुटाएर तमलोपा बनाएका थिए। पार्टी गठन भएको करिब दुई महिनामा तमलोपाले महोत्तरीको महोत्तरी गाउँपालिका अध्यक्ष जितेको हो। यहाँ दिलिपकुमार पाण्डेयले २३३६ मतसहित अध्यक्ष जितेका हुन्।