काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार भई पराजित भएकी नेपाली कांग्रेसकी नेता सिर्जना सिंहले मेयर, उपमेयर र वडाध्यक्षलगायत निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिएकी छन्।
मेयर, उपमेयरलगायत निर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको शुभकामनासमेत उनले दिएकी छन्।
बिहीबार बेलुकी निर्वाचन अधिकृत कार्यालयले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल निर्वाचित भएको औपचारिक घोषणा गरेलगत्तै सिंहले बधाई दिएकी हुन्।
स्वतन्त्र उम्मेदवार शाह ६१ हजार सात सय ६७ मतसहित मेयर निर्वाचित भएका हुन्। कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत मात्रै ल्याएकी थिइन् भने एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार एक सय १७ मत ल्याएका थिए।
‘काठमाडौ महानगर प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछुl साथै उपप्रमुख, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबै आदरणीय व्यक्तित्वमा बधाई ज्ञापन गर्दै महानगरवासिको भावना बमोजिम कार्य गर्न पूर्ण कार्यकाल भरी मेरो रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु,’ उनले भनेकी छन्।
साथै सिंहले निर्वाचनमा खटिएका र मतदान गर्ने सबैलाई धन्यवाद दिएकी छन्।
आफू मेयर निर्वाचित नभए पनि महानगरबासीका मन जित्न सकेको सिंहको भनाइ छ।
‘विजयी हुने गरी मत ल्याउन सकिनँ तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकेंl लोकतान्त्रिक अभ्यासको यो परिणामलाई म हार्दिकतापूर्वक स्वीकार र आत्मसात गर्दछु,’ उनले भनिन्l
उनले काठमाडौं महानगरवासी र सिंगो देशको सेवामा आफू उत्साहपूर्वक लागिरहने संकल्प पनि व्यक्त गरेकी छन्।