रूपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ५ सय मत गणना बाँकी रहँदा नगर प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाणको विजय सुनिश्चित भएको छ। गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका खाण आफ्ना निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवार मोहन चापागाईंभन्दा ७४० मतले अगाडि छन्।
बाँकी मत गनिसक्दा पनि खाणको मत चापागाईंको भन्दा धेरै हुने भएपछि उनको जीत सुनिश्चित भएको हो। खाण नेपाली कांग्रेस रूपन्देहीका सभापति हुन्।
उपमेयरमा भने एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरीको विजय सुनिश्चित भएको छ। एमाले रूपन्देहीकी उपाध्यक्ष चौधरी आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा दोब्बरभन्दा धेरै मतले अगाडि छिन्। चौधरी यसअघि पनि उपमेयर थिइन्।
चौधरीले अहिलेसम्म २२ हजार २ हजार ४४ मत पाएकी छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उपमेयर उम्मेदवार हेमन्त पाण्डेले ११ हजार १३३ मत पाएका छन्।
अब तिलोत्तमाको करिब ५ सय मत गणना गर्न बाँकी छ।
२०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरे तिलोत्तमाका मेयर निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा पनि रामकृष्ण खाण नगर प्रमुखका उम्मेदवार थिए। तर उनी घिमिरेसँग पराजित भएका थिए।
घिमिरेले नगरपालिकामा उत्कृष्ट काम गरेको भन्दै देशभर प्रशंसा भएको थियो। सोही कारण तिलोत्तमा दुई वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्ट पनि घोषणा भएको थियो।
तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाण र एमाले नेता घनश्याम भुसालको गृहनगर हो। नगरप्रमुखमा निर्वाचित रामकृष्ण खाण गृहमन्त्री खाणका सहोदर भाइ हुन्।
१७ वडा रहेको तिलोत्तमामा अहिलेसम्म १६ वटा वडाको मतगणना सम्पन्न हुँदा एमालेले ८ र नेपाली कांग्रेसले ८ वटा वडा जितेको छ। कुल मतदाता ८५ हजार सात सय ४७ रहेकामा निर्वाचनमा ६३ हजार ५८८ मत खसेको थियो।