काठमाडौं महानगरपालिकाका ३२ वटै वडाको मतगणना सकिएको छ। निर्वाचन आयोगको आधिकारिक वेबसाइटका अनुसार बिहीबार ३२ वटै वडाको मतगणना सकिएर वडाध्यक्षहरू निर्वाचित भइसकेका छन्।
सबै वडाको मतगणना सकिए पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंका मेयरको आधिकारिक घोषणा गरिसकेको छैन।
मतगणना सकिँदासम्म मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले सबभन्दा धेरै मत ल्याएका छन्। त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलको मत सबभन्दा धेरै छ।
आयोगको वेबसाइटमा प्रविष्ट भएको पछिल्लो विवरणअनुसार बालेनले ६१ हजार ७६७ मत ल्याएका छन्।
त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना श्रेक्ष्ठले ३८ हजार ३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन्।
आँखीझ्याल चुनाव चिह्नमा लडेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत पाएका छन्।
उपमेयरमा एमालेकी सुनिता डंगोलले ६८ हजार ६१२ मत पाएकी छन् भने गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएका छन्।
यी पनि पढ्नुहोस्ः
काठमाडौंले पर्खिरहेको मेयर बालेन शाह
सेतोपाटी प्रक्षेपण: बालेन शाह चुनिने छन् काठमाडौंका मेयर