गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको वडा तिलोत्तमा-८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ।
गठबन्धनको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका केशवराज अर्याललाई हराउँदै एमालेका कृष्ण पौडेल निर्वाचित भएका हुन्।
पौडेलले १८९ मतको अन्तरले अर्याललाई पराजित गरेका हुन्।
वडामा खसेको ३ हजार ४ सय ६८ मतमध्ये एमालेका पौडेलले १ हजार ६१५ मत पाए। अर्यालले १ हजार ४२६ मत पाए।
वडा नम्बर ८ गठबन्धनबाट मेयरका उम्मेदवार बनेका रामकृष्ण खाण र नगरसभापति हरिलाल पाण्डेको पनि वडा हो। रामकृष्ण गृहमन्त्री खाणका सहोदर भाइ हुन्।
१७ वटा वडा रहेको तिलोत्तमा नगरपालिकामा अब वडा नम्बर ७ र ९ को अन्तिम मतपरिणाम आउन बाँकी छ।
निर्वाचन कार्यालयका अनुसार आज रातिसम्म नगरपालिकाको सम्पूर्ण मतपरिणाम आउने छ।