प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ८ जनामध्ये ६ जना पराजित भएका छन्।
प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएका २ मध्ये एक जना पराजित भए भने एक जनाले जित हात पारे।
प्रदेश सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भए।
उनी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदय नगरपालिकाकै पूर्व प्रमुख रणबहादुर राईसँग १८५२ मतान्तरमा पराजित भए। राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन्।
यता प्रदेश सभाबाट राजीनामा दिएका गोपालचन्द्र बुढाथोकी भने मेयरमा निर्वाचित भए।
झापाको मेचीनगर नगरपालिकाका उम्मेदवारी दिएका बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३ सय ११ मत मात्र प्राप्त गरेका थिए।
यस्तै मधेश प्रदेशबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका दुबै जना पराजित भए।
प्रदेश सांसदबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा र शेख अबुलकलाम आजाद दुबै जना मेयर पदमा परजित भए।
सर्लाहीको गोडैताको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरमा पराजित भए।
लोसपाका यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाए। कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा पराजित भएका थिए। मेयर हारेका उनले २०७४ कै मंसिरमा भएको प्रदेश सभामा टिकट पाएर चुनाव जितेका थिए।
मधेश प्रदेशकै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद पनि पराजित भएका छन्।
गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा) बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले हराए। यादवले ८६३१ मत ल्याउँदा आजादले ८०७३ मत मात्र पाए।
यस्तै बागमती प्रदेश सभाबाट राजीनामा दिएर दुई महानगरको मेयरमा उम्मेदवारी दिएका दुई जनामध्ये १ जना पराजित भइसके भने अर्का एक पराजउन्मुख छन्।
प्रदेश सांसदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी पराजित भए।
उनी सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग पारजित भए। मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८२ मत मात्रै पाए।
यस्तै प्रदेशसभाबाटै राजीनामा दिएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पनि पराजयउन्मुख छन्।
काठमाडौंमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले सुरूदेखि नै अग्रता लिएपछि उनी पछि परे। बिचमा नेपाली कांग्रेसकी उम्मेदवारसँग पनि पछि परेका छन्। यद्यपि मतगणनाको अन्तिम परिणाम आइसकेको छैन। तर काठमाडौंमा बालेन शाहको जित पक्का पक्की भईसकेको छ।
गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग पराजित भए।
मेयरमा निर्वाचित आचार्यले ५८ हजार ८९३ मत पाउँदा थापाले ५२ हजार ८ सय ४८ मत मात्र पाए।
यता लुम्बिनी प्रदेशसभाबाट राजीनामा दिएका दिपेश थारूले भने बर्दियाको राजापुर नगरपालिकाको मेयर जितेका छन्।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित थारूले ९ हजार ८०७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसक दीपकजंग शाहले ९ हजार ७ सय ६० मत पाए।