पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बदनियतका कारण स्थानीय तह निर्वाचनमा ठूलो संख्यामा मत बदर भएको बताएका छन्।
नेकपा (एकीकृत समाजवादी) बाट मेयर निर्वाचित आचार्यले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेकै कारण ५० प्रतिशतभन्दा बढी मत बदर हुन गएको भन्दै चर्को आलोचना गरेका हुन्।
पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित उनले भने, ‘दिनेशकुमार थपलियाको यही खालको रवैया, यही खालको गतिविधि र भाइबन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन। थपलियाले आफैंले आफैंलाई नैतिक अधिकार के हो? भनी सोध्न जरूरी छ। तपाईं संवैधानिक निकायको मर्यादामा बसिदिनोस्। निर्वाचन आयोग यति धेरै बदनियत हुनुपर्ने थिएन। तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ। तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ। तपाईंले जवाफ दिनु जरूरी छ । यो खालको बद्नियत गर्न मिल्दैन।’
उनले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार बढी मतका साथ विजयी हुने दाबी समेत गरे।
उनले अबदेखि महानगरमा भाषणभन्दा पनि समृद्ध पोखरा बनाउने गरी काम सुरू गर्ने प्रतिबद्धता व्यक्त गरे।
अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने योजना पनि मेयर आचार्यले सार्वजनिक गरे।