दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले मेयर/उपमेयरसहित दश वटा वडाध्यक्ष पनि जितेको छ।
यहाँ नेपाली कांग्रेसले पाँच वडाध्यक्ष जित्यो। त्यस्तै, नेकपा माओवादी केन्द्रले तीन वडाध्यक्ष जितेको छ। तुलसीपुर १६ मा भने स्वतन्त्र उम्मेदवार विजयी भए।
यसपटक गठबन्धनबाट माओवादी केन्द्रले फाइदा लियो।
२०७४ सालको निर्वाचनमा माओवादीले तुलसीपुरमा एउटा वडा पनि जितेको थिएन। तर गठबन्धनकै कारण यसपालि माओवादीले लाभ लिएको छ। २०७४ सालमा दश वडा जितेको कांग्रेसले यसपालि पाँच वडामा चित्त बुझाउन पर्यो।
नेकपा एमालेले तुलसीपुर उपमहानगरका १९ वडाहरूमध्ये यसपटक कांग्रेसबाट चार वटा वडा खोसेको छ।
२०७४ सालमा नेपाली कांग्रेसले जितेका वडा नं. २, १०, ११ र १३ नम्बर वडाहरूमा यसपटक एमालेले जित हासिल गरेको छ।
निर्वाचन कार्यालय तुलसीपुरका अनुसार उपमहानगरपालिकाका वडा नं.२, ३, ६, ८,१०, ११, १३, १५, १८, १९ मा एमालेले विजयी भएको छ।
नेपाली कांग्रेसले ५, ७, ९, १४ र १७ नम्बर वडा जितेको छ।
त्यस्तै, गठबन्धनको तर्फबाट १, ४, १२, नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेको छ।
तुलसीपुर – १६ नम्बर वडामा भने स्वतन्त्रले जितेका छन्। तुलसीपुरमा कूल ७४ हजार ३ सय ३७ मत खसेको थियो।
घोराही उपमहानगरमा पनि सत्ता गठबन्धनलाई हराएर जित हात पारेको थियो। घोराहीमा एमालेले ११ वडामा जित हासिल गरेको थियो।
यी दुवै उपमहानगरको मेयर/उपमेयर २०७४ को चुनावमा पनि एमाले जितेको थियो।