जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा निर्वाचित मनोज साहले नेपाली कांग्रेसका नेताहरूको सहभागितामा आभार एवं धन्यवाद र्याली निकालेका छन्।
टिकट नपाएपछि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका साहले बुधबार जनकपुरधाममा कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, नवनिर्वाचित उपमेयर किशोरी साह, धनुषा सभापति योगेन्द्र पजियार लगायतका कांग्रेसका नेताहरूको सहभागितामा र्याली निकालेका हुन्।
‘घण्टाघर’ चिन्ह लिएर चुनाव लडेका उनको र्यालीमा कांग्रेसका नेता कार्यकर्तासँगै पार्टीको झण्डा लिएर जयजयकार गरेका थिए।
मिल्स एरियामा मतदातालाई सम्बोधन गर्दै उनले मत दिने सम्पूर्णमा धन्यवाद तथा आभार व्यक्त गरे। मेयर साहले ‘नेपाली कांग्रेस जिन्दावाद’ नारा समेत लगाए।
सत्तारूढ गठबन्धनको भागबण्डामा जनकपुरधाम उपमहानगर जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नगर सभापति समेत रहेका साहले पार्टी परित्याग गरी मेयरमा उठेका थिए। यद्यपी उपमहानगरको २५ वटै वडामा उनले कांग्रेसकै उम्मेदवारलाई मत हाल्न अपिल गरेका थिए।
निर्वाचनमा समेत उनले आफूलाई सच्चा कांग्रेसी भन्दै उनले मत मागेमा थिए।
कम्युनिष्टसँगको गठबन्धनका कारण पार्टीले बाटो बिराएको भन्दै नेतृत्वलाई सच्चिन र पार्टी जोगाउन उम्मेदवारी दिएको उनले बताउँदै आएका छन्।
साहलाई जिताउन आन्तरिक रूपमा कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र उनका समूहका नेताहरूले पहल गरेका थिए।