तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमोलका मेयर र उपमेयरका उम्मेदवारको जित सुनिश्चित भएको छ।
दुई वडाहरुको मतगणना जारी रहे पनि अहिलेसम्म प्राप्त भएका मतका आधारमा मेयरमा टीकाराम खड्का र उपमेयरमा श्यानी चौधरीको जित सुनिश्चित भएको हो।
अहिलेसम्म ७११६६ मत गणना भइसक्दा मेयरमा खड्काले ३००३५ र उपमेयरमा चौधरीले २९३४३ मत प्राप्त गरेका छन्।
यहाँ मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६६६९ र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २०१४४ मत प्राप्त गरेका छन्।
मेयरका उम्मेदवारमध्ये एमालेका खड्का ३३६६ मतले अगाडि र उपमेयरमा चौधरी ९२०१ मतले अगाडि छिन्।
तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको थियो। अब तीन हजार एक सय ७० मत मात्रै गणना हुन बाँकी छ।
तुलसीपुरमा एमालेले हालसम्म २, ३, ६, ८, १०, ११, १३, १५ र १८ नम्बर गरी ९ वडा जितेको छ। यो पटक एमालेले कांग्रेसबाट २, ८, १०, ११ र १३ गरी पाँच वडाहरु खोसेको हो।
त्यस्तै कांग्रेसले वडा नम्बर ५, ७, ९ र १४ नम्बर गरी चार वडामा जितेको छ। माओवादीले वडा नम्बर १, ४ र १२ जितेको छ भने वडा नम्बर १६ मा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
जारी मत गणना अन्तरगत वडा नम्बर १७ मा कांग्रेस झिनो मतान्तरले अगाडि छ। त्यस्तै वडा नम्बर १९ मा एमाले अगाडि छ।