भुगोलमा नेपालकै ठूलो पोखरा महानगरको मेयरमा नेकपा एकिकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्य निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै धनराज मेयरमा निर्वाचित भएको घोषणा गरेको हो।
वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखरा महानगरमा २ लाख ७ हजार मतदता रहेकोमा १ लाख ४३ हजार २२६ मत खसेको थियो । जसमा धनराजले ५८ हजार ८९३ मत पाएर पोखराको १५ औं मेयर निर्वाचित भएका हुन् ।
उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका थिए। कृष्णले भन्दा मेयर निर्वाचित धनराजले ६ हजार ४५ मत बढी पाएका थिए।
धनराजलाई सत्तारूढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजावदी, जनता समाजवादी र जनमोर्चाको समर्थन रहेको थियो।
सत्ता गठबन्धनबाट मेयर जिते पनि उपमेयरमा भने लोकप्रिय मतका साथ एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी भएकी छिन्।
पोखराका निवर्तमान उपमेयर रहेकी मञ्जुले सबैभन्दा धेरै ६० हजार ५४६ मत पाएर विजयी भएकी हुन्। उनका प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् । कोपिलाले भन्दा मञ्जुले ३ हजार ८८३ बढी पाएकी थिइन्।
२०७४ को निर्वाचनमा मेयर, उपमेयरसहित २२ वटा वडाअध्यक्ष एमालेले जितेको थियो। ३३ वटा वडा रहेको पोखरा महानगरमा यसपटक एमालेबाटै फुटेर बनेको नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य धनराजले मेयर जितेका हुन्। पोखराका अधिकांश वडाका अध्यक्ष पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले जित्न सफल भएको छ।
पोखराको चित्र बनाउन नवनिर्वाचित मेयरको आह्वान
पोखराका नवनिर्वाचित मेयर धनराजले पोखरा भन्ने व्यत्तिकै संझने चित्र कोर्न प्रतियोगिता आवह्वान गर्ने भएका छन्। मेयर निर्वाचित भएको घोषणा पश्चात आचार्यले पोखरा के हो भनेर सम्झने चित्र बनाउन प्रस्ताव आह्वान गर्ने बताए।
‘पोखरा भनेपछि फेवाताल, माछापुच्छ्रे, सम्पदा भन्न सकिन्छ होला,’ उनले भने, ‘पोखरा के हो एउटा चित्र बनाउन प्रस्ताव आह्वान गर्छु, उहाँहरुका सिर्जना पार्क, कार्यालय लगायतका ठाउँमा सजाउँछौ।’
प्रतियोगितामा पहिलो हुनेलाई २ लाख, दोस्रो र तेस्रोलाई पनि नगदसहित पुरस्कार दिने बताए। उनले पोखरा महानगरमा जन्मिएका बच्चाका जन्मदर्ता निःशुल्क गर्ने घोषणा पनि गरेका छन्।
पोखरा संसारकै पर्यटकका गन्तव्य शहर भएको भन्दै उनले पर्यटनको राजधानी घोषणा गर्न औपचारिक निर्णय गरेर अघि बढ्ने बताए। पोखरालाई बगैचाको शहर बनाउने भन्दै शुरुवातमा जिरोकिलोमिटरदेखि लेकसाइडको हलनचोकसम्म फूलरोपण थाल्ने बताए ।
पोखराका ट्राफिक व्यवस्थापन गर्ने भन्दै उनले पार्किङका समस्या पनि समाधान गने बताए ।
यो पनि हेर्नुहोस्