जनकपुरधाम उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी वडा कार्यालयहरूलाई दिने निर्णय भएको छ।
पदभार ग्रहण गर्दै नवनिर्वाचित मेयर मनोज साहले उपमहानगरपालिकाको अधिकार विकेन्द्रीकरण गर्दै उक्त निर्णय गरेका हुन्।
फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाका सबै वडा कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्याले जानकारी दिए।
उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाउन सबै शाखाको काम सम्बन्धित कर्मचारीबाटै गराउने निर्णय पनि मेयर साहले गरेका छन्।
कर्मचारी अभाव हुँदा यसअघि एउटा शाखामा आवद्ध कर्मचारीले अर्को शाखाको काम पनि सम्हाल्दै आएका थिए।
‘कर्मचारी अभाव छ । तर पदपूर्तिका लोक सेवा आयोगलाई हामीले ३ महिनाअघि पत्र लेखेका छौं,’ उपाध्यायले भने।
उपमहानगर कार्यालयको सेवा चुस्त तथा पारदर्शिता बनाउन नियमित सूचना सार्वजनिक गर्ने समेत निर्णय भएको उनले बताए ।