दाङको तुलसीपुर उपमहानगरपालिकामा ६२ हजार ३ सय ६८ गन्दा नेकपा एमालेका मेयर पदका उम्मेदवार टीकाराम खड्का र उपमेयरकी उम्मेदवार स्यानी चौधरीको अग्रता कायमै छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार मेयरका उम्मेदवार खड्काले २५ हजार ९ सय ६० मत प्राप्त गरेका छन् भने उपमेयरमा चौधरीले २५ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन्।
निकटतम प्रतिस्पर्धीभन्दा खड्का १९४४ र चौधरी ७७५८ मतान्तरले अगाडि छन्।
तुलसीपुरमा उपमेयरकी उम्मेदवार स्यानी चौधरीको जित अब लगभग निश्चित जस्तै मानिएको छ। उनी मतगणनाको सुरूदेखि नै अग्रता लिँदै आएकी उम्मेदवार हुन्। तुलसीपुरमा ७४ हजार ३ सय ३७ मत खसेको थियो।
अब ११ हजार ९ सय ६७ मत मात्रै गणना हुन बाँकी छ।
अहिले तुलसीपुरमा १७, १८ र १९ गरी तीन वडाहरूको मात्रै मतगणना भइरहेको छ।
वडा नं. १८ मा एमाले मेयरका उम्मेदवार खड्काको घर छ। त्यस्तै २०७४ सालमा पनि यो वडा नेकपा एमाले नै जितेको थियो। त्यस्तै वडा नं. १९ एमाले महासचिव शंकर पोखरेलको वडा हो। यहाँ पनि पहिला एमालेले नै जितेको थियो।
वडा नं. १७ मा भने विगतमा नेपाली कांग्रेसले जितेको थियो।
त्यस्तै, मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २४ हजार १९ मत प्राप्त गरेका छन् भने उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १७९१७ मत प्राप्त गरेका छन्।
तुलसीपुरका १९ वडामध्ये अहिलेसम्म एमालेले ८, कांग्रेसले ४ र माओवादी केन्द्रले ३ वडा र स्वतन्त्रले १ वडा जितेका छन्।