कास्कीको पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित सुनिश्चित भएको छ।
उनी सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।
महानगरमा अब पाँच हजार १५ मत गणना गर्न बाँकी छ। यहाँ एक लाख ४३ हजार दुई सय २६ मत खसेको थियो।
अहिलेसम्म १ लाख ३८ हजार दुई सय ११ मत गणना गरिएको छ।
यहाँ आचार्यले अहिलेसम्म ५६ हजार चार सय ७१ मत पाएका छन्। यहाँ एमालेबाट मेयर उम्मेदवार कृष्ण थापाले अहिलेसम्म ५१ हजार एक सय ८५ मत पाएका छन्।
उपमेयरमा एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अगाडि छिन्। उनले हालसम्म ५८ हजार ५८२ मत पाएकी छिन्।
यहाँ सत्ता गठबन्धननबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५४ हजार पाँच सय ४७ मत ल्याएकी छन्।
राप्रपाबाट मेयर उम्मेदवार शंकर खरालले ५ हजार ५७९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९८६ मत पाएका छन्।
यस्तै उपमेयरका राप्रपा उम्मेदवार रञ्जना सेन पौडेलले ५ हजार ५८१ मत पाएकी छिन्।
पोखरा महानगरका ३३ वटा वडामध्ये हालसम्म ३० वटा वडाको नतिजा आइसकेको छ। जसअनुसार कांग्रेसका २१ वटा वडा अध्यक्षसहित ७२ जना जनप्रतिनिधि निर्वाचित भइसकेका छन्।
एमालेका ९ जना वडा अध्यक्षसहित ७८ जना सदस्य निर्वाचित भइसकेका छन्। अहिले वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ।