चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालको जित सुनिश्चित भएको छ।
९१२ मत गणना गर्न बाँकी हुँदा दाहाल १२ हजार तीन सय २३ मतले अघि छिन्।
अहिलेसम्म एक लाख २६ हजार नौ सय ५७ मत गणना गरिसकिएको छ।
दाहालले ५१६६६ मत ल्याएकी छन्। यहाँ नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमाले नेता विजय सुवेदी ३९३४३ मतसहित पछ्याइरहेका छन्।
चितवनमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १४७४१ मत ल्याएका छन्।
उपमेयर पनि सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ।
उनले अहिलेसम्म ५२४२१ मत ल्याएका छन् भने एमाले-राप्रपा गठबन्धनबाट उपमेयरमा राप्रपाकी हिमला गुरुङले ३०४७७ मत ल्याएकी छन्।