३३ वर्षमै कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर जितेका अजय थापाले नगरपालिकाका सबै बालबालिकालाई माध्यमिक शिक्षासम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेका महादेव पोख्रेललाई पराजित गर्दै राप्रपाको तर्फबाट नगरपालिकाको मेयर जितेका थापाले सोमबार पदभार ग्रहण गर्दै नगरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।
‘नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तहसम्म कुनै पनि शुल्क तिर्नुपर्ने छैन,’ पदबहाली गर्दै थापाले भने।
उनले सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेको भन्दै अब विद्यालयहरूलाई नगरपालिकाले सहयोग गरेर भए पनि विद्यार्थीहरूलाई नि:शुल्क पढाउनुपर्ने बताए।
थापाले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने आफ्नो प्रमुख काम हुने बताए।
पहिलो चरणमा माध्यमिक शिक्षा नि:शुल्क गर्ने र त्यसपछि सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने उनले बताए।
‘मप्रति जनताले ठूलो आशा गरेर यो कुर्चीमा बसाल्नुभएको छ, उहाँहरूको आशा र विश्वासलाई मैले तोड्ने छैन,’उनले भने।
उनले आफ्नो कार्यकालमा शिवराजलाई नमूना नगरपालिका बनाउने बताए।
निर्वाचनको बेला शिक्षा र स्वास्थ्यको विकाससँगै भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता बोकेर मत माग्दै हिँडेका थापाले पदबहाली गर्नुपूर्व पनि ‘नगरको विकासका लागी सदैव तत्पर रहने छु, म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्दै पद तथा गोपनीयताको सपथ गरेका थिए।
त्यस्तै, नगरपालिकाका उपमेयर शिवकुमार थारूले नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधि, नगरका राजनीतिक दल र नगरबासीको सहयोग र सहकार्यको साथमा नगरलाई उत्कृष्ट बनाउन लाग्न बताइन्।
थारूले यसअघि समेत आफू उपमेयर रहिसकेकोले नगरका धेरैजसो समस्याप्रति रहेको भन्दै अहिलेको कार्यकालमा सबै समस्या समाधानका लागि लागिपर्ने बताइन्।
शिवराजमा ३३ वर्षीय थापा मेयर निर्वाचित हुँदा २८ वर्षीय थारू नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन्।