काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्ना प्रतिस्पर्धीसँग झन्डै १९ हजार मतान्तर बनाएका छन्।
उनी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा झन्डै १९ हजार मतले अगाडि छन्। सिंह काठमाडौंको मेयरको दौडमा दोस्रो स्थानमा छिन्।
मतगणनाको सुरूदेखि नै अग्रता लिएका शाहले अहिले सिंहसँग १८ हजार ९ सय २३ मतान्तर बनाइसकेका छन्।
काठमाडौंको राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भइरहेको छ। सोमबार बेलुकीसम्म शाहले ४७ हजार ४२९ मत ल्याए। उनका प्रतिस्पर्धी सिंहले २८ हजार ५०६ मत पाइन्।
यता नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६४२ मत ल्याएका छन्। सुरूवाती मतगणनामा दोस्रो स्थानमा रहेका स्थापितलाई सिंहले पछि पारेकी हुन्।
शाह र स्थापितबीच भने १९ हजार ७ सय ८७ को मतान्तर छ।
अहिले वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २६ को मतगणना भइरहेको छ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २३, २४, २५, २७, २८, २९, ३०, ३१ र ३२ को मत गणना भइसकेको छ।