दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारहरूले अग्रता कायमै राखेका छन्।
एमाले मेयरका उम्मेदवार टीकाराम खड्काले ५३ हजार ३ सय २३ मत गणना गर्दा २२ हजार ५ सय ५१ मत प्राप्त गरेका छन्।
गठबन्धन दलबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरीले २० हजार ९ सय ३३ मत प्राप्त गरेका छन्। अहिलेसम्म यी दुई बीचको मतान्तर १ हजार ६ सय १८ छ।
त्यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीको अग्रता कायमै छ।
चौधरीले २२ हजार ९० मत प्राप्त गरेकी छन्। चौधरीका निकटतम प्रतिस्पर्धी गठबन्धन दलबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १५ हजार ६ सय ५ मत प्राप्त गरेका छन्।
उपमेयरमा यी दुई बीचको मतान्तर ६ हजार ४ सय ८५ छ।
तुलसीपुरमा ७४ हजार ३ सय ३६ मत खसेको छ। अझै तुलसीपुरमा २१ हजार ४ मत गणना हुन बाँकी छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार तुलसीपुर–१४ मा नेपाली कांग्रेसका शंकर खड्का निर्वाचित भएका छन्। त्यस्तै, वडा नं. १०, ११ र १३ नम्बर वडाहरू एमालेले कांग्रेसबाट खोसेको छ।
वडा नं. १० मा एमालेका यमराज केसी, ११ नम्बरमा मानबहादुर रावत र १३ नम्बरमा मोहन पौडेल विजयी भएका छन्।
जारी मतगणना अन्तर्गत वडा नं. १२ मा गठबन्धन दलबाट अध्यक्षमा नेकपा माओवादी केन्द्रका खुसीराम चौधरीले अग्रता लिइरहेका छन्।
अहिले वडा नं. १५ को पनि मतगणना जारी छ।
हालसम्म एमालेले वडा नं. २, ३, ८, ६, १०,११ र १३ मा जित हासिल गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले वडा नं. ५, ७, ९ र १४ मा जितेको छ।
यहाँ माओवादी केन्द्रले वडा नं. १ र ४ गरी दुई वडामा जित हासिल गरेको छ।
तुलसीपुरमा १९ वडा छन्। अब १२, १५,१६,१७,१८ र १९ गरी ६ वडाको परिणाम आउन बाँकी छ।