नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको वडा पोखरा–३१ मा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन्।
वडा अध्यक्षका कांग्रेस उम्मेदवार ढकनाथ कँडेलले १ हजार ८९८ मत ल्याएर विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार चिरञ्जीवी बञ्जारा १ हजार ७३७ मतमा सीमित भए।
उक्त वडामा कुल ४ हजार ४७८ मत खसेको थियो। वडा अध्यक्षमा मात्र होइन, मेयर उम्मेदवारमा पनि एमालेले भन्दा एकीकृत समाजवादीका उम्मेदवारले धेरै मत पाएका छन्।
पोखरा–३१ बाट गठबन्धनका तर्फबाट मेयर उम्मेदवार रहेका समाजवादीका धनराज आचार्यले १ हजार ८२७ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्ण थापाले १ हजार ७ सय ६१ मत पाए।
उपप्रमुखमा भने एमाले उम्मेदवारले धेरै मत पाएका छन्।
उपमेयरका एमाले उम्मेदवार मञ्जुदेवी गुरूङले उक्त वडाबाट १ हजार ९२० मत पाउँदा गठबन्धनका तर्फबाट उपमेयरमा कांग्रेस उम्मेदवार १ हजार ७११ मत पाएकी छन्। वडा सदस्यहरूमा भने एमाले उम्मेदवार नै विजयी भएका छन्।
पोखरा महानगरमा हालसम्म १ लाख २८ हजार ३१६ मत गनिएको छ।
हालसम्मको मत परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार आचार्यले ५१ हजार ८८१ मत पाएर अग्रतामा छन् भने एमाले उम्मेदवार थापाले ४७ हजार ५७१ मत पाएका छन्।
राप्रपा उम्मेदवार शंकर खरालले ५ हजार ४२४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ८९६ मत पाएका छन्।
यस्तै, उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङले ५४ हजार ३२८ मतसहित अग्रता कायम गरेकी छन्।
उनका प्रतिद्वन्द्वी कांग्रेसकी कोपिला रानाभाटले ५० हजार ६२६ मत पाएकी छन् भने राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले ५ हजार ४३० मत पाएकी छन्।