झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन्।
आइतबार राति आएको अन्तिम नतिजाअनुसार अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने विजयी भएका हुन्।
अध्यक्षमा राजवंशीले नेकपा एमालेका उम्मेदवार विजय अग्रवाललाई पराजित गरिन्। राजवंशीले ५६८९ मत प्राप्त गरेकी छन् भने अग्रवालले ३३३० मत पाए। उनी यसअघि गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।
२०७४ मा गाउँपालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी हुँदा कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी राजवंशीले यसपटक अध्यक्ष श्रेष्ठलाई तेस्रो स्थानमा धकेलेर अध्यक्ष निर्वाचित भएकी हुन्। श्रेष्ठले ३३०७ मत मात्र प्राप्त गरे।
गाउँपालिका उपाध्यक्षमा एमालेकी न्यौपाने ४७५५ मतसहित निर्वाचित भएकी छन्। उनकी प्रमुख प्रतिस्पर्धी नेपाली कांग्रेसका मखना महतोले ३७९५ मत प्राप्त गरेका छन्।
यो चुनावी नतिजासँगै राप्रपाले गौरीगन्जको प्रमुख गुमाएको छ। एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरीगन्ज कांग्रेसले जितेको छ। ओलीकै क्षेत्रमा पर्ने दमक राप्रपाले र कमल गाउँपालिका कांग्रेसले जितेको छ।
ओलीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहमा भने गणना जारी छ। त्यहाँ एमाले उम्मेदवारको अग्रता छ। यसअघि गौरादहमा कांग्रेस विजयी भएको थियो।