मोरङको रंगेली नगरपालिकाको मेयरमा दोस्रोपटक पनि निर्वाचित भएपछि दिलिप बगडियाले आफूलाई सफल चुनावी खेलाडीका रूपमा स्थापित गरेका छन्।
‘रंगेलीमा जता दिलिप बगडिया उतै जीत’ को अवस्था उनले खडा गरिदिएका छन्।
२०७४ को निर्वाचनमा माओवादीबाट रंगेलीको मेयर जितेका बगडिया गएको फागुन २५ मा अध्यक्ष केपी ओलीको हातबाट टीका लगाउँदै एमाले प्रवेश गरेका थिए। मेयरको टिकट दिने शर्तमा एमालेले स्वागत गरेका बगडियाले नै टिकट पनि पाए। अन्ततः उनले यसपटक एमालेलाई रंगेलीमा जित दिलाएरै छाडे।
बगडियाले रंगेलीमा एमालेलाई दुर्लभ जीत दिलाएको इतिहास पनि बनाएका छन्। रंगेलीमा एक जना वडा सदस्य मात्रै जनता समाजवादी पार्टीले जित्दा अरू सबै पदमा एमाले उम्मेदवारहरू नै विजेता बनेका छन्।
बगडिया १२६८१ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका मोदराज घिमिरेले ९०६१ मत प्राप्त गरे।
यसैगरी उपमेयरमा पनि एमालेकै ११७९० मत प्राप्त गरी विजयी भएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी जसपाका पन्नालाल मण्डलले ५१७५ मत पाए।
एमालेले रंगेलीमा रचेको यो प्रभावशाली जितको श्रेय बगडियालाई जाने एमाले मोरङका एक नेताले बताए।
‘एमाले सधैं कमजोर रहेको ठाउँमा यति ठूलो जीत उहाँले नै सम्भव तुल्याउनुभएको हो,’ ती एमाले नेताले भने, ‘यसको श्रेय एकलौटी रूपमा उहाँलाई दिनुपर्छ।’
बगडियाको यही प्रभाव बुझेरै ओलीले रंगेलीमै आएर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित ‘पाँच हजारभन्दा बढीलाई पार्टी प्रवेश गराएको’ घोषणा गरेका थिए। उपप्रमुख पनि माओवादीबाटै चुनिएकी थिइन्।
रंगेलीका धनाढ्य मानिने बगडिया दर्जनभन्दा बढी इँटा उद्योगका मालिक हुन्। अन्य व्यवसायमा पनि हात हालेका उनका कारखानामा सबैजसो स्थानीयबासी मजदुर छन्।
रंगेली माओवादीको बलियो पकड भएको नगरपालिका मानिँदै आएको थियो। सांसद शिवकुमार मण्डलको निर्वाचन क्षेत्रमा पर्ने रंगेलीका प्रमुख र उपप्रमुखमा एमाले जित्दा माओवादी र कांग्रेसले एक सदस्य पनि जिताउन सकेनन्।