नेकपा एमालेले भरतपुर महानगरका पाँच वटा वडामा अध्यक्ष जितेको छ। पाँच दलीय गठबन्धनविरूद्ध एक्लै लड्दा केही वडामा प्यानलै जितेको छ। तर भारी मत ल्याएर प्यानलै जितेको वडामा पनि मतदाताले मेयरका उम्मेदवार विजय सुवेदीलाई वडाध्यक्षलाई जति भोट दिएका छैनन्।
भरतपुरका २० वटा वडाको मतगणना सकिँदासम्म एमालेले वडा नम्बर ३, ११, १२, १८ र १९ मा वडाध्यक्ष जितेको छ। तर यी कुनै पनि वडामा मेयरका उम्मेदवार सुवेदीले वडाध्यक्षले जित भोट पाउन सकेका छैनन्।
वडा नम्बर ३ मा वडाध्यक्ष जितेका विकास थापाले १२६६ भोट ल्याए। तर त्यो वडामा सुवेदीले १०२६ मात्रै मत पाए। वडा नम्बर ११ मा वडाध्यक्ष जितेका कमल मल्लले ३९३९ मत ल्याएका थिए। एमालेले सबै भन्दा ठूलो गढ मान्ने यो वडामा सुवेदीले आफ्नै वडाध्यक्षले भन्दा ६०२ कम भोट पाए।
आफ्नै घर भएको वडा नम्बर १२ मा सुवेदीले वडाध्यक्ष जितेका लेखराज पन्तले भन्दा २४१ कम भोट ल्याउन सके।
एमालेले वडाध्यक्ष जितेको अर्को वडा १८ नम्बर सुवेदीको पुरानो गाउँ हो। यहाँबाट एमालेकै बाबुराम रानामगर वडाध्यक्ष भए। तर यहाँबाट पनि मेयरका उम्मेदवार सुवेदीले उनले भन्दा ५२१ कम भोट पाए।
भरतपुरको वडा नम्बर १९ नेपाली कांग्रेसको गढका रूपमा परिचित थियो। यो वडाको कांग्रेसको गढ यसपटक एमालेका प्रकाश तामाङले भत्काइदिएका छन्। तर मेयरका उम्मेदवार सुवेदीका लागि भने यो वडा पनि सुखद बन्न सकेन। यो वडाले उनलाई वडाध्यक्षलाई भन्दा ६४२ भोट कम दियो।
वडा नम्बर ३ मा सुवेदीले पाएको मत गठबन्धनकी उम्मेदवार रेनु दाहालले पाएको भन्दा ४१ ले बढी थियो। उनले वडाध्यक्ष जितेको अर्को वडा ११ नम्बरमा दाहालले भन्दा १६९ भोट कम पाए। वडा नम्बर १२ मा दाहालले भन्दा सुवेदीले २७५ भोट बढी पाएका थिए।
वडाध्यक्ष जितेका वडाहरू १८ र १९ नम्बरमा सुवेदीले दाहालले भन्दा ६४० र ८९ भोट कम पाए।
मतगणनामा सहभागी नेकपा एमालेका प्रतिनिधिकाअनुसार वडाध्यक्षमा भोट हालेका धेरै एमालेकै कार्यकर्ताले मेयरमा सुवेदीलाई भोट दिएका छैनन्।
'बरू एकीकृत समाजवादीको भोट पनि हाम्रा वडाध्यक्षलाई आएको देखियो,' ती प्रतिनिधिले सेतोपाटीसँग भने, 'कतै त एकीकृत समाजवादीले एमालेको वडाध्यक्षमा हाल्ने र एमालेले गठबन्धनको मेयरमा भोट हाल्नेगरी सेटिङ नै भएको जस्तो देखियो।'
एमालेका नेता कृष्णप्रसाद भुर्तेलले वडा तहमा स्थानीय नेताले अरू पार्टीको पनि भोट तान्नु स्वभाविक भएको बताए। यद्यपि मेयरका उम्मेद्वार सुवेदीले आशा गरेअनुसारको भोट भने ल्याउन नसकेको उनले बताए।