तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारबिरूद्ध नेकपा एमालेका मेयर र उपमेयर पदका उम्मेदवारले निरन्तर मतान्तरण बढाउँदै लगेका छन् ।
३९ हजार २ सय ५३ मत गणना हुँदा मेयरमा एमालेका टीकाराम खड्का १०६७ मतान्तरले अगाडि छन् ।
खड्काले १६ हजार ४ सय ९२ मत प्राप्त गरेका छन् ।
त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले १५ हजार ४ सय २५ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपमेयरमा एमालेकी श्यानी चौधरीले १५ हजार ७ सय ५५ मत प्राप्त गरेकी छिन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ११ हजार ४४५ मत प्राप्त गरेका छन्। यी दुई बीचको मतान्तर ४३१० रहेको छ ।
१९ वडा रहेको तुलसीपुरमा अहिले वडा नं. १०, ११ र १२ को गणना चलिरहेको छ। वडा नं. १० मा पनि एमाले जित नजिक पुगेको छ ।
अहिलेसम्म तुलसीपुर वडा नं. १ र ४ मा गठबन्धनबाट माओवादी केन्द्र, २,३,६ र ८ मा एमाले र वडा नं. ५, ७ र ९ मा नेपाली काँग्रेसले जितेका छन्।
तुलसीपुरमा झन्डै ७५ हजार मत खसेको छ। २०७४ सालमा कांग्रेसले जितेका वडा नं. ८ र १० पनि यसपालि एमालेले आफ्नो पोल्टामा पारेको छ।
अहिलेसम्मको स्थितिमा वडा नं. ११ मा एमाले अगाडि छ। वडा नं. ११ मा कांग्रेसको बागी उम्मेदवारी परेको छ। गठबन्धन अनुसार वडा नं. १२ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। यहाँ भने झिनो मतान्तरले माओबादी केन्द्रका उम्मेदवार अगाडि छन्।