सप्तरीको छिन्नमस्ता गाउँपालिकामा २५ वर्षका विद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका चौधरीले प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सत्यनारायण यादवलाई हराएर जित हात पारेका हुन्।
चौधरीले २८९५ मत पाए भने जसपाका यादवले १७६६ मत ल्याए।
जितपछि सेतोपाटीसँग कुरा गर्दै चौधरीले आफूलाई मत दिएर छिन्नमस्ताका जनताले भरोसा गरेको बताए।
‘मभन्दा धेरै उमेरका नेताहरू चुनावी मैदानमा हुनुहुन्थ्यो तर छिन्नमस्तावासीले मलाई अत्याधिक मत दिएर जिताउनु भएको छ,’ चौधरीले भने,‘उहाँहरूको विश्वासलाई कायम राख्न सधैँ काम गर्नेछु।’
सामान्य परिवारका चौधरीले राजनीति शास्त्रमा स्नातक गरेका छन् भने अहिले एलएलबी पनि पढिरहेका छन्।
सानैदेखि सामाजिक कार्यमा लाग्ने स्वभावका कारण राजनीतिमा लागेको उनले बताए।
‘मेरो बुवा गाउँघरमा कसैले गाह्रोसाह्रो पर्दा सहयोग गर्नुहुन्थ्यो। मलाई पनि सानैदेखि सामाजिक काममा रूची थियो,’ चौधरीले भने,‘त्यही क्रममा ८-१० वर्षअघि राष्ट्रिय मधेस समाजवादी पार्टीमा आवद्ध भएको हुँ।’
सप्तरीका लोसपा नेता केशव झाको मार्गदर्शनअनुसार आफू राजनीतिमा अघि बढेको उनले बताए।
यसपालि उनलाई टिकट पाउन भने निकै मेहनत गर्नुपरेको थियो। छिन्नमस्ताकै नेता प्रभाकर यादव जिल्ला समन्वय समितिका सभापति थिए। उनले पनि अध्यक्षमा दाबी गरेका थिए। पार्टीले चौधरीलाई टिकट दिएपछि उनले लोसपा छोडेर जनता प्रगतिशील पार्टीबाट उम्मेदवारी दिएका थिए।
‘टिकटका लागि अरूले पनि दाबी गरेका थिए। पार्टीले मलाई विश्वास गर्यो मैले पनि त्यो विश्वासलाई टुट्न दिइनँ,’ चौधरीले भने।
गाउँपालिका अध्यक्ष बनेपछि अब उनले छिन्नमस्ताको विविध क्षेत्रको विकास गर्ने बताए।
छिन्नमस्ता गाउँपालिका जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा पर्छ। गत चुनावमा यहाँ तत्कालीन नयाँ शक्ति पार्टीका सत्यनारायण मण्डलले अध्यक्ष जितेका थिए।
यसअघिका जनप्रतिनिधिले गर्न नसकेका काम आफूले गर्ने चौधरीले बताए।
‘छिन्नमस्ता नेपालकै प्रसिद्ध शक्तिपीठ हो तर त्यसलाई पर्यटकीय स्थल बनाउन सकिएको छैन,’ चौधरीले भने,‘सबैभन्दा पहिला म छिन्नमस्तालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने पहल सुरू गर्छु र यसलाई पर्यटकीय स्थल बनाउँछु।’
छिन्नमस्तामा सडकदेखि स्वास्थ्यका पूर्वाधार बनाउन काम गर्ने र वित्तीय पारदर्शिता कायम गर्ने उनले बताए।
‘गाउँपालिकाका हरेक बिल वेबसाइटमा राख्ने व्यवस्था मिलाउँछु,’ उनले भने,‘वित्तीय पारदर्शिता ठूलो कुरा हो।’
उनले वडाबाट जन्मदर्ता, नागरिकतालगायत सिफारिसका लागि महिना/महिनामा घरदैलो गर्ने योजना रहेको सुनाए।
आफू युवा भएकाले अनुभवीहरूको कोर टिम बनाएर विकासका काम अघि बढाउने उनले सुनाए।
‘विभिन्न क्षेत्रका विज्ञहरूको कोर टिम बनाएर उहाँहरूको सुझावअनुसार गाउँपालिकामा विकासका काम गरेर नमूना पालिका बनाउने लक्ष्य छ,’ चौधरीले भने।
आफूसहित गाउँपालिकाका हरेक जनप्रतिनिधिको तीन-तीन महिनामा समीक्षा गर्ने पनि उनको योजना छ।