बाँकेको कोहलपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता सुवेदीले अग्रता कायमै राखेका छन्।
मतगणनाको सुरुदेखि नै अग्रता लिएका उनीहरुले एउटा मात्रै वडाको मतगणना बाँकी रहँदा पनि अग्रता कायमै राखेका छन्।
पछिल्लो मत परिणामअनुसार आचार्यले १२९०६ मत प्राप्त गरेका छन्। यहाँ नेकपा एमालेका खिलप्रसाद भुसालले ११४३० मत प्राप्त गरेका छन्।
नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९५५८ मत ल्याएका छन्।
त्यस्तै उपमेयरमा कांग्रेसकी सुवेदीले १३०१२ मत प्राप्त गरेकी छन्।
सुवेदीलाई एमालेकी अस्मिता थारुले १२६०४ मतका साथ पछ्याइरहेकी छन्। सुवेदी र थारुका बीचमा ४०८ मतान्तर रहेको छ।
उपमेयरमा नेकपा एकीकृत समाजवादीकी नारायणी वलीले ४९४४ मत प्राप्त गरेकी छन्। कोहलपुरमा माओबादी र समाजवादीको चुनावी तालमेल रहेको छ।
१५ वडा रहेको कोहलपुरमा अब वडा नम्बर ८ को मात्रै मत गणना बाँकी छ। मतगणना जारी छ।