तत्कालीन नेकपा माओवादी केन्द्रले नेतृत्वमा भएको सशस्त्र युद्ध 'जनयुद्ध' का क्रममा राज्यपक्षबाट मारिएका दिलबहादुर रम्तेलकी आमा किर्कौली सर्किनी (सरिमाया) यसपालि स्थानीय तहको चुनावमा गोरखामा उम्मेदवार थिइन्।
उनलाई नेकपा माओवादी केन्द्रले बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ पन्द्रुङमा दलित महिला सदस्यको उम्मदेवार बनाएको थियो। २०५२ साल फागुन १४ गते प्रहरीको गोलीबाट दिलबहादुर मारिएका थिए। उनलाई माओवादीले पहिलो सहिद घोषणा गरेको थियो।
११ वर्षीय दिलबहादुर जराङस्थित ब्रह्मचारिणी निम्नमाध्यमिक विद्यालयका विद्यार्थी थिए। स्थानीय शिक्षकलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर दिलबहादुरको निधन भएको थियो। त्यसयता दिलबहादुरकी आमा पार्टी राजनीतिमा सक्रिय थिइनन्।
यसपालि उम्मेदवार बनेकी किर्कौली पराजित भइन्। बारपाक सुलिकोट वडा नम्बर ८ को वडाध्यक्षसहित पुरै प्यानल नेपाली कांग्रेसले जित्यो।
कांग्रेस उम्मेदवार पुर्नीमाया सुर्खेतीसँग उनी पराजित भएकी हुन्।
पुर्नीमायाले ४९९ मत ल्याउँदा ६८ वर्षीया किर्कौलीले भने ४६० मत ल्याइन्। दलित महिला सदस्यका लागि तीन जना उम्मेदवार रहेकोमा नेकपा एमालेकी उम्मेदवार पम्फा सुर्खेती १४२ मत ल्याउँदै पराजित भइन्।
बारपाक सुलिकोटमा अध्यक्ष र उपाध्यक्ष माओवादीले जितेको छ।
कांग्रेसका उम्मेदवारलाई हराउँदै माओवादीका बिष्णुप्रसाद भट्ट अध्यक्ष र सनमाया गुरूङ उपाध्यक्ष निर्वाचित भए। उनीहरू ०७४ मा पनि अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए।
माओवादीले यो गाउँपालिकामा ८ मध्ये ५ वडा जितेको छ।
योसहित गोरखाका ११ मध्ये ९ पालिका प्रमुखमा यसपालि माओवादीले जितेको थियो।
माओवादीले यति धेरै पालिका जिते पनि 'जनयुद्धका पहिलो सहिद दिलबहादुर' को आमाले चुनाव हार्नुपर्ने अवस्थाको समीक्षा हुनुपर्ने स्थानीय बालक देवकोटा बताउँछन्।