धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका उम्मेदवारलाई २७० मतले पछि पार्दै अग्रता जारी राखेका छन्।
साम्पाङले अग्रता अझै बढ्ने दाबी गरेका छन्।
‘मेरो राम्रो मत आउने वडाहरूको बल्ल गणना सुरू भएको छ’, उनले भने, ‘त्यसैले अब मत बढ्छ।’
निर्वाचन आयोगको आधारिक तथ्यांक अनुसार साम्पाङले ९२९५ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारसँगको अग्रता बढाउँदै लगेका छन्।
मतगणनाको सुरूआतदेखि पाँचौं दिनसम्म अग्रता कायम गरेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राई साम्पाङभन्दा २७० मतले पछाडि परेका छन्।
उनले ९०२५ मत पाएका छन्। एमालेका उम्मेदवार मञ्जु भण्डारीको मत ७२८८ छ ।
उपमेयरमा भने माओवादी केन्द्रका उम्मेदवार आइन्द्रबिक्रम बेघाको लगातारको अग्रता कायमै छ। उनले १०१७९ मत प्राप्त गर्दा एमालेका उम्मेदवार पदम लिम्बू ४४४ मतले पछाडि रहेर ९७३५ मत प्राप्त गरेका छन्।
धरानको अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १८, १९ र २० नम्बर वडाको मतगणना सकिएको छ।
११ र १२ को गणना भइरहेको छ। १३, १४, १५, १६ र १७ को गणना हुन बाँकी छ। धरानमा ६२ हजार ८९७ मत खसेको छ।