धनुषामा स्थानीय तहको चुनावमा मेयरमा उठेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्षद्वय पराजित भएका छन्।
धनुषाधाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका माओवादीका जिल्ला अध्यक्ष देवेन्द्र कुमार यादव (दिपक) अन्तिम तेस्रो भए।
यहाँबाट निवर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका बालेश्वर मंण्डल विजयी भए। उनले ४७१८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योग कुमार यादव थिए। उनले ४१७९ मत प्राप्त गरे।
माओवादीका जिल्ला अध्यक्ष दिपकले भने ३२५९ मत ल्याए।
कमला नगरपालिकामा मेयरमा उठेका जसपाका जिल्ला अध्यक्ष पशुपति यादव नेपाली कांग्रेसका उम्मेदवारसित १०२८ मतले पराजित भए।
कांग्रेसका विशेश्वर यादव ३८८७ मत ल्याएर विजयी हुँदा पशुपतिले २८५९ मत पाए।
मेयरमै उठेका कांग्रेस र एमालेका जिल्ला अध्यक्षहरु समेत पछि परेका छन्।
एमालेबाट सबैला नगरपालिकाका मेयरका उम्मेदवार एमाले जिल्ला अध्यक्ष राजकिशोर यादव ४७५ मतले पछि परेका छन्।अहिलेसम्मको मतगणनामा यहाँ नेकपा माओावादी केन्द्रका कारीराम यादवले २८५० मत ल्याएर अग्रता कायम गरेका छन्।
एमाले अध्यक्ष राजकिशोरले भने २३७५ मत ल्याएर उनलाई पछयाइरहेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका रामचन्द्र जयसवालले २२५३ मत ल्याएका छन्।
त्यस्तै क्षिरेश्वरनाथ नगरपािलकाका मेयरका उम्मेदवार कांग्रेसका जिल्ला सभापति योगेन्द्र पजियार समेत एमाले उम्मेदवारसँग ३४० मतले पछि परेका छन्। अहिलेसम्मको मतगणनामा यहाँबाट एमालेका सुखदेव यादवले २१९० मत ल्याएका छन् भने निवर्तमान मेयर समेत रहेका पजियारले १८५० मत प्राप्त गरेका छन्।
यद्दपी दलहरुबीचको विवादले जेठ ३ गतेदेखि स्थगित भएको मतगणना अझै सुचारू हुन सकेको छैन्। क्षिरेश्वर जनता उच्च मा.वि. (ङ) मतदान केन्द्रको पुनः मतगाणना गर्नुपर्ने माग गर्दै एमाले आन्दोलित भएपछि निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नआएसम्मका लागि मतगणना स्थगित गरेको थियो।
वडा नम्बर ५ मा एमालेका उम्मेदवार १ मतले विजयी भएपनी निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको उनीहरुको आरोप छ।
एमालेको उम्मेदवार १ मतले विजयी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने उनीहरुले माग गरेपनि कांग्रेसले मानेको छैन।
निर्वाचन अधिकृत विकास बस्नेतले केन्द्रीय निर्वाचन आयोगलाई पत्र पठाएका छन्। उताबाट आउने निर्देशन बमोजिम प्रक्रिया अघि बढ्नेछ।