मुलुकका धेरै जिल्लामा यसपालि सत्तारूढ़ दलहरूले तालमेल गरेर स्थानीय चुनावमा भाग लिएका थिए। तर बर्दिया जिल्लामा भने सत्ता गठबन्धनको तालमेल थिएन।
यो जिल्लाका आठ पालिका मध्ये पाँच वटामा नेपाली कांग्रेसले जित हात पारेको छ। गेरूवा गाउँपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, गुलरिया र ठाकुरबाबा नगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले जितेको हो। मधुवन र बारबर्दिया भने कांग्रेसले माओवादीबाट खोसेको हो।
मधुवन नगरपालिका प्रमुखमा कांग्रेसकै तेजबहादुर भाट निर्वाचित भएका छन्। उनले ८७७६ ल्याएर जितेका हुन्। उपप्रमुखमा अनिता चौधरी ८३३५ मत ल्याएर निर्वाचित भएकी छन्। यसअघि दुवै पदमा माओवादी केन्द्र विजयी भएको थियो।
बारबर्दियाको मेयरमा छविलाल थारू १३००६ मत ल्याएर कांग्रेसबाट विजयी भएका छन्। १२४९१ मत ल्याएर उपमेयर जितेकी रत्नकुमारी पाण्डे कांग्रेसकै हुन्।
कांग्रेसले गुलरिया नगरपालिकामा ७९८९ मत ल्याएर मेयर पद जितेको छ। मेयर उम्मेदवार मुक्तिनाथ यादवले मेयर जित्दा उपमेयरमा कांग्रेसकै सावित्रा गौतमले ८२०७ मत पाएकी छन्।
ठाकुराबाबा नगरपालिकामा भने मेयर कांग्रेसले जिते पनि उपमेयर एमालेले जितेको छ। मेयरमा कांग्रेसका तिलकराम लम्सालले ९०४२ ल्याएर जितेका हुन्। एमालेकी विनाकुमारी भट्टराई ८१७६ मत ल्याएर उपमेयर बनेकी छन्।
माओवादी केन्द्रले यसअघि जितेको राजपुर नगरपालिकामा यसपालि पनि विजय हासिल गरेको छ। राजापुरमा माओवादी केन्द्रका दिपेश थारू ९८०७ मत ल्याएर मेयर भएका छन्। उपमेयरपनि माओवादीकै मनकलाकुमारी चौधरीले १००८६ मत पाएर जितेकी छन्।
त्यस्तै बढैयाताल गाउँपालिकामा पनि माओवादीका अध्यक्ष उम्मेदवार हिमालय त्रिपाठीले ९३६७ मत ल्याएर जितेका छन्। उपाध्यक्षमा भने ८८८५ मत ल्याएर एमालेकी लक्ष्मीकुमारी अधिकारी विजयी भइन्।
बाँकी रहेको बासगढी नगरमा भने एमालेले जित हात पारेको छ। यहाँ पनि उसले मेयर मात्र जितेको हो। १०९४७ मत ल्याएर एमालेका खड़क बहादुर खड्काले मेयर जित्दा माओवादीका भवनकुमार थारूले ९७६३ मत ल्याएर उपमेयर बनेकी छन्।