मधेश प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन्।
नेपाली कांग्रेसबाट सर्लाहीको गोडैटा नगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का उम्मेदवारसँग ५४२ मतले पराजित भएका हुन्।
लोसपाका देवेन्द्र कुमार यादवले ५२९४ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन्। निकटतम प्रतिद्धन्द्वी कुशवाहाले ४७५२ मत ल्याए।
कुशवाहा २०७४ सालको निर्वाचनमा समेत मेयरमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार यादवसँग पराजित भएका थिए।
मेयरमा पराजित भएपछि कुशवाहा कांग्रेसबाटै प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए।
उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत थिए। तर फेरि मेयर उठ्न निर्वाचनको मुखमा उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।