नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले जिल्ला तहको रिपोर्टले आफूहरूलाई उत्साही नबनाएको बताए।
‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँट उत्साहवर्द्धक थियो। र यसले राम्रो सन्देश पनि दिएको छ। तर विभिन्न जिल्लाको रिर्पोटहरू सुन्दाखेरी त्यति आशावादी उत्साही हुने स्थिति छैन,’ उनले भने।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि त्यसअनुसार बाँडफाँट नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
‘हामीले भनेका थियौं, नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी। नेपाली कांग्रेसले जितेको ठाउँमा कांग्रेस, जनता समाजवादीले जितेको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ। त्यसमा आम रूपमा ठिकै छ, ’ उनले भने, ‘तर नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नु पर्दछ। कुरो त यसमा ठिकै भएको थियो। त्यसअनुसार काम भएन।’
त्यस्तै नोमिनेसनकै बेलामा विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउन एमाले लागिरहेको आरोप समेत लगाए।
केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रिय सभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए।
‘भोलि नोमिनेसन फाइल गर्ने दिन हो। पर्सी पनि नोमिनेसन गर्ने दिन हो। यो दुई दिन राखिएकोमा पनि षड्यन्त्र होला। ११ गते नोमिनेसन गर्लान् र १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिऊँला भनि सोचेका पनि होलान्,’ उनले भने, ‘अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनि ठानेका होलान्। अरूले पनि त्यस्तो तिकडम जानेको छ।’