मंसिर ४ मा भएको संसदीय निर्वाचनमा मधेश प्रदेशमा नेकपा (एमाले) सबैभन्दा ठूलो पार्टी बनेको छ।
मधेस प्रदेशका ३२ प्रतिनिधि सभा सदस्य र ६४ प्रदेश सभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले दुबैतर्फ सबैभन्दा धेरै सिट जितेको हो।
प्रतिनिधि सभामा ३२ मध्ये एमालेले ९ सिटमा जित हात पारेको छ। २०७४ को चुनावमा प्रतिनिधि सभामा एमालेले मधेसबाट दुई सिट मात्र जितेको थियो।
यो प्रदेशमा कांग्रेसले प्रतिनिधि सभा तर्फ ७ सिटमा जित हात पारेको छ। जनता समाजवादी पार्टीले ६ सिटमा जित निकालेको छ भने लोकतान्त्रिक समाजवादीले ३ सिट जितेको छ। मधेसमा ३ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने एक ठाउँमा जनमत पार्टीले जित हात पारेको छ।
प्रदेश सभामा पनि एमालेले प्रत्यक्षतर्फका ६४ मध्ये १५ सिटमा जित हात पारेको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले १३ सिट जितेको छ।
समानुपातिकतर्फ भने अहिलेसम्मको मतगणनामा मधेस प्रदेशमा नेपाली कांग्रेस पहिलो दल बनेको छ।
यो पनि पढ्नुस्:
प्रतिनिधि सभाको समानुपातिकतर्फ कांग्रेसले ३ लाख ७२ हजार ७ सय ३४ मत पाएको छ भने एमालेले ३ लाख २३ हजार ४२ मत पाएको छ।
प्रदेश सभा समानुपातिकतर्फ पनि कांग्रेसको अग्रता कायम छ। कांग्रेसले अहिलेसम्म ३ लाख ५९ हजार ३२८ मत पाएको छ भने उसलाई पछ्याइरहेको एमालेले ३ लाख २२ हजार ८३४ मत पाएको छ।
समानुपातिकमा केही हजार मतले एमाले कांग्रेसभन्दा केही पछि रहे पनि प्रत्यक्षतर्फ उसले दुबैतर्फ २/२ सिट बढी जितेकाले समग्रमा यो प्रदेशबाट सबैभन्दा धेरै सांसद एमालेका हुने भएका छन्।