नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वबिना मुलुकले सही निकास पाउन नसक्ने बताएका छन्।
सम्पन्न निर्वाचनमा एमालेले बहुमत नपाए पनि मुलुकको विकास, समृद्धि र सहि निकासको लागि सरकारको नेतृत्वको अधिकतम पहल गर्ने बताए।
रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनले सोमबार बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले बहुमत नपाए पनि सरकारको नेतृत्वको लागि अधिकतम प्रयास गर्ने बताए।
´नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन, मुलुकको सहि निकासको लागि एमालेले सरकारको नेतृत्वको अधिकतम प्रयास गर्छ,´ उनले भने।
उपाध्यक्ष पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताए। राजनीतिक स्थायित्वको लागि कुनै पनि दलको बहुमत आउनुपर्ने भए पनि अहिलेको जनमतले राजनीतिक स्थायित्वप्रति आशंका उब्जाएको उनले बताए।
‘राजनीतिक स्थायित्व, विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन। अरु कुनै दलले पनि बहुमत पाउन सकेनन् जुन मुलुकको लागी दुर्भाग्य हो,` उनले भने, ‘कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा छ।’
उनले सरकारको नेतृत्व एमालेले गर्ने अवसर मिलेमा अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने बताएका छन्।