प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ कैलाली-३ मा गंगाराम चौधरीले सत्ता गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर विजयी भए।
६३ हजार ४ सय ४० मतमध्ये उनले २३ हजार १ सय २० मत पाए। निकटतम् प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत पाए।
कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले लगातार अग्रता लिइरहेकी छन्। उनको जित सुनिश्चित जस्तै छ। बर्दियाका २ क्षेत्रमा समेत नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
उम्मेदवारी दर्ताका बेला रेशमले बर्दिया-२ मा उम्मेदवारी दिएका थिए। अदालतबाट दोषी ठहर भइसकेका रेशमको उम्मेदवार खारेज हुन सक्ने अनुमान गरेर उनले आफ्ना बुवालाई स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लगाएका थिए। नभन्दै उनको उम्मेदवारी खारेज भयो।
अहिले उक्त क्षेत्रमा उनका बुवा लालवीर चौधरी जितको नजिक छ।
यो पार्टीले लुम्बिनी प्रदेश सभाको एक र सुदुरपश्चिम प्रदेश सभाको एक क्षेत्रमा समेत अग्रता लिएको छ।
उसले अहिलेसम्म समानुपातिकतर्फ पनि आठौं नम्बरको मत पाएको छ।
लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ पनि यो पार्टीले ५ हजार ५ सय १६ मत ल्याएको छ। सुदुरपश्चिम प्रदेशमा भने अहिलेसम्म समानुपातिक तर्फको मतगणना भएको छैन।
प्रारम्भिक मतपरिणामकै आधारमा यो पार्टीले संघमा र प्रदेशमा समानुपातिकतर्फ कति मत ल्याउँछ भनेर भन्न सकिँदैन। तर प्रत्यक्षतर्फ जितले भने नागरिक उन्मुक्ति पार्टीको पश्चिम तराईमा नयाँ शक्तिको रूपमा उदय भएको छ। यो दललाई पूर्वदेखि पश्चिमसम्मका थारू समुदायका मतदाताले मत दिएका छन्।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाको तर्फबाट कैलाली क्षेत्र नं १मा रेशम चौधरीले जितेका थिए। २०७२ मा टीकापुर घटनामा दोषी ठहरिएका चौधरीले भूमिगत अवस्थामै निर्वाचन जितेका थिए। सांसदमा विजयी भइसकेपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका चौधरी अहिले ज्यान मुद्दामा जेलमा छन्। चौधरीकी श्रीमती रञ्जना श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन भएको हो।
झुठा मुद्दा लगाएर फसाइएको भन्दै चौधरी समुदायमा उनीप्रति ठूलो सहानुभूति देखिन्छ। थारू समुदायको बाहुल्य रहेको पश्चिम तराईका कैलाली, बर्दिया लगायतका क्षेत्रबाट यो पार्टीले समानुपातिकतर्फ राम्रो मत पाउने देखिन्छ। सँगै देशैभरि रहेका थारू समुदायको सहानुभतिको मत पनि यो पार्टीले पाएको छ।