सेतोपाटी निर्वाचन विश्लेषणः कास्की- २
नेकपा एमालेकी केन्द्रीय सदस्य विद्या भट्टराई संसदीय राजनीतिमा दोहोरिन चाहेकी थिइनन्।
प्राध्यापन पेसामै फर्किएर पार्टी राजनीतिमा सक्रिय हुने भन्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव नलड्ने जानकारी गराएकी थिइन्। तर ओलीले उनलाई कास्की– २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको टिकट दिएर पठाए।
संसदीय राजनीतिमा जोडिएर चुनाव लड्ने यसअघि पनि उनको चाहना थिएन। उनका श्रीमान रवीन्द्र अधिकारी पर्यटनमन्त्रीको हैसियतमा जब २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भयो, तब तत्कालीन नेकपाले २०७६ मंसिर १४ गतेको उपनिर्वाचनमा उनलाई कास्की– २ मा उम्मेदवार उठायो।
उपनिर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित मिलेर बनेको नेकपा उनको साथमा थियो। त्यति बेला कांग्रेस उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४०३ मतले पराजित गरेर विजयी भइन्।
तीन वर्षअघि भएको उपनिर्वाचनमा विद्याले २४ हजार ३९४ मत पाएकी थिइन् भने खेमराजले १५ हजार ९९१ मत पाएका थिए।
अहिले नेकपा सग्लो छैन। एमालेसँग मिलेको माओवादी आफ्नै हैसियतमा फर्किएको छ भने एमाले टुक्रिएर एकीकृत समाजवादी बनेको छ।
अझ रोचक त, त्यति बेला विद्यालाई जिताउन लागेका तत्कालीन नेकपा केन्द्रीय सदस्य श्रीनाथ बराल अहिले एकीकृत समाजवादीबाट उम्मेदवार बनेर उनलाई चुनौती दिएका छन्।
कास्कीको एमाले राजनीतिमा भिजेका श्रीनाथलाई नेपाली कांग्रेस, माओवादी केन्द्रसहित सत्तारूढ ५ दलीय गठबन्धनको साथ छ। एमालेकै पूर्व नेता श्रीनाथलाई यत्तिका दलहरूको साथ हुँदाहुँदै पनि विद्या नै उक्त क्षेत्रमा अगाडि देखिएकी छन्।
कास्की– २ मा पर्ने पोखरा महानगरका वडाहरू ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ मा अहिले ७९ हजार १३८ जना मतदाता छन्। यी सबै वडामा पुगेर हामीले २७८ जना मतदातालाई भेटेर प्रत्यक्ष कुराकानी गर्दा विद्यालाई मत दिन्छु भन्ने मतदाता धेरै भेटिए।
हामीले कुराकानी गरेका २७८ जनामध्ये ५४ जनाले पहिलेदेखि नै एमालेलाई मतदान गरेको र यसपालि पनि एमालेलाई नै मत दिने बताए। गत स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यलाई मत दिएका ७ जनाले यसपालि एमालेलाई नै मतदान गर्ने बताए। यस हिसाबले एमालेकी विद्यालाई ६१ जना अर्थात् २१.९४ प्रतिशतले मत दिने बताएका छन्।
सत्तारूढ गठबन्धनबाट यस निर्वाचन क्षेत्र एकीकृत समाजवादीले पाएका कारण यहाँ गठबन्धनभित्रका अन्य दलका उम्मेदवार छैनन्। हामीले भेटेकामध्ये गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथलाई ४५ जना अर्थात १६.१८ प्रतिशतले मत दिने बताएका छन्। जसमा विगतमा कांग्रेसलाई मतदान गरेका ९ जना र ३ जनाले विगतमा माओवादीलाई मत दिएको खुलाए।
सबभन्दा धेरै त १०८ जना अर्थात् ३८.८४ प्रतिशतले यसपालि कसलाई मत दिने भनेर खुलाएनन्। उनीहरूमध्ये १५ जनाले विगतमा कांग्रेसलाई र १२ जनाले एमालेलाई मत दिएका थिए। त्यस्तै ८१ जनाले विगतमा कसलाई मत दिएको पनि भन्न चाहेनन्।
एमाले र एकीकृत समाजवादीपश्चात हामीले भेटेका मतदाताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई २२ जना अर्थात् ७.९१ प्रतिशतले मत दिने बताए।
पोखरा–१६ जोगीमणिकी पवित्रा गुरुङले विगतमा एमालेलाई मतदान गरे पनि यसपालि राप्रपालाई मत दिने बताइन्। बाँकी मतदाता राप्रपाका परम्परागत मतदाता हुन्।
कास्की–२ बाट स्वतन्त्र उम्मेदवार प्रति पनि केही मतदाता आकर्षित देखिन्छन्। हामीले भेटेकामध्ये २७ जना अर्थात् ९.७१ प्रतिशतले स्वतन्त्रलाई मत दिन्छु भने। तर को स्वतन्त्र उम्मेदवार भनेर खुलाएनन्। जसमा २१ जनाले यसअघिका निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिएको बताए। बाँकी ६ जना नयाँ मतदाता हुन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन्छु भन्ने १५ जना भेटिए जसमा ३ जनाले यसअघि नेपाली कांग्रेसलाई मतदान गरेका थिए। अरूले पहिले कसलाई मत दिएको भन्ने खुलाउन चाहेनन्।
कास्की–२ का २७८ मतदातासँग गरिएको कुराकानी हेर्दा सत्तारूढ गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले चुनाव जित्न अनिर्णीत मतदाताको ठूलो हिस्साको मत तान्नुपर्ने देखिन्छ। यसका अलवा छरिएका कांग्रेस मतदाता पनि उनले आफ्नो कित्तामा ल्याउनुपर्छ।
कांग्रेसका पुराना नेता महादेव गुरुङ कास्की– २ बाट स्वतन्त्र उम्मेदवार बनेकाले उनले पनि केही मत काट्न सक्ने अड्कलबाजी भइरहेका छन्। तर हामीले भेटेका २७८ जनामध्ये कसैले पनि नाम लिएर उनलाई मत दिन्छु भनेनन्।
एमालेकी विद्या भट्टराईले अनिर्णीत मतदाताको सानो हिस्सा आफूतिर तान्न सके जित्न सक्छिन्। यस्ता मतदाता आफूतिर तान्न उनलाई पनि सजिलो भने छैन।
युवा पुस्ताका मतदाता उम्मेदवार र राजनीतिक दलप्रति असन्तुष्ट छन्। पहिलो पटक मतदान गर्न लागेकी पोखरा–१६ की १७ वर्षीया मौसमिका गुरुङले पार्टीका उम्मेदवारलाई भोट नदिने बताइन्।
उनले भनिन्, 'म त स्वतन्त्रलाई भोट दिने हो, पार्टीलाई दिन्नँ।'
प्रतिनिधि सभा सदस्यमा कास्की–२ मा आफ्नो पार्टीको उम्मेदवार नभएको भन्दै छरिएका कांग्रेस मतदाताले समानुपातिकतर्फ भने आफ्नै पार्टीलाई मत दिने बताए। यस क्षेत्रमा कांग्रेस उम्मेदवार नभएको फाइदा एमालेलाई पुग्ने देखिएको कांग्रेस कार्यकर्ताहरूको पनि बुझाइ छ।
तर ठूलो मात्रामा मत छरिन नसक्ने नेपाली कांग्रेस पोखरा–११ का वडा सचिव सुवास आचार्य बताउँछन्।
'साथीहरूले एक्लाएक्लै लड्नुपर्थ्यो भनेका छन्। पार्टीका उम्मेदवार नहुँदा मतदाता रूष्ट पनि छन्,' उनले भने, 'मतपत्रमा हाम्रो चुनाव चिह्न नभएपछि गठबन्धनलाई मत दिन्छन्। अलिअलि तलमाथि हुन सक्छ।'
गठबन्धनका उम्मेदवारप्रति वैशाख ३० को स्थानीय निर्वाचनमा जस्तो आकर्षण मतदातामा अहिले देखिँदैन। पोखरा– ३३ बाघमाराका मतदाता सूर्यलाल पौडेलले स्थानीय निर्वाचनमा मेयरमा एकीकृत समाजवादीलाई मत दिए पनि यसपालि विद्यालाई मत दिने बताए।
'हामी मान्छे हेर्ने हो, पार्टी होइन,' उनले भने, 'विद्या बौद्धिक छिन्। मेरो छोरीको थेसिस लेख्दा पनि सहयोग गरेकी थिइन्।'
पार्टीको उम्मेदवार नभएकै कारण कांग्रेसका केही क्रियाशील सदस्य मत माग्न पनि हिँडेका छैनन्। बाघमाराकै कांग्रेस क्रियाशील सदस्य दुर्गाप्रसाद बरालले प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ उम्मेदवार नभएकाले आफू चुनावमा क्रियाशील नभएको बताए।
'हाम्रो उम्मेदवार नै छैनन्, किन भोट माग्न हिँड्नु,' उनले भने, 'जुन दलले बहुमत ल्याए पनि ५ वर्ष चलाउन सक्दैनन्।'
मतदान गर्दा भने उनले गठबन्धनका उम्मेदवारलाई नै दिने बताए।
पोखरा–१५ का एकीकृत समाजवादीका कार्यकर्ता स्थानीय निर्वाचनको आँकडाअनुसार गठबन्धन अगाडि भएकाले श्रीनाथले चुनाव जित्ने दाबी गर्छन्।
'श्रीनाथ एमाले कार्यकर्तामा भिजेका छन्, त्यसैले उनलाई एमालेको भोट पनि आउँछ,' उनको तर्क छ, 'कांग्रेसले पनि अन्तिममा भोट दिने भएकाले चुनाव जितिन्छ।'
गत स्थानीय निर्वाचनमा एकीकृत समाजवादीका मेयर उम्मेदवारलाई मत दिएकी भरतपोखरीकी पद्मा गिरीले यसपालि एमालेलाई नै मत दिने बताइन्। विद्या भट्टराईको गाउँ नजिकैकी पद्माले रवीन्द्र अधिकारीले जस्तो विद्याले गाउँ र समाजका विषयमा चासो नराखेको गुनासो पनि गरिन्।
'रवीन्द्र अधिकारी गाउँ आइराख्थे, घरघर डुलेर के छ हालखबर भन्थे,' उनले भनिन्, 'विद्या आउँदै आउँदिनन्।'
निर्वाचन क्षेत्रमा फर्केर नहेरेको भन्दै बाघमाराका मतदाता हरिराज भण्डारी पनि रूष्ट छन्।
'विद्या भाउजू चुनाव जितेर गएपछि अस्ति भोट माग्न आउँदा देखेको हो,' उनले भने, 'उहाँलाई काठमाडौंको घरबार प्यारो होला, गाउँको के माया!'
२०६४ सालदेखि लगातार तीनपटक उक्त क्षेत्रबाट एमाले नेता रवीन्द्र अधिकारीले चुनाव जितेका थिए। अधिकारीको निधनपश्चात भएको उपनिर्वाचनमा विजयी विद्या फेरि दोस्रो पटक जित्ने दौडमा छिन्। कास्कीमा एमालेको सबभन्दा सुरक्षित क्षेत्र मानिने यस क्षेत्रमा गत स्थानीय निर्वाचनको मत परिणाममा भने गठबन्धन एक हजार मतले अगाडि छ।
यस निर्वाचन क्षेत्रका ११ वटा वडामध्ये ६ वडा वडाका अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवारले जितेको छ। बाँकी पाँच वडाका अध्यक्ष एमालेले जितेको छ। वडा अध्यक्षहरूको मत जोड्दा नेपाली कांग्रेसले १९ हजार ८ मत पाएका थिए भने एमालेका वडाध्यक्ष उम्मेदवारले २१ हजार १०० मत पाएका थिए।
यस्तै नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले २ हजार ५३, माओवादी केन्द्रका उम्मेदवारले १ हजार १९८, राप्रपाका वडाध्यक्ष उम्मेदवारले २ हजार ७९ र अन्य उम्मेदवारले ७५० मत पाएका थिए।
कास्की–२ मा गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत जोड्दा कुल २२ हजार २५९ मत पुग्छ। यो एमालेले पाएको भन्दा १ हजार १५९ मत बढी हो। यस हिसाबले स्थानीय निर्वाचनको मत परिणामले गठबन्धन अघि देखिन्छ। तर एकीकृत समाजवादीलाई मतदान गरेका मतदाता एमालेमै फर्कनु र कांग्रेस मतदाता छरिँदा यस क्षेत्रमा एमाले अगाडि देखिएको छ।
कास्की– २ का अधिकांश मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य हुनुपर्ने बताएका छन्। एसइई परीक्षा दिनेबित्तिकै विद्यार्थी अध्ययनका लागि विदेश जाने र उतै पलायन हुने प्रवृत्ति रहेको उनीहरूका साझा चिन्ता छ। देशमै अध्ययन गरेर रोजगारीको व्यवस्था हुनुपर्ने पोखरा–११ का कुमार केसीले बताए।
यस्तै काहुँकोटका बासिन्दाले खानेपानीको समस्या मुख्य मानेका छन्।
स्थानीय भरत परियारले दुई दिन बिराएर धारामा एक घन्टा मात्र पानी आउने गरेको बताए।
'हामीलाई पानी चाहियो, नेताले भोट माग्न आश्वासन मात्र दिन्छन्,' उनले भने।
ग्रामीण क्षेत्रका मतदाताले समयमै मल पाउनुपर्ने, बाँदर नियन्त्रण, धुलाम्मे ग्रामीण सडक कालोपत्र लगायतका माग राखेका छन्। त्यस्तै मल नपाउँदा धान उत्पादन घटेको गुनासो पनि उनीहरूको छ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः १५- उपेन्द्रलाई हराएर सप्तरी-२ बाट सिके राउत चुनिने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषणः १४- काठमाडौं-२ मा सोबिता र मणिरामबीच कडा प्रतिस्पर्धा, 'रेड जोन'मा ओनसरी
सेतोपाटी निर्वाचन विश्लेषणः १३- धनुषा ३ मा स्थानीय जुली र बाहिरबाट आएका अनिल, कसले मार्ला बाजी?
सेतोपाटी निर्वाचन विश्लेषणः १२- धनराज गुरुङ र पद्मा अर्याललाई चुनौती बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज
सेतोपाटी निर्वाचन विश्लेषणः ११- भगवतीले यसपालि लगाउन सक्छिन् गच्छदारको सातौं संसदीय यात्रामा ब्रेक
सेतोपाटी निर्वाचन विश्लेषणः १०- गठबन्धनका महिन्द्र यादवलाई भन्दा राजेन्द्र महतोलाई कांग्रेसको मत धेरै!
सेतोपाटी निर्वाचन विश्लेषणः ९- लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो
सेतोपाटी निर्वाचन विश्लेषणः ८- एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न कति सजिलो?
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा