सेतोपाटी निर्वाचन विश्लेषणः धनुषा- ३
गत बिहीबार साँझ धनुषाको नगराइन नगरपालिका फूलगामाकी जिवछी साह हँसिया र बोरा लिएर ४/५ जनाको समूहमा घाँस काट्न जाँदै थिइन्। गाउँघरमा नेताहरूले भोट माग्न आउँदा भनेका कुरा सम्झिँदै उनीहरू आफ्नै तालमा हाँस्दै थिए।
हामीले चुनावी माहोलबारे कुरा गर्न आएको भन्दा सुरूमा कुनै दलको मान्छे भन्ठानेर उनीहरू हिच्किचाए। हाम्रो काम र उद्देश्य बताएपछि कुरा गर्न तयार भए।
जिवछीले खुलेरै भनिहालिन्, 'म त जुली महतोलाई भोट दिने। महिलाले पनि चुनाव जित्नुपर्छ।' उनको परिवारका सबैले जुलीलाई मत हाल्ने सहमति गरेका रहेछन्।
धनुषा क्षेत्र नम्बर ३ मा नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र धनौजी गाउँपालिका पर्छन् जनकपुरधाम उपमहानगरपालिकाको वडा १९ र विदेह नगरपालिकाका एउटा वडा पनि यही क्षेत्रमा पर्छ।
यहाँ एमालेकी उम्मेदवार जुली महतो हुन्। सत्ता गठबन्धनले भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झालाई समर्थन गरेको छ। राप्रपाले राम पदारथ मण्डललाई उठाएको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालबाट पनि हुसेन कवाडी उठेका छन्। त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टी नेपालबाट शम्भुनाथ साह उम्मेदवार छन्। यहाँ उमेश साहले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
मुख्य प्रतिस्पर्धा भने जुली महतो र अनिल झाबीच नै हुनेछ। हामीसँग कुरा गर्दै गरेका जिवछी र उनका संगीहरूले जुलीलाई नै मत दिने मन बनाइसकेका छन्।
‘जुली चुनाव हारे पनि हाम्रो गाउँमा आइरहन्छिन्। काम त उनले पनि केही गरेकी होइनन् तर गाउँमा केही दिनअघि आउँदा मेरो हालखबर सोधेकी थिइन्,' समूहमा भएकी सितादेवी साहले भनिन्, 'अनिल झा पनि लडेको छ भन्ने सुन्छु। तर हामीले कहिल्यै देखेको छैन। कस्तो मान्छे हो भन्ने सुनेको पनि छैन।’
हामीले यो क्षेत्रका १५४ मतदातासँग कुराकानी गर्यौं।
उनीहरूमध्ये सबभन्दा धेरै, अर्थात् ५७ जनाले एमालेकी जुलीलाई मत दिने बताए। त्यस्तै गठबन्धनको समर्थन पाएका अनिल झालाई पनि ४९ जनाले मत दिने बताए। १३ जनाले सिके राउतको जनमत पार्टीलाई मत दिने बताए। त्यस्तै दुई जनाले राप्रपा, दुई जनाले राष्ट्रिय स्वतन्त्र पार्टी र तीन जनाले अन्य दल र उम्मेदवारलाई भोट दिने बताए।
हामीले कुरा गरेमध्ये २८ जनाले भने कसलाई मत दिने भनेर निर्णय गरिनसकेको बताए। उनीहरूमध्ये १६ जनाले आफू नेपाली कांग्रेसको समर्थक रहेको बताए भने तीन जनाले जनता समाजवादी पार्टी (जसपा) को र दुई जनाले माओवादी केन्द्रको समर्थक रहेको बताए। सात जनाले भने कुनै पार्टीको नभएको बताए।
एमालेकी जुली महतोलाई मत दिनेमध्ये ३८ जनाले २०७४ सालको निर्वाचनमा राजेन्द्र महतोलाई मत दिएको बताए। महतो लोसपा र जसपाका साझा उम्मेदवार थिए।
त्यस्तै अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका विमलेन्द्र निधिलाई मत हालेका ११ जनाले यसपालि जुलीलाई मत दिने बताए। २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट माओवादीलाई भोट दिएका दुई जनाले यसपालि जुलीलाई मत दिने भएका छन्।उनलाई यसपालि मत दिने भनेका ६ जनाले भने अघिल्लो निर्वाचनमा कसलाई मत दिएको भन्ने बताउन चाहेनन्।
यसपालि गठबन्धनका अनिल झालाई मत हाल्ने बताएका २२ जनाले २०७४ सालमा कांग्रेसलाई मत दिएका थिए। त्यस्तै २५ जनाले राजेन्द्र महतोलाई दिएका थिए। यसपालि उनलाई मत दिन्छु भन्नेमध्ये दुई जना नयाँ मतदाता हुन्।
फूलगामाबाट एक किलोमिटर परको अर्को टोलमा बस्छन् उमेश र विश्वेश्वर साह। उनीहरू दाजुभाइ हुन्। हामी पुग्दा भर्खरै रोपेको आलुमा पानी हाल्दै थिए। उनीहरू दुवैले एमालेकी जुलीलाई मत दिने बताए।
अघिल्लो पटक उनीहरूले राजेन्द्र महतोलाई मत दिएका थिए। राजेन्द्रले किसानका लागि ठिकै काम गरेको उमेशले बताए।
‘मधेसी दलको लहरमा राजेन्द्रलाई नै भोट दिएँ। काम पनि ठिकै गरे। सिँचाइका लागि नदीमा फाटक र दालन बनाएका छन्,’ उनले भने, ‘यसपालि चाहिँ जुलीलाई नै भोट दिन्छौं किनकी न मधेसी दलको लहर छ न अनिल झालाई देखेको छु। जुलीको घरै यहीँ छ, उनले काम पनि गर्लिन् जस्तो लाग्छ। पहिले हारेर गए पनि बेलाबेला गाउँमा आइरहन्छिन्।’
नगराइन नगरपालिका-३ लगमा पछियारी टोलमा पनि पाँच-६ जनाको समूह चुनावी गफमा मस्त थियो।
उनीहरू सबै कांग्रेस समर्थक रहेछन्। तर यसपालि कांग्रेसको आफ्नो उम्मेदवार नभएकाले एमालेकी जुली महतोलाई मत दिन बाध्य भएको रामबाबु पासमानले बताए।
‘गठबन्धनका अनिलजी त यहाँ नयाँ छन्। हामी चिन्दै नचिनेको नयाँ उम्मेदवारलाई भोट हाल्दैनौं, उनले भने, ‘पार्टीका नेताहरूले अनिललाई नै भोट दिन भनेका छन् तर हामी मान्दैनौं। हुन त जुली पनि काम गर्ने राम्रो उम्मेदवार जस्तो लाग्दैन। हाम्रो टोलमा त उनको अनुहार हेर्न पनि सपना नै देख्नुपर्छ। तर उनका कार्यकर्ता एकदमै सक्रिय छन्। केही समस्या भयो भने तुरून्त सहयोग गर्छन्।'
गृहजिल्ला भएका कारण एमाले उम्मेदवार जुलीलाई यो क्षेत्रमा फाइदा हुने देखिएको छ।
धनुषा-३ मा वडाध्यक्षका उम्मेदवारले पाएको कुल मतमध्ये कांग्रेसको २२ हजार ४२८, एमालेको १७ हजार ९६, लोसपाको ८ हजार ७६३, जसपाको ८ हजार २४३, एकीकृत समाजवादीको ३ हजार ७१३ र माओवादीको ६५६ थियो।
यसरी गठबन्धनका हिसाबले अनिल झा पनि यहाँ बलियो नै देखिन्छन्।
जनकपुरधाम उपमहानगरपालिका- २० का ३२ वर्षीय विकास झाले गठबन्धनका अनिल झालाई मत दिने बताए। पेसाले इञ्जिनियर विकास कांग्रेसी हुन्। अघिल्लो चुनावमा विमलेन्द्र निधिलाई मत दिएका उनले अनिल झालाई मत दिने प्रमुख कारण गठबन्धन नै रहेको बताए।
तरधनौजी गाउँपालिका स्कुल टोलमा भेटिएका रामबाबु मण्डलले पनि अनिललाई भोट दिने बताए।
‘हामी त ज गर्दन काटिदिए पनि पार्टीले भनेकैलाई मत दिन्छौं,’ उनले भने।
केही मतदाताले भने जातीयताका आधारमा पनि पनि आफूले उम्मेदवार छान्ने बताए।
मधेश प्रदेशको प्रदेश सभा अगाडि पोखरी डिलमा बसिरहेका राजेन्द्र साहले सुडी समाजका लागि जुली महतोले राम्रो काम गरेकाले उनलाई मत हाल्ने बताए।
‘समाजको बैठक हुँदा धेरै खर्च उहाँले नै बेहोर्नुभएको थियो। हामीलाई केही पर्दा जुलीले नै अलि हेर्नुहुन्छ होला,' उनले भने।
नगराइन नगरपालिका देवडिहाका धिरेन्द्र झाले भने ब्राह्मण समुदायलाई सधैं यहाँबाट अपहेलना गरिएकाले यसपालि अनिल झालाई जिताएर पठाउने बताए।
‘हाम्रो १७ हजार मत छ। तर हामीलाई जहिले पनि अवसरबाट वञ्चित गरिन्छ। त्यसैले यसपालि आफ्नो जातका उम्मेदवारलाई जिताउँछौं,’ उनले भने।
नगराइन नगरपालिका घोडघासका सञ्जजय पासवान भने सिके राउतको पार्टीलाई मत दिने बताउँछन्। उनलाई त जनमत पार्टीको उम्मेदवारबारे थाहा पनि छैन। चुनाव चिह्न मात्र थाहा छ।
'हामी विदेशमा हुँदा सिके राउतका संगठनका व्यक्तिहरूले सहयोग गरिहरेका हुन्छन्। त्यसैले उनैलाई मत दिने,' उनले भने, 'सिके राउत आफैं नआए पनि उनका कार्यकर्ताले सबै गरिदिन्छन्। मलाई कम्पनीले काम नदिँदा खानै गाह्रो भएको थियो र उनकै कारण उद्धार भयो।’
सिके राउतलाई मत दिन्छु भन्नेमध्ये अधिकांश युवा कि विदेश गएर फर्केका हुन् कि बेरोजगार छन्।
जनकपुरधाम उपमहानगरपालिका १२ स्थित कुवाका धवेन्द्र पुर्वे पनि विदेशमा सहयोग गरेको र रोजगारीका लागि काम गर्नसक्ने नेता सिके राउत मात्र रहेकाले उनकै पार्टीका उम्मेदवारलाई भोट हाल्ने बताए।
रोजगारी नपाउने समस्याका कारण धनुषा क्षेत्र नम्बर ३ का मतदाता नेताहरूसँग आक्रोशित पनि छन्। खासगरी युवाहरू बेरोजगार भएर घरै बस्नुपर्ने कि विदेशिनुपर्ने बाध्यता हुँदा पनि नेताहरूले केही नगरेकोमा उनीहरू रूष्ट देखिए। पुराना नेता र दल पुगे पनि विकल्प नभएकाले तिनैलाई मत दिनुपर्ने बाध्यता भएको उनीहरूले बताए।
जनकपुरधाम लोहनाका मोहम्मद नासिरले काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङ जस्ता नेता भए भोट दिन मनलाग्ने थियो भने।
‘यहाँ हर्क र बालेनजस्तो कोहीँ छैन। अनिल झा रौतहटमा धेरैपटक जितिसकेका छन्। उनले केही गर्न सकेनन्। बरू जुली एकपटक हारेकै छन्। नजितेकालाई जिताउने मनसाय छ। उनले पनि काम गरिनन् भने यतिका दिन जसरी दुःख गर्यौं, पाँच वर्ष अझै गरौंला,’ उनले भने।
मतदाताहरूको कुरा सुन्दा एमालेकी जुली महतोलाई गृह जिल्लाकी उम्मेदवार भएका कारण फाइदा हुने देखिन्छ। तर गठबन्धनका अनिल झाले पनि जुलीसँग टक्कर हुने गरी मत तान्न सक्ने देखिन्छ।
त्यस्तै हामीले कुरा गरेका करिब डेढ सय मतदातामध्ये २६ जनाले अहिलेसम्म निधो नगरेको बताएका छन्। उनीहरूमध्ये १६ जना कांग्रेस समर्थक हुन्। त्यसैले अनिर्णीत संख्याले दिने मतले पनि जुली र अनिलको कसको पल्ला भारी हुन्छ भन्नेमा प्रत्यक्ष प्रभाव राख्ने देखिन्छ।
त्यसैगरी यसपालि समानुपातिकतर्फ ४५ जनाले कांग्रेस, १३ जनाले लोसपा, २२ जनाले जनमत पार्टी, ११ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी, १२ जनाले एमाले, ६ जनाले जसपा, ४ जनाले राप्रपा, ४ जनाले लौरोलाई मत दिने बताए। बाँकी भने अनिर्णीत र भन्न नचहानेहरू थिए।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः १२- धनराज गुरुङ र पद्मा अर्याललाई चुनौती बन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज
सेतोपाटी निर्वाचन विश्लेषणः ११- भगवतीले यसपालि लगाउन सक्छिन् गच्छदारको सातौं संसदीय यात्रामा ब्रेक
सेतोपाटी निर्वाचन विश्लेषणः १०- गठबन्धनका महिन्द्र यादवलाई भन्दा राजेन्द्र महतोलाई कांग्रेसको मत धेरै!
सेतोपाटी निर्वाचन विश्लेषणः ९- लालबाबुको घट्दो 'क्रेज' ले यसपालि शेखरलाई सजिलो
सेतोपाटी निर्वाचन विश्लेषणः ८- एमालेका महासचिव शंकर पोखरेललाई चुनाव जित्न कति सजिलो?
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा