सेतोपाटी निर्वाचन विश्लेषणः मकवानपुर-१
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग अप्रत्याशित रूपमा पराजित भएपछि कमल थापाले आफैंले बनाएको पार्टी नै छाडे। त्यसपछि उनले राजाकालमा गठन गरेको राप्रपा-नेपाल ब्युँत्याउने कोशिस गरे। देश दौडाहा गरे। तर राप्रपा-नेपालले खुट्टा टेक्ने छाँट ल्याएन।
यही चुनावको मुखमा आएर उनले एमालेसँग सम्झौता गरे– एमालेले मकवानपुर- १ उनलाई छाडिदिने र उनी सूर्य चिह्न लिएर लड्ने।
सूर्य चिह्न लिएर सांसद बन्ने भनेको कानुनी रूपमा एमालेकै सांसद बन्ने हो। संसदमा उनलाई सो दलको ह्वीप लाग्छ। थापा सांसद बन्न यसपालि कति लालायीत छन् भन्ने यसले पनि देखाउँछ।
यति ठूलो सम्झौता गरेर सांसद बन्ने कोशिसमा लागेका थापाका लागि मकवानपुर- १ मा सजिलो देखिएको छैन। उनले एकातिरबाट आफ्नै पूर्व राजनीतिक सहयात्री दीपक सिंहको कडा चुनौती बेहोरेका छन् भने अर्कोतिरबाट गठबन्धनका उम्मेदवार तथा कांग्रेस नेता महालक्ष्मी उपाध्याय 'डिना' को।
पछिल्ला तीन दिनदेखि मकवानपुरका-१ का थुप्रै गाउँ, टोल र वडा पुगेर हामीले २ सय ६२ जना मतदातासँग कुरा गर्दा यहाँ तीन उम्मेदवारबीच कडा टक्कर हुने देखिन्छ।
हामीले कुरा गरेका २ सय ६२ मध्ये ६७ जनाले (२५.५ प्रतिशत) राप्रपाका दीपकबहादुर सिंहलाई मत दिन्छु भनेका छन्। कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनालाई मत दिने ६३ जना (२४ प्रतिशत) छन् भने थापालाई मत दिन्छु भन्ने ५५ (२०.९ प्रतिशत) छन्। यसले यो प्रतिस्पर्धा कति पेचिलो छ भन्ने देखाउँछ।
थापालाई सबभन्दा ठूलो चुनौती आफ्नै पूर्व राजनीतिक सहयात्री दीपकबहादुर सिंहको छ।
मकवानपुरमा राप्रपाको राजनीतिक संगठन पञ्चायतकालदेखि नै सत्ता राजनीतिमा रहेका थापाकै कारण बनेको हो। बहुदल कालमा पनि उनी यहाँबाट धेरै पटक चुनाव लडेका छन्। जीत भने उनलाई २०५१ सालमा मात्रै हात लागेको थियो। पछिल्ला २८ वर्षमा उनले यहाँबाट जितेका छैनन्। एमालेको बलियो संगठन रहेको यो क्षेत्रबाट सो पार्टीको साथ पाए आफ्नो मत जोडेर जित्ने थापाको रणनीति हो। तर यसपालि राप्रपाका परम्परागत अधिकांश मतदाताहरूले पार्टीका आधिकारिक उम्मेदवार दीपक सिंहलाई साथ दिएका छन्। त्यसैले थापा अप्ठ्यारोमा परेका छन्।
थापालाई राप्रपाका मतदाताको एउटा हिस्साको साथ भए पनि हामीले कुरा गरेका र राप्रपालाई मत दिँदै आएका अधिकांश मतदाता थापासँग निकै आक्रोशित देखिए।
हेटौंडा उपमहानगरपालिका-१४ चौधघरेका रामहरि मैनालीले अहिलेसम्म धेरैपटक राप्रपालाई मत दिएका छन्। तर जहिले पनि मत खेर गएको उनको अनुभव छ। आफूले सधैं मानेका नेताले एमालेको चुनाव चिह्न लिएर निर्वाचन लडेपछि उनले थापालाई छोडेका छन्। राप्रपा छोड्ने पक्षमा भने उनी छैनन्।
‘भूकम्पको बेलामा मेरो घर भत्कियो तर राप्रपा भनेर मलाई राहत दिएनन्। यसपटक त थापा अन्तै लागेका छन्,’ उनले भने, ‘एकातिर गठबन्धन छ अर्कोतिर हामी छौं। थापाले त कुनै हालतमा जित्लान् जस्तो लाग्दैन। डिनासँग दीपक सिंहको प्रतिस्पर्धा हुन्छ होला।’
राप्रपालाई मत दिँदै आएका कतिपयले थापाकै कारण यसपालि अर्को पार्टी रोजेका छन्। त्यसैमध्ये हुन् हेटौंडा-७ न्यूरेनीकी निर्मला घिमिरे। उनले थापाका कारण अब राप्रपा नै छोडेको बताइन्।
‘म विगतमा कमल थापाकै कार्यकर्ता थिएँ। उहाँले गीता छोएर पार्टी नफुटाउन खाएको कसम समेत तोड्नुभयो। उहाँमा विश्वसनीयता भन्ने रहेन,’ उनले भनिन्, ‘दीपक सिंहले यहाँबाट जिते भ्रष्टाचार त नगर्लान् तर गुण्डागर्दी भने झन् बढ्छ। त्यसैले मैले यसपटक डिना दिदीलाई मत दिने सोच बनाएकी छु।’
यसरी राप्रपाका कार्यकर्ता र मतदताको ठूलो हिस्सा आफूतिर तान्न नसकेपछि थापाको सबैभन्दा ठूलो तागत भनेका एमालेका परम्परागत मतदाता हुन्। एमालेका धेरै मतदाताले उनलाई मत दिने देखिन्छ। त्यसले नै उनलाई पनि यहाँ बलियो प्रतिस्पर्धी बनाएको छ। र यो निर्वाचन क्षेत्रमा त्रिपक्षीय टक्करको स्थिति उत्पन्न भएको छ।
थापाले एमालेकै सबै कार्यकर्ता तथा शुभचिन्तकको हार्दिकता भने पाएका छैनन्। एमालेका असन्तुष्ट मतदातामध्ये धेरैले दीपकबहादुर सिंहलाई मत दिने देखिन्छ। कांग्रेसलाई नै मत दिँदै आएका कतिपय मतदाताले पनि यसपालि सिंहलाई मत दिने बताए। राप्रपाको मत र अरू दलको मत तान्न सक्ने व्यक्तिगत लोकप्रियता नै सिंहको सबैभन्दा ठूलो पुँजी हो।
पार्टीले निर्णय गरेका कारण थापालाई भोट दिनैपर्ने भए पनि एमाले कार्यकर्ता तथा शुभचिन्तकमा असन्तुष्टि रहेको हेटौंडा-५ का कृष्ण खतिवडाले बताए।
‘कमल थापालाई उम्मेदवार बनाएकोमा पार्टीमा आक्रोश छ। अस्ति पनि गलत मानिसलाई मेयरको उम्मेदवार बनाउFदा पार्टी पराजित हुनुपर्यो,’ खतिवडाले भने, ‘मैले त एमालेलाई नै मत दिन्छु किनकि पार्टीको निर्णय मान्नुपर्छ।’
हेटौंडा-८ कमानेका धर्मदत्त कुइँकेलले गएको स्थानीय चुनावमा पनि घमन्डका कारण एमाले स्थानीय तहमा हारेको बताए। यसपालि एमालेले गल्ती गरेको उनले बताए।
‘एमालेमा घमन्ड भएर हारेको हो। लौरो उठाए पनि जित्छ भन्ने परेको छ,’ उनले भने, ‘मैले त सधैं एमालेले मत दिए पनि यसपटक राप्रपालाई भोट दिने निर्णय गरेको छु।’
हामीसँगको कुराकानीमा दीपक सिंहलाई मत दिन्छु भन्ने ६७ मध्ये २२ जनाले विगतमा एमालेलाई भोट दिएको बताएका छन्। यसरी सिंहले पाउने मतको झन्डै ३३ प्रतिशत एमालेबाट आउने देखिन्छ। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा सिंह राप्रपाको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा उठेका थिए। उनले त्यो बेला पनि लोकप्रियताका कारण २० हजार ५ सय ३१ मत पाएका थिए। जबकि एमालेका अनन्त पौडेलले २० हजार ९ सय मत ल्याएका थिए। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले २३ हजार ७५ पाएकी थिइन्।
सिंहलाई यसपालि मत दिन्छु भन्ने ६७ जनामध्ये १५ जनाले विगतमा नेपाली कांग्रेसलाई भोट दिएको बताए। सिंहलाई मत दिन्छु भन्नेमध्ये ३ जनाले पनि विगतमा माओवादी केन्द्रलाई मत दिएको बताए।
पार्टीको वैचारिक आधार र संगठनका कारण कांग्रेस र एमालेको चिह्नमा उठेका थापा स्वाभाविक रूपमा दाबेदार भए पनि आफ्नो लोकप्रियताकै कारण एमाले र कांग्रेसको मत तानेर सिंह पनि बलियो प्रतिस्पर्धी बनेका छन्।
मतदाताले उनलाई मुख्य दुई कारणले मत दिन्छु भन्छन्।
पहिलो, उनी लोभलालच नभएका नेता हुन्।
हेटौंडा १५ का राम थापाले भने, ‘भोको बाघले धेरै खान्छ, अघाएको बाघले थोरै खान्छ भनेर रूपचन्द्र विष्टले
भनेका थिए। दीपक सिंह अघाएको बाघ हो। उसलाई भ्रष्टाचार गर्न जरूरी छैन।’
आफूले राम्रो काम गरेर मलामी कमाउन मात्र चाहेको भन्ने दिपक सिंहको कुराले उनलाई छोएको छ।
‘सिंहले राप्ती खोलाका ढुंगासरी मलामी कमाउन जनताको सेवा गर्ने भनेका छन्,’ उनले थपे।
बकैया ७ की कविता राईले पनि यसपटक दीपक सिंहलाई भोट दिने सोच बनाएकी छन्।
‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भनेको छ। अरूले धेरैपटक जितेकै छन्। उसले एकपटक जितेर के भयो त?,’ उनले भनिन्।
सिंहले यसरी व्यक्तिगत लोकप्रियताले मतदातालाई ताने पनि यहाँ संगठन भने कांग्रेस, एमाले र माओवादीकै छ। प्रतिस्पर्धी देखिएको चुनावमा अन्तिम घडीमा संगठनले पनि अर्थ राख्छ। कार्यकर्ता र मतदाता परिचालनमा ठूलो मद्दत पुग्छ। राप्रपाको प्रभाव र संगठन कम हुनुका कमजोरी उनले निजी तागतकै आधारमा भर्नुपर्ने हुन्छ।
गठबन्धनकी उम्मदेवार डिना उपाध्यायको उपस्थिति पनि यहाँ जबरजस्त छ। गत स्थानीय निर्वाचनमा वडा तहमा दलहरूले पाएको मत हेर्दा गठबन्धन अगाडि छ। यो निर्वाचन क्षेत्रमा माओवादीको पनि राम्रै मत छ। हामीले कुरा गरेका धेरै माओवादी समर्थक मतदाताले यसपालि गठबन्धन उम्मेदवार डिनालाई मत दिने बताए।
डिनाको स्थिति पनि बलियो नै रहेकाले मकवानपुर-१ मा यसपालि त्रिपक्षीय भिडन्त हुने देखिन्छ।
हेटौंडाका चोकमा भेटिएका जोकोहीलाई मकवानपुर क्षेत्र नम्बर १ को चुनावी माहोलबारे सोध्यो भने फ्याट्ट भन्दिन्छन्- यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ!
जसले जिते पनि यहाँ थोरै मतको मात्र अन्तर हुने उनीहरू बताउँछन्।
हामीले मतदातासँग गरेको कुराकानी र उनीहरूले दिने भनेको मत जोडदा पनि त्यो प्रष्ट देखिन्छ।
यो क्षेत्रमा बागमती गाँउपालिका, बकैया गाँउपालिका, हेटौंडा उपमहानगरपालिकाका- १, ३, ११ र १९ बाहेकका अरू १५ वटा वडा, मकवानपुरगढीका १ देखि ४ सम्मका वडा पर्छन्।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाको मतलाई आधार मान्ने हो भने एमालेले सबैभन्दा धेरै ल्याएको छ। उसको मत ३८ हजार ५६ छ। नेपाली कांग्रेसले ३४ हजार ७२ मत ल्याएको छ। नेकपा माओवादी केन्द्रको १६ हजार ५ सय ४२ र नेकपा एकीकृत समाजवादीको ३ हजार २ सय ८३ मत छ। राप्रपाले ४ हजार ७० मत मात्रै पाएको छ। यसरी यहाँ गठबन्धनको मत अरूको भन्दा धैरै छ।
२०७४ को निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ २८ हजार ८ सय ८४, नेपाली कांग्रेसले १६ हजार ८ सय २२, राप्रपाले १५ हजार १ सय ७१ र नेकपा माओवादी केन्द्रले ११ हजार ५ सय ४३ मत पाएको थियो।
हामीसँगको कुराकानीमा कांग्रेसलाई मत दिन्छु भन्ने ६३ जनामध्ये सबैजसो सो दलकै परम्परागत मतदाता हुन्। कांग्रेसलाई मत दिन्छु भन्ने ६३ मध्ये ५ जना मात्र माओवादी समर्थक छन्। कांग्रेसलाई भोट दिने अधिकांशले विगतदेखि नै आफू कांग्रेस रहेकोले भोट दिएको बताए।
हेटौंडा-२ पारिजात टोलका पुरुषोतम पुडासैनीले डिना उपाध्याय कांग्रेसको पदाधिकारी, महिला र जितेमा मन्त्री हुने भएकाले आफूले भोट दिने बताए। उनी कांग्रेसको निर्वाचित सहमहामन्त्री हुन्।
बकैया-५ शिरपुरकी सितामाया जिम्बाले पनि पहिलादेखि नै कांग्रेसलाई भोट दिएकाले यसपटक उसैलाई भोट दिने बताइन्। सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीको मत पनि ठूलो संख्यामा ‘ट्रान्सफर’ भयो भने कडा टक्करबीच पनि डिनाले जित निकाल्ने छिन्। तर कांग्रेसकै केही नेता कार्यकर्ता डिनाको जीतका लागि केही जटिलता भएको तर्क गर्छन्।
कांग्रेसका कतिपय समर्थकहरूले कांग्रेसका बागमती प्रदेश सभापति एवम् मकवानपुर क्षेत्र नम्बर २(ख) का उम्मेदवार इन्द्र बानियाँले डिनालाई पूरै तागत लगाएर समर्थन गर्नेमा शंका गर्छन्। बानियाँ सम्भवतः मकवानपुर कांग्रेसमा अहिले सबभन्दा लोकप्रिय नेता हुन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग निकट उनी कांग्रेसले चुनाव जितेर बागमती प्रदेश आफ्नो भागमा राखेको खन्डमा प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा छन्। डिना पनि देउवानिकट नेता नै हुन्। २०४८ सालमा युवा अवस्थामै संसदको चुनाव लडेकी उनी मकवानपुरमा पुरानो कांग्रेसी नेता हुन्। डिना र बानियाँबीच मकवानपुर कांग्रेसमा नजानिँदो प्रतिस्पर्धा रहेको कतिपयको धारणा छ।
बागमती ७ पाथिभराका विमल राईले कांग्रेसको नेता इन्द्र बानियाँलाई मात्रै कांग्रेसी नेताका रूपमा आफूले चिनेको र यसपटक उनलाई अहिलेसम्म नदेखेको बताए।
‘हुन त म कांग्रेस हो। तर मैले चिनेको इन्द्र बानियाँलाई मात्र हो। उहाँ यता आउनुभएको छैन,' उनले भने, ‘नयाँ उम्मेदवारलाई हेर्नुपर्छ भन्ने लागेको छ। यसपटक घन्टीलाई दिनुपर्छ होला।’
हेटौंडा- १२ सिग्रेनीका पूर्णप्रसाद पुडासैनीले पनि इन्द्र बानियाँले डिनालाई असहयोग गर्ने हो कि भन्ने हल्ला चलेको बताए।
‘डिनाको जीतका लागि पार्टी एक हुनुपर्छ। हाम्रै पार्टीको मत जोगाउनुपर्छ भन्ने हो,’ कांग्रेसको पूर्व अध्यक्ष समेत रहेका उनले भने, ‘डिनालाई इन्द्र बानियाँको असहयोग हुन्छ भनेर हल्ला फैलाइएको छ। डिनाको जीत
सुनिश्चित छ।’
मकवानपुरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मत दिन्छु भन्ने केही मानिस भेटिए। हामीले कुरा गरेका मध्ये १५ जनाले सो दलका उम्मेदवार टिकाराज थापालाई मत दिन्छु भने। यो संख्या हामीले कुरा गरेका मतदाताको ५ प्रतिशत हो।
कसलाई मत दिने निर्णय गर्न नसकेका मतदाताको संख्या अहिले पनि यहाँ उल्लेख्य छ। हामीले कुरा गरेका २६२ मध्ये ६२ जनाले (२४ प्रतिशत) कसलाई मत दिने अझै तय गर्न नसकेको बताए। तीन जनाबीच प्रतिस्पर्धा कडा हुने भएकाले यो मत कसलाई धेरै जान्छ, त्यसले नै जित्ने सम्भावना हुन्छ।
त्यसमा पनि यहाँ दुइटा तर्क छन्। व्यक्तिगत लोकप्रियताका कारण अहिले अनिर्णीत धेरै मत दीपकबहादुर सिंहले तान्छन् भन्ने एउटा तर्क छ। राप्रपालाई मत दिनेहरू खुलिसकेको र कांग्रेस, एमालेका केही मतदाता अहिले पनि अन्यौलमा देखिएको कतिको तर्क छ। चुनाव नजिकिँदै गर्दा कांग्रेस-एमालेले त्यो मत आफ्नै उम्मेदवारलाई फर्काउन सक्छन् भन्ने उनीहरूको जिकिर छ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा