सेतोपाटी निर्वाचन विश्लेषण: स्याङ्जा-२
परम्परागत रूपमा कांग्रेस र एमालेबीच द्विपक्षीय प्रतिस्पर्धा हुने गरेको स्याङ्जा-२ मा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै दललाई चुनौती खडा गरेको छ।
कांग्रेस र एमालेका कतिपय परम्परागत मतदातालाई आफूतिर तानेपछि स्वततन्त्र पार्टीका टिकराज गुरुङ पनि प्रतिस्पर्धी देखिएका छन्।
यो निर्वाचन क्षेत्रमा पर्ने नगर र गाउँका वडाहरूमा पुगेर १८० मतदातासँग कुरा गर्दा कांग्रेका धनराज गुरुङलाई भोट दिन्छु भन्ने ४२ जना भेटिए। उनकै हाराहारीमा पद्मा अर्याललाई ३९ जनाले मत दिन्छु भने। राष्ट्रिय स्वतन्त्र पार्टीका गुरुङलाई मत दिन्छु भन्ने पनि ३२ जना भेटिए।
विगतमा कांग्रेसलाई मत दिएका १६ जनाले यसपटक स्वतन्त्र पार्टीलाई मत दिने बताए। यस्तै विगतमा एमालेलाई मत दिएका १२ जनाले यसपटक घन्टीमा भोट हाल्ने बताए।
यस हिसाबले स्याङ्जा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङलाई १७.७८ प्रतिशत उत्तरदाताले रोजेको भेटियो भने कांग्रेस उम्मेदवार धनराज गुरूङलाई २३.३३ प्रतिशतले मत दिने बताए। यस्तै एमालेकी पद्मा अर्याललाई २१.६७ प्रतिशतले मत दिने जवाफ दिए।
कतिपय मतदाताले कसलाई मत दिने भनेर अझै निर्णय गरिसकेका छैनन्। पहिला कांग्रेसलाई मत दिएका तर यसपटक कस्लाई मत दिने भनेर १४ जना खुल्न चाहेनन्।
विगतमा एमालेलाई मत दिएका तर यसपालि कसलाई मत दिने भनेर १० जना खुलेनन्। सबैभन्दा ठूलो संख्या ४० जनाले विगतमा कसलाई मत दिए र यसपालि कसलाई मत दिने भनेर बताउन चाहेनन्।
यसरी खुल्न नचाहेका कुल मतदाता ६४ जना भेटिए, जुन ३५.५६ प्रतिशत हो।
स्याङ्जा–२ मा यी अनिर्णीत मतदाताको मन अन्तिममा जसले जित्न सक्छ, उही निर्वाचित हुने निश्चित छ।
स्वतन्त्र पार्टीलाई मत दिन तम्सिएका कतिपय मतदाता उत्साही देखिन्छन्।
वालिङ नगरपालिकाको त्रियासी चोकमा भेटिएका विष्णुबहादुर थापा अटो चलाउँछन्। रवि लामिछाने वालिङ पुगेर सम्बोधन गरेपछि उनले पार्टी सदस्यता लिएका छन्। अटोको पछाडि रवि लामिछाने र स्याङ्जा–२ का स्वतन्त्र पार्टी उम्मेदवार टिकराज गुरुङको फोटोसहित भोट मागिएको ब्यानर टाँगेका छन्।
नेपाली कांग्रेसमा आवद्ध परिवारका थापाले २०७४ सालमा प्रत्यक्षमा एमालेकी पद्मा अर्याललाई मत दिएको बताए। त्यति बेला समानुपातिकमा भने नेपाली कांग्रेसलाई नै मत दिएका थिए। २०७४ मा तत्कालीन कांग्रेस उपसभापति गोपालमान श्रेष्ठका विरूद्ध पद्मालाई मत दिएको बताएका उनले वैशाख ३० को स्थानीय निर्वाचनमा पनि मेयरमा एमाले उम्मेदवार कृष्णलाई मत दिएको बताए।
‘त्यति बेला विकल्प थिएन, अहिले विकल्प छ,’ उनले भने, ‘अब प्रत्यक्ष र समानुपातिक दुवै मत घन्टीमा हाल्ने हो।’
अहिले अवस्था फेरिएको छ। गोपालमान विरूद्धको मतले निर्वाचित एमाले नेता पद्मा नेकपा सरकार रहिन्जेल मन्त्री भइन्। तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई सुरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए। संसद विघटन पश्चात ओलीले उनलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा सरूवा गरेका थिए।
‘मन्त्री भएर पनि जिल्लामा केही काम गरिनन्, आफ्ना आसेपासे र कार्यकर्ता मात्र पोसिन्,’ थापाले भने, ‘यो बाटो (सिद्धार्थ राजमार्ग) हेर्नुस्, काम गरेको भए यस्तै हुन्थ्यो?’
सिद्धार्थ राजमार्ग चार लेनको बनाउने भनेर सडक किनारका केही घर टहरा भत्काएर पनि काम नगरेको त्रियासीकै अर्का स्थानीय भूपराज रेग्मीले बताए।
‘बाटो बनाउने भनेर मेरो तरकारी, फलफूल पसलको टहरा हटाइदिए,’ उनले भने, ‘बाटो बनाउने बेला भत्काउन भनेको भए म आफैं भत्काउँथे, भत्काएर छाडे, अहिलेसम्म बाटो बनाएनन्।’
नेपाली कांग्रेसका पुरानो क्रियाशील सदस्य रहे पनि अहिले सदस्यता नवीकरण नगरेको रेग्मीले बताए। कांग्रेसलाई मतदान गर्दै आए पनि यसपटक स्वतन्त्र पार्टीका उम्मेदवार टिकराजलाई मत दिने उनले बताए। उनलाई घन्टी चिह्नमा मतदान गराउन उनका छोरा शम्भुले मनाएका हुन्।
‘कांग्रेस र एमालेलाई हेर्यौं, अब घन्टीलाई हेर्ने हो,’ भूपराजका छोरा शम्भुले भने, ‘हाम्रो पूरै परिवारको भोट घन्टीमा जान्छ।’
वालिङ नगरपालिकामा स्वतन्त्र पार्टीप्रति आकर्षित युवाहरू आफू मात्र होइन, परिवार र छरछिमेकमा पनि प्रचार गरिरहेका छन्। मत मागिरहेका छन्। स्वतन्त्र पार्टीमा लागेका अधिकांश युवाहरू रोजगारीका लागि विदेश गएर फर्किएका छन्।
त्रियासीका विष्णु थापा सन् २०११ मा वैदेशिक रोजगारीका लागि साउदी पुगेका थिए। त्यसपछि २०१५ मा इराक पुगे। इराकबाट फर्केर सन् २०१९ मा फेरि इराक जान खोज्दा दलालको फन्दामा परेको थापाले बताए।
‘त्यति बेला इराक जाने भनेर मेरो १८ लाख डुब्यो,’ उनले भने, ‘त्यसपछि गाउँमा कुखुरा फार्म खोलेँ। वालिङमा कामना सेवा विकास बैंकमा सुरक्षा गार्डको जागिर पाएपछि फार्म छाडेँ।’
बैंकबाट ऋण लिएर अटो चलाउन थालेका उनले यसअघि कहिल्यै रवि लामिछानेसँग भेटेका थिएनन्। कुनै पनि माध्यमबाट कुरा गरेका थिएनन्। उनले लामिछानेको टेलिभिजन कार्यक्रम हेरेका थिए। वालिङमा लामिछानेलाई स्वागत गरेपछि खुलेर स्वतन्त्र पार्टीको प्रचारमा लागेको बताए।
वालिङ–८ वालिङ बजारका उत्तम खनाल पनि अहिले स्वतन्त्र पार्टीको उम्मेदवार जिताउन चुनावी मैदानमा ओर्लिएका छन्। २०७४ मा एमालेकी पद्मा अर्याल, बैशाख ३० को स्थानीय निर्वाचनमा एमालेकै मेयर कृष्ण खाँण जिताउन लागेका खनाल पुराना पार्टीले काम नगरेका कारण नयाँ पार्टी रोजेको बताए।
‘पुरानाले काम गरेनन्, भ्रष्टाचार बढेर गयो,’ उनले भने, अवस्था बदल्न मत बदलेका हौं।’
स्वतन्त्र पार्टीबाट स्याङ्जा–२ का उम्मेदवार टिकराज गुरुङ स्थानीयमाझ लोकप्रिय रहेको खनालले बताए। स्थानीय आदर्श मावि र क्याम्पसमा ३२ वर्षदेखि अध्यापन गर्दै आएका टिकराज स्थानीय रेडियो आँधीखोला र वालिङ टेलिभिजनका कार्यक्रम प्रस्तोतासमेत हुन्।
निमुखा मिर्गौला पीडितको उपचार गर्न आर्थिक संकलन जस्ता अभियानमा जोडिएका टिकराजलाई शिक्षण छाडेर उम्मेदवार बन्न आफूहरूले नै कर गरेको खनालले बताए।
‘टिकराज गुरुङ स्वतन्त्र र यहाँ लोकप्रिय हुनुहुन्छ,’ उनले भने, ‘हामीले नै कर गरेपछि शिक्षकबाट राजीनामा दिएर चुनावमा होमिनुभएको हो।’
यो निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै मतदाता रहेको वालिङ नगरपालिकाका मतदाताले मुख्य समस्या सिद्धार्थ राजमार्गको धूलो, धुँवा र खाल्डाखुल्डी भनेका छन्। त्यसपछि दोस्रो समस्यामा स्वास्थ्यको छ। नगरपालिकामा एउटा पनि अस्पताल नहुँदा सामान्य उचार गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन्।
यी समस्या कांग्रेस र एमालेले समाधान गर्ला भनेर उनीहरूले विश्वास गरेका छैनन्। स्वतन्त्र पार्टीलाई पनि उनीहरू शंकाको दृष्टिले हेर्छन्।
‘कांग्रेस र एमालेले गर्दैन, स्वतन्त्र पार्टीले के गर्छ हेरौं न,’ खनालले भने।
कांग्रेसको परम्परागत किल्ला मानिएको वालिङ नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका छन्। जबकि २०७४ मा वालिङ नगरपालिका कांग्रेसको पकडमा थियो। यस्तै एमालेको पकड रहेको गल्याङ नगरपालिकामा वैशाख ३० को स्थानीय निर्वाचनमा कांग्रेसले जितेका छन्। सिद्धार्थ राजमार्गको दुरावस्थाको रिस मतदाताले स्थानीय निर्वाचनमार्फत पोखेका छन्।
मतदाताले उक्त एजेन्डा अहिले पनि उठाइरहेका छन्। वालिङ नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ देखिएको युवा लहर यसैको परिणाम रहेको वालिङ–९ भुम्रेका युवा राजु श्रेष्ठले बताए।
‘राजमार्गमा धुँवाधूलो छ, खाल्डाखुल्डी पुरिएका छैनन्,’ उनले भने, ‘चुनाव जित्न सलल गाडी गुड्ने बाटो बनाउँछु भनेर जित्ने, तर काम नगर्नेलाई भोट दिन्नौं।’
बुटबल–पोखरा जोड्ने सिद्धार्थ राजमार्गका ८२ किलोमिटर सडक स्याङ्जा–२ मा पर्छ। साँघुरो राजमार्गका घुम्ती, भत्किएका सडक र खाल्डाले यस क्षेत्रका अधिकांश मतदाता आजित भएको देखिन्छ।
वालिङका अर्का मतदाता इन्द्रबहादुर थापाले सिद्धार्थ राजमार्गपछि वालिङको दोस्रो समस्या अस्पतालको अभाव रहेको बताए।
‘यहाँका महिला सुत्केरी गराउन पनि पोखरा लैजानुपर्छ, एम्बुलेन्समा जाँदा पनि ३ घन्टा लाग्छ,’ उनले भने, ‘कति बिरामी जाँदाजाँदै बाटैमा मर्छन्, चुनाव जितेर गएपछि नेताले मतलब राख्दैनन्।’
स्याङ्जा–२ मा सबैभन्दा धेरै मतदाता सिद्धार्थ राजमार्गका आसपास बस्छन्। गल्याङ र वालिङ नगरपालिका बीचमा रहेको यस राजमार्गको दुरावस्थाको परिणाम स्थानीय निर्वाचनमा पनि देखिएका छन्। यस्तै गल्याङ नगरपालिकाको केन्द्र गल्याङ बजारमा सिद्धार्थ राजमार्गमा ढल व्यवस्थापनको समस्या मुख्य रहेको स्थानीय मतदाताले बताएका छन्। गल्याङका ३५ वर्षीय कमला गैरेले राजमार्गको ढल व्यवस्थित हुन नसक्दा बजार समस्यामा रहेको बताए।
गल्याङकै अर्का युवा २१ वर्षीय सुमन भट्टराईले नगरपालिकामा एउटा पनि पुस्तकालय नरहेको बताए।
‘यहाँका उम्मेदवारले नगरपालिकामा पुस्तकालय बनाउने एजेन्डा पनि उठाउँदैनन्,’ उनले भने, ‘साना साना काम गर्न भुलेर नेताहरू गर्नै नसक्ने आश्वासन मात्र दिन्छन्।’
विवेकशील साझा पार्टी गण्डकीका संयोजकसमेत रहेका भट्टराई गत स्थानीय निर्वाचनमा गल्याङमा खुलेर कांग्रेस उम्मेदवारलाई सघाएको बताए। तर यसपालि पार्टी निर्णय गरेर कसैलाई पनि सहयोग नगर्ने उनको भनाई छ। प्रतिनिधि सभा सदस्यमा पार्टीबाट कोही पनि उम्मेदवार नभएकाले यसपटक उनले कांग्रेस उम्मेदवार धनराजलाई मत दिने बताए।
‘धनराजले भ्रष्टाचारको विरोध गरेका छन्, नैतिकता र आदर्शका कुरा गर्छन्,’ उनले भने, ‘यसपटक उहाँले मत दिएर हेर्ने हो।’
कालिगण्डकी गाउँपालिका–७ की उमा भुजेलले विगतमा एमालेलाई मतदान गरेको बताइन्। यसपटक घन्टीमा दिने विचार गरेकी छिन्।
उनले भनिन्, ‘कांग्रेस र एमालेले देश लुटेर भ्याए, यसपटक त घन्टीमा दिने हो।’
वालिङ नगरपालिकामा देखिएजस्तो स्वतन्त्र पार्टीप्रतिको आकर्षण स्याङ्जा–२ का अन्य ठाउँमा देखिएन। प्रतिनिधि सभाका लागि स्याङ्जा–२ मा वालिङ नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४ पर्छ। यस्तै चापाकोट, गल्याङ र भिरकोट नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ पर्छ भने कालिगण्डकी गाउँपालिका पनि स्याङ्जा–२ मा पर्छ।
चापाकोट नगरपालिका–९ का प्रेम भुजेलले पुराना पार्टीले काम नगरेका कारण यसपालि घन्टीमा भोट हाल्ने बताए। यसअघि कांग्रेसलाई मत दिएको बताएका २९ वर्षीय भुजेलले अरू सबै सत्तामा गएपछि भ्रष्टाचारमा लिप्त हुने र गाउँको विकासमा काम नगर्ने भएकाले नयाँ पार्टी रोजेको बताए।
चापाकोटको बजार क्षेत्रका मतदाताले कांग्रेस र ग्रामीण क्षेत्रका मतददाताले एमाले रोजेका छन्। उनीहरू पहिल्यैदेखि मत दिएको पार्टीलाई नै अहिले पनि मत दिने बताएका छन्। चापाकोट–१० छापका कृष्णबहादुर हिसीले सधैं एमालेलाई मत दिएको बताए।
‘हाम्रो भोट अहिले पनि एमालेमै जान्छ,’ उनले भने, ‘अरू दललाई भोट हाल्दैनौं।’
चापाकोट–१० का पिताम्बर बस्यालले पहिल्यैदेखि कांग्रेस भएको बताए।
उनले भने, ‘कांग्रेसबाहेक अरुलाई अहिलेसम्म भोट हालेको छैन, यसपालि पनि त्यही हो।’
चापाकोट नगरपालिकाका मतदाताले भने कृषि क्याम्पसलाई एजेन्डा मानेका छन्। यसअघि चापाकोट बजारमा कृषि क्याम्पस चलाउने भनिए पनि तत्कालीन मन्त्री पद्मा अर्यालले रोकेको स्थानीय कांग्रेस कार्यकर्ताको आरोप छ।
चापाकोट–९ सुन्तलीटारका कांग्रेस कार्यकर्ता बेदप्रसाद श्रेष्ठले चापाकोटमा आउने भनिएको कृषि क्याम्पस अर्यालले रोकेको आरोप लगाए। तर एमालेका कार्यकर्ता राजु कोइराला भने उक्त योजना गठबन्धन सरकारले अघि बढाउन चुनौती दिए।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका एमालेको परम्परागत बाहुल्यता छ। २०७४ र गत वैशाख ३० को निर्वाचनमा समेत यस गाउँपालिकामा एमालेले जितेको छ। यसअघिका संसदीय निर्वाचनमा पनि कालिगण्डकीबाट एमालेकै उम्मेदवारले बहुमत पाउँदै आएका छन्।
कालिगण्डकी–७ आँधीमुहानका अधिकांश मतदाताले एमालेलाई मत दिने बताएका छन्। कालिगण्डकी ‘ए’ जलविद्युत आयोजनाको जलाशय किनारमा बसेका बोटे गाउँका अधिकांश मतदाताले एमालेमा मत दिने बताएका छन्। स्थानीय निर्वाचन र संसदीय निर्वाचनमा पनि उनीहरूले एमालेमै मत दिएको बताए।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा स्थानीय कृष्णकुमारी बोटेले माओवादीलाई मत दिएको बताइन्। त्यसयताका सबै निर्वाचनमा भने एमालेलाई दिएको र यसपालि पनि सूर्यमै भोट हाल्न बताइन्।
बोटेका स्थानीयले सबभन्दा ठूलो समस्या लालपूर्जा नपाएको बताएका छन्। कालिगण्डकी ए जलविद्युत आयोजना बन्नुअघि नदी किनारमा माछा मार्ने र यात्रुलाई वारपार गरेर जीविका धनेका बोटे समुदाय नदी थुनिएपछि उक्त पेसाबाट विस्थापित छन्। उनीहरूलाई आयोजनाले नै कालिगण्डकी किनारबाट केही माथि स्थानान्तरण गरेको थियो।
‘अहिलेसम्म हामीले लालपूर्जा पाएका छैनौं,’ आँधीमुहानकै बलिदेवी बोटेले भनिन्, ‘नेता आएर लालपूर्जा दिन्छौं भनेर भोट माग्छन्, जितेर गएपछि फर्किँदैनन्।’
एमाले उम्मेदवार पद्मा अर्याल केही दिनअघि आँधीमुहान पुगेर लालपूर्जाको व्यवस्था गर्न आफूहरू लागिपरेको भन्दै आश्वासन दिएको उनले बताइन्।
बोटे समुदायले लालपूर्जापश्चात आफूहरूलाई रोजगारी दिनुपर्ने पनि बताए।
‘हामीलाई पहिला जागिर खाने कुरै थाहा थिएन,’ बलिदेवीले भनिन्, ‘प्रोजेक्टले बस्न दियो, काम गरेर खाने खेतबारी दिएन। सरकारले हामीलाई जागिर दिनुपर्छ।’
स्याङ्जा–२ का १८० जनालाई भेटेर प्रत्यक्ष कुराकानी गर्दा माओवादी केन्द्रका समर्थक ३ जना र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका १ जना भेटिए। माओवादी केन्द्रका तीनै जनाले समानुपातिकतर्फ पार्टीलाई मत दिने तर प्रत्यक्षतर्फ कसलाई दिने निर्णय नगरेको बताए।
‘यो क्षेत्रमा हाम्रो पार्टीको उम्मेदवार छैन। कांग्रेसले हामीलाई महत्व नै दिँदैन,’ गल्याङ–११ का ज्ञानप्रसाद न्यौपानेले भने, ‘कसलाई भोट हाल्ने चुनावसम्म हेरौं।’
स्याङ्जाको रामबाच्छा, राम्चे लगायतका ठाउँमा गुरुङ समुदायको बाहुल्य छ। उक्त स्थानबाट यसअघि कांग्रेस उम्मेदवारले बढी मत पाएको स्थानीय मतदाता बताउँछन्। यहाँ हामीले भेटेको अधिकांश मतदाताले यसपटक कसलाई मत दिने भन्ने खुलाएनन्। युवा पुस्ता भने स्वतन्त्र पार्टी भनेर हिँडेका भेटिए।
रामबाच्छाका स्थानीय हस्त गुरुङले पहिले कांग्रेसलाई मतदान गरेको बताए। यसपटक हेरेर विचार पुर्याउने बताए।
कांग्रेस छाडेर मंगोल नेसनल पार्टीमा लागेका सोमबहादुर गुरुङले यसपटक मतदाता ‘बाठा’ भएको बताए।
‘एउटा पार्टीको झन्डा बोकेर हिँडे पनि भोट अर्को पार्टीमा हाल्न थालेका छन्,’ उनले भने।
वैशाख ३० मा भएको स्थानीय निर्वाचनको मत परिणामले पनि त्यस्तै देखाएको उनले बताए।
‘मेयरमा एमालेलाई, वडामा कांग्रेसलाई भोट दिएका छन्,’ उनले भने, ‘अब एउटै पार्टीलाई मात्र भोट दिने चलन हरायो।’
उनले आफ्नो भोट भने मंगोल नेसनल पार्टीलाई नै दिने बताए।
२०७४ को संसदीय निर्वाचनमा स्याङ्जा–२ बाट एमालेकी पद्मा अर्यालले ३ हजार ७०६ मतले विजयी भएकी थिइन्। त्यति बेला गोपालमानले ३१ हजार ४३६ मत पाएका थिए भने पद्माले ३५ हजार १४२ मत पाएकी थिइन्।
गत वैशाखको स्थानीय निर्वाचनमा स्याङ्जा–२ का वडाध्यक्षहरूले पाएको मत हेर्दा सत्ता गठबन्धन अघि छ। कांग्रेस उम्मेदवारले ३६ हजार ८०६ मत ल्याएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले १ हजार ४४७ र नेकपा एकीकृत समाजवादीले २३३ मत पाएका छन्। यी मत जोड्दा गठबन्धनका पक्षमा ३८ हजार ४८६ मत पुग्छ। जुन एमालेका उम्मेदवारले पाएको भन्दा ३ हजार ६७७ मत बढी हो।
स्याङ्जा–२ मा एमालेका वडाध्यक्ष उम्मेदवारले ३४ हजार ८०९ मत पाएका थिए भने राप्रपाले राप्रपाले ५११ मत पाएका थिए। यस हिसाबले पनि एमालेकी पद्मा अर्याललाई चुनाव जित्न सजिलो छैन। स्याङ्जा–२ का १८० जना मतदातासँग कुरा गर्दा यसपटक एमाले सचिवसमेत रहेकी उम्मेदवार पद्मा अर्यालले २०७४ मा पाएको सद्भाव गुमाएकी छिन्। त्यति बेला कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठ विरोधी मतदाताको मत अर्यालले पाएकी थिइन्। यस्तै, सरकारमा रहेर पनि जिल्लाको विकासमा काम नगरेको आरोप उनले सामना गर्नुपरेको छ। यसपटक त्यस्तो असन्तुष्ट मत स्वतन्त्र पार्टीका उम्मेदवार टिकराजलाई जाने देखिन्छ।
यता कांग्रेस उपसभापतिसमेत रहेका उम्मेदवार धनराज गुरुङलाई पनि सजिलो छैन। पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका धनराजले उठाएका भ्रष्टाचार विरोधी नैतिकताको राजनीतिक एजेन्डाबाट पनि सबै मतदाता आकर्षित देखिँदैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको भ्रष्टाचार विरोधी आवाज स्याङ्जामा धनराजको भन्दा चर्को सुनिएको छ। स्वतन्त्र पार्टीमा लगेका वालिङका उत्तम खनालले चुनाव जितेपछि धनराजले पनि शेरबहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने भएकाले उनको आदर्श संसदमा पुगेपछि नटिक्ने बताए। गल्याङका कांग्रेस कार्यकर्ता तेजप्रसाद भट्टराईले पनि शेरबहादुरको कुर्ची जोगाउन कांग्रेसमा मत दिनुपर्ने बिडम्बना रहेको बताए। उनलाई गठबन्धन गरेको पनि मन परेको छैन।
‘यहीँका नेता भागवत प्रकाश मल्ललाई टिकट दिएको भए सजिलै चुनाव जितिन्थ्यो,’ उनले भने, ‘जिल्लामा नभिजेका र स्याङ्जा–१ का बासिन्दा धनराजलाई हाम्रो २ नम्बर क्षेत्रमा उठाउनु गलत छ।’
वालिङका नरबहादुर पराजुलीले भने अहिलेका नेता र पार्टीले मुलुकको समस्या समाधान गर्न नसक्ने ठोकुवा गरे।
सबै दलाल र भ्रष्ट रहेको अरोप लगाउँदै ८३ वर्षीय पराजुलीले भने, ‘काम त केही पनि गर्दैनन्। तर म एमालेलाई मत दिन्छु, किनकि पद्मा अर्याल हाम्री छोरी हुन्।’
स्याङ्जा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको आकर्षण पनि विगतमा एमालेलाई मतदान गरेका भन्दा कांग्रेसलाई मतदान गरेका व्यक्ति बढी छन्। चुनावमा व्यक्ति हेर्ने भनेर माहौल बनाउने स्वतन्त्र तप्काका युवा पनि अहिले स्वतन्त्र पार्टीको प्रचारमा खुलेर लागिरहेका छन्।
वालिङ नगरपालिकामा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चापाकोट, भीरकोट, कालीगण्डकी र गल्याङ पुग्न सक्यो भने उक्त पार्टीका उम्मेदवार टिकराजले जित्न सक्छन्। तर हालका लागि उक्त सम्भावना अत्यन्त कम छ।
लेखकसमेत रहेका वालिङका कांग्रेस क्रियाशील सदस्य दिनकर नेपालले कांग्रेसको जितलाई स्वतन्त्र पार्टीले चुनौती दिएको बताए।
‘पुराना दलप्रतिको वितृष्णाले मतदाता स्वतन्त्र पार्टीतिर आकर्षित छन्,' उनले भने, 'यसले मुख्यतः कांग्रेसको काटिन्छ।’
कांग्रेस उपसभापति धनराजलाई जित निकाल्न अर्को पनि अड्चन छ। २०७४ मा नेपाली कांग्रेसबाट गल्याङ नगरपालिकाका उम्मेदवार बनेका लालगोपाल अर्याल यसपटक राप्रपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। यसले पनि उनको भोट काटिने स्थानीय कांग्रेसजनको आशंका छ। तर हामीले भेटेको मतदातामध्ये कसैले पनि राप्रपाका लालगोपाललाई मत दिन्छु भनेनन्।
राजनीतिबाट वितृष्णा भएका मतदाता स्वतन्त्र पार्टीतर्फ थप आकर्षित हुँदाको फाइदा पद्मा अर्यालले पाउने देखिन्छ। एमालेको भन्दा कांग्रेसको मत धेरै आकर्षित भएको देखिएकाले स्वतन्त्र पार्टीको लोकप्रियताको फाइदा उनलाई देखिएको हो। तर मतदाताबाट सद्भाव गुमाएकी पद्मालाई अनिर्णीत रहेका मतदाता आकर्षित गर्न सजिलो छैन।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको लहर चुनाव जित्ने अवस्थामा पुग्छ कि पुग्दैन, थाहा छैन। तर पुराना र ठूला दल कांग्रेस र एमालेलाई झस्काउन सफल छ।