सेतोपाटी निर्वाचन विश्लेषण:
यसपालिको संसदीय निर्वाचनमा सबैले धेरै चासोका साथ हेरेको थोरै क्षेत्रमध्ये चितवन-२ पनि हो।
पत्रकारिता छाडेर राजनीतिमा हामफालेका रवि लामिछानेले यहाँबाट संसदीय राजनीतिमा पहिलोपटक आफ्नो भाग्य आजमाउँदै छन्।
पछिल्लो चार दिनदेखि हामी चितवनमा छौं। यहाँका टोल, चोक, पसल, खेत, घर र बारीमा पुगेर हामीले यहाँका मतदातासँग कुरा गरिरहेका छौं। हामीले चितवन-२ का करिब डेढ दर्जन बस्ती र टोलमा पुगेर २०० मतदातासँग कुरा गरेका छौं। आसन्न निर्वाचनबारे छलफल गर्ने, माहोल बुझ्ने प्रयास गरेका छौं। यसकै आधारमा हामी एउटा निष्कर्षमा पुगेका छौं- रवि लामिछाने यो क्षेत्रबाट निर्वाचित हुने सम्भावना प्रबल बनेको छ।
यहाँ कसरी त्यस्तो माहोल बन्यो? त्यसलाई विस्तारमा हेरौं।
हामी सोमबार बिहान चितवनको कालिका नगरपालिका वडा नम्बर ७ जुटपानीकी सीताकुमारी थपलियाको घरमा पुग्दा उनी दुई दिदी (आमाजू) सँग गफ गरेर बसिरहेकी थिइन्। उनीहरू सबै जुटपानीकै हुन्।
हामीले चुनावको प्रसंग झिक्न नपाउँदै सँगै रहेकी ७३ वर्षीया टंकमाया पाठकले आफूहरूले रविलाई भोट दिने बताइन्।
२०४७ सालदेखि आफ्नो जमिनको लालपुर्जा नपाएकाले पाठकले यसपटक कसैलाई भोट नदिने सोच बनाएकी थिइन्।जब रवि यो क्षेत्रमा आए उनको सोच बदलियो। उनी मंसिर ४ गते भोट हाल्ने तयारीमा छिन्।
उनले यसअघिका निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिने गरेकी थिइन्। गत वैशाखमा भएको स्थानीय चुनावमा आफ्नै भाइ वडा अध्यक्षको उम्मेदवार बन्दा मात्रै उनले एमालेलाई भोट दिएकी थिइन्।
पाठककी ६९ वर्षीया बहिनी खेमकुमारी दनैले पनि यसअघि नेपाली कांग्रेसलाई नै मत दिने गरेको बताइन्। यसपटक उनी पनि रविलाई मत दिने निष्कर्षमा पुगेकी छन्।
कुराकानीपछि हामीले उनीहरूलाई सोध्यौं- ‘तपाईंहरूको फोटो खिच्न मिल्छ?’
टंकमाया सुरूमा केही अलमलिइन्। के गर्ने भनेर अरूतिर हेरिन्। सीताकुमारीले भन्दिइन्, ‘रवि बाबुलाई भोट दिन्छौं भनेर फोटो हाल्दा केही नि हुन्न।’
उनले थपिन्, ‘यहाँ त सबैतिर रविलाई मत दिने भनेका छन्, हामीलाई फोटो हाल्न के को अप्ठ्यारो!’
टंकमाया र खेमकुमारीले आजसम्म रविलाई देखेका पनि छैनन्। खेमकुमारीले त रविको फोटोसमेत देखेकी छैनन् रे!
‘रवि राम्रो मान्छे भनेर सुनेको छु। त्यही भएर भोट दिने हो। तर मैले अहिलेसम्म फोटो पनि देख्न पाएकी छैन,’ खेमकुमारीले भनिन् ‘के गर्नु, मेरो मोबाइलमा फोटै हेर्न मिल्दैन।’
सीताकुमारीले भने रविलाई भेटेकी रहिछन्।
‘रविलाई नजिकबाट भेट्न मन थियो। पाएको थिइनँ। अस्ति तल चोकमा आउँदा भेट्न पाएँ,’ उनले भनिन्, ‘मैले त छोरालाई जस्तै गरी काखैमा लिएँ, कति खुसी लागेको छ।’
यी तीन दिदी-बहिनी प्रतिनिधि पात्र मात्र हुन्। हामीले चितवन क्षेत्र नम्बर २ का गाँउ टोल घुम्दा रविप्रति मतदाताको ठूलो आकर्षण पायौं। खासगरी युवा, महिला र जेष्ठ नागरिकहरूमा रविको आकर्षण छ।जसलाई हिजोसम्म राजनीतिको कुनै चासो थिएन, उनीहरूलाई पनि रविको चासो छ।
यीमध्ये धेरै मानिस रविको जुलुस र सभामा गएका छैनन्। चुनाव प्रचारमा पनि हिँडेका छैनन्। उनीहरू राजनीतिक रूपले धेरै सक्रिय मानिस पनि होइनन्। तर पनि धेरैले रविलाई भोट दिने मन बनाएका छन्।
हामी यो निर्वाचन क्षेत्रमा पर्ने कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर नगरपालिकाको १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ गरी १० वटा वडाका अधिकांश ठाउँमा पुग्यौं।
हामीले कुरा गरेका २०० जनामध्ये ७८ जना अर्थात् ३९ प्रतिशतले रविलाई मत दिने बताए। ४० जना अर्थात् २० प्रतिशतले नेकपा एमालेका कृष्णभक्त पोखरेललाई र ३१ जना अर्थात् १५.५ प्रतिशतले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई मत दिने बताए।
यसबाहेक ५ जना (२.५ प्रतिशत) ले राप्रपालाई भोट दिने बताए भने ४६ जना अर्थात् २३ प्रतिशतले भन्न नचाहने वा अझै निर्णय गरिनसकेको बताए।
जबकि यो निर्वाचन क्षेत्रमा रविको राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै संगठन छैन। पहिलोपटक यहाँ चुनाव लडेका उनको न त विगतमा यहाँ कुनै राजनीतिक योगदान वा प्रभाव नै छ।
चितवन-२ मुख्यत: एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै छ।
स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको मतलाई आधार मान्ने हो भने नेकपा एमालेको ३५ हजार ३ सय ४३ मत छ। नेपाली कांग्रेसको २४ हजार ५ सय ३१, नेकपा माओवादी केन्द्रको ७ हजार ३ सय ८७ र नेकपा एकीकृत समाजवादीको ३ हजार ५ सय ६९ छ।
त्यस्तै २०७४ को निर्वाचनमा समानुपातिकतर्फ नेकपा एमालेले २९ हजार ४ सय ७६, नेपाली कांग्रेसले २४ हजार २ सय १७ र नेकपा माओवादी केन्द्रले ११ हजार ७ सय ८५ मत ल्याएका थिए।
त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुनुपर्ने हो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदिएको छ।
परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलिया देखिएका छन्। यसले एमाले र कांग्रेसको राजनीतिक साख घटेको छ।
रविलाई मत दिन्छु भन्ने ७८ जनामध्ये २८ जनाले अघिल्लो निर्वाचनमा एमालेलाई र २४ जनाले नेपाली कांग्रेसलाई मत दिएका थिए। रविलाई मत दिन्छु भन्नेमा माओवादीलाई भोट दिएका ३ जना छन् भने नयाँ मतदाता ५ जना छन्। बाँकी १८ जनाले पहिले कसलाई मत दिएको खुलाउन चाहेनन्।
हामीले कुरा गरेका २०० जनामध्ये ४६ जनाले कसलाई मत दिने खुलाउन चाहेनन् वा निर्णयमा नपुगिसकेको बताए। यसरी निर्णयमा पुगिनसकेका वा बताउन नचाहनेमध्ये ७ जनाले विगतमा कांग्रेसलाई मत दिएको बताए। एमालेलाई विगतमा मत दिनेहरू ६ जना छन्। त्यस्तै नेकपा माओवादीलाई मत दिनेहरू ३ जना छन्।
रविले निर्वाचन जित्ने प्रबल सम्भावना छ भनेर हामी निष्कर्षमा पुग्नुको एउटा मुख्य कारण के हो भने हामीले भेटेकामध्ये जतिले रविलाई मत दिन्छु भनेका छन्, एमाले र कांग्रेसका उम्मेदवारलाई मत दिन्छु भन्ने संख्या जोड्दा पनि त्यति पुग्दैन।
यसलाई अर्को कोणबाट हेरौं- एमालेलाई मत दिन्छु भन्ने २० प्रतिशत र कांग्रेसलाई मत दिन्छु भन्ने १५.५ प्रतिशत हुन्छ। यो जोड्दा पनि ३५.५ प्रतिशत मात्र हुन्छ। जबकि रवि एक्लैलाई मत दिन्छु भन्ने ३९ प्रतिशत छन्।
अर्को कुरा- यहाँ अहिलेसम्म कसलाई मत दिने भनेर निर्णय नलिसकेका मतदाताको संख्या ४६ छ। अर्थात् हामीले कुरा गरेका मतदाताको २३ प्रतिशत मात्र छ।
यसमध्ये आधि-आधि नै पोखरेल र श्रेष्ठले लगेछन् र यसबाट रविलाई कुनै पनि मत आएनछ भने पनि उनी एमाले र कांग्रेसका उम्मेदवारभन्दा अघि हुन्छन्।
जबकि यथार्थमा त्यस्तो हुन सम्भव छैन। यी ४६ जनामध्ये १५ जनाले आफूहरूले अन्तिममा रविलाई मत दिन सक्ने हामीलाई बताएका थिए। अर्थात् कसलाई मत दिने निर्णय गरिनसकेका धेरै मतदाताको झुकाव पनि रवितिरै हुनसक्छ भन्ने यसले देखाउँछ।
पछिल्ला केही निर्वाचनमा रिपोर्टिङ गरेको हाम्रो अनुभवमा चुनाव बेला मतदाताकहाँ गएर कसलाई मत दिनुहुन्छ भनेर सोध्न निकै कठिन काम हो। कहिलेकाहीँ त यो जोखिमपूर्ण पनि हुन्छ। मतदाताको खप्की खानुपर्छ। धेरै मतदाता बोल्न चाहँदैनन्। त्यसमा पनि युवा र महिलाहरू झनै बोल्न खोज्दैनन्।
यसपालि रविको क्षेत्रमा भने धेरै मतदाता कुरा गर्न उत्साही देखिए। कसलाई, किन मत दिने वा नदिने खुलस्त कुरा गरे। रविको पक्षमा उभिएका मतदाताको रौनक नै अर्कै छ। धेरैलाई यसपालि रविले जित्छन् भन्ने परेको छ। त्यसैले पनि उनीहरू सजिलै खुल्न सकेका हुन्।
चितवन-२ किन यसरी रविको पोल्टा नजिक पुगेको छ? के कुराले मतदाता यस्तो निर्णयमा पुग्न लागेका हुन्? त्यसको एउटा मात्र कारण छैन, अनेक कारण छन्। फरक-फरक कुराले मतदातालाई प्रभाव पारेको हामीले पायौं।
पहिलो र सम्भवत: सबभन्दा मुख्य कारण- ठूला दलहरूसँगको वितृष्णा नै हो। ठूला दलसँग यहाँका धेरै मान्छेका अपेक्षा सकिएका छन्। उनीहरूले केही गर्छन् भन्ने विश्वास र आश रित्तिएको छ।
उनीहरू भन्छन्- अरूलाई कैयनपटक दिइयो, केही गरेनन्। यसपटक नयाँलाई हेर्नुपर्छ, युवा छान्नुपर्छ।
शक्तिखोरकी प्रकृति वन्तले यसअघि सूर्यमा भोट दिएकी थिइन्। यसपटक उनी रविलाई दिँदैछिन्। ‘अरूले पटक-पटक जितेर गए। केही गरेनन्। एकपटक नयाँ अनि युवालाई हेरौं न,’ उनले भनिन्, ‘उहाँको विचार र सिद्धान्त पनि राम्रो छ।’
इच्छाकामना गाँउपालिका तोबाङका सन्दीप विकले पनि अहिलेसम्म कांग्रेसलाई भोट दिँदै आएका थिए। ‘केही भएन, यसपालि रविलाई दिन्छु,’ उनले भने।
भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरका प्रेमबहादुर थापा र उनकी श्रीमती बिना थापाले बुढा नेताहरूलाई जिताउन भन्दा युवालाई दियो भने केही गर्छन् कि भनेर रविलाई भोट दिने बताए।
‘हामी कहिले कुन दल, कहिले कुन दललाई भोट दिन्छौं। यसपटक घन्टीलाई दिने हो,’ थापा दम्पतीले भने, ‘रविले राम्रो गरेनछ भने अर्कोपटक जनताले हराउँछन् तर यसपटक जिताउनैपर्छ।’
रविलाई मत दिने दोस्रो कारण हो- उनीप्रतिको आशा। उनले सरकार बनाउँछन्, देश चलाउँछन् भनेर होइन। यहाँका धेरैलाई थाहा छ, रविले सरकार बनाउन सक्दैनन्। उनको पार्टीका अरू सांसदले जित्छन् वा जित्दैनन् त्यो पनि थाहा छैन। तर संसदमा एक्लै पुगे पनि रविले जनताको आवाज बोल्ने उनीहरूले बताए।
भरतपुर दिपज्योति टोलका अभिमन्यु तिवारीले रवि स्पष्ट बोल्न सक्ने क्षमतावान युवा भएकाले संसदमा जान जरूरी रहेको बताए।
‘म खासमा माओवादी केन्द्रको समर्थक हो तर एक भोट रविलाई दिन्छु,’ उनले भने, ‘संसदमा गएर धेरै गर्न नसके पनि भ्रष्टाचार र अनियमितताविरूद्ध उहाँले आवाज उठाउनुहुन्छ। जनजीविकाको कुरा उठाउनुहुन्छ भन्ने आशा छ।’
अर्का युवा अमन लामिछानेले पनि रविबाट धेरै अपेक्षा गरेका छन्।
‘देश बनाउन कोही त लाग्नैपर्छ। महात्मा गान्धी नलागेको भए भारत आजाद हुन्थ्यो?’ उनले भने, ‘रवि सर निरन्तर लाग्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। उहाँलाई सर त्यसै भनिएको होइन, उहाँले अहिलेको भन्दा अझै राम्रो काम गर्नुहुन्छ।’
रविप्रति मतदाताको झुकावको तेस्रो कारण हो, उनले टेलिभिजनमा प्रस्तोताका रूपमा गरेको काम।
रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरे।
उनलाई मत दिन लागेका धेरैले रविले विदेशमा फसेका नेपाली महिलाहरूको उद्धार गरेको सम्झिए।
कालिका नगरपालिका वडा नम्बर ५ पदमपुरकी तारादेवी पौडेलले रविले चलाएको टेलिभिजन कार्यक्रमले सबैको मन जितेको बताइन्। उनले विदेशमा अलपत्र परेका महिलाहरूको उद्धार गरेको, उखु किसानलाई ठेकेदारबाट पैसा दिलाउन सहयोग गरेको लगायत काम गरेको बताइन्।
रविका कार्यक्रमहरू आफूहरूले युट्युब र फेसबुकमा हेरेको धेरैले बताए। परम्परागत टिभी वा सञ्चार माध्यमभन्दा इन्टरनेटमा आधारित माध्यम कसरी बढी प्रभावकारी र लोकप्रिय बन्दैछ भन्ने यो पनि एउटा उदाहरण हो।
कतिपयले त आफ्ना पनि छोराछोरी विदेशमा रहेको र भोलि असजिलो पर्दा नेपाल ल्याउन रविको सहयोग चाहिने बताए। हामीले कालिका नगरपालिका वडा नम्बर ७ जुटपानीमा भेटेका तीन महिलाका पनि परिवार विदेशमा रहेछन्। भोलि उनीहरूलाई पर्न सक्ने अप्ठ्यारो सम्झिएर पनि उनीहरूले रविलाई भोट दिन लागेको बताए।
चितवन-२ का मतदाताले रविलाई मनपराउनुको अर्को मुख्य कारण उनी चितवनमा हिरासतमा पर्दाको घटना पनि हो।
२०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो। उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए। उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो। रविलाई अन्याय भयो, उनलाई फसाइँदैछ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए।
उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए। त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको हो। हामीले भेटेका कतिपय मतदाताले रविमाथि त्यो बेला षड्यन्त्र भएको र आफूहरूले त्यसविरूद्ध प्रदर्शनसमेत गरेको सम्झिए।
रविलाई त्यो बेला मार्न खोजिएको भए पनि आफूहरूले त्यसविरूद्ध प्रदर्शन गरेर उनलाई छुटाएको कालिका-५ पदमपुरका प्रभाकर पौडेलले बताए। उनले त्यसकै कारणले अहिले रविलाई भोट दिन मन लागेको बताए।
कालिका-७ क्लब चोककी सुनिता लामाले जेल पर्दा अश्रुग्यासको समेत परवाह नगरी छुटाएको व्यक्तिलाई अहिले भोट दिन मन लाग्नु स्वाभाविक भएको बताइन्।
यी विभिन्न कारणले रविप्रति देखिएको आकर्षणका अलावा अरू कुराले पनि उनलाई साथ दिएको छ।
रविका लागि सबभन्दा ठूलो सुविधा के हो भने अधिकांश घरमा महिला र युवाहरूले रविलाई भोट दिने सोच बनाएका छन्। जस्तो, भरतपुर १० मा मतदाता नामावली रहेका अमन लामिछानेको परिवारको कुमारी चोकमा होटल छ। उनले यसपटक रविलाई भोट दिने निर्णय गरिसके। उनका आमा र बहिनी रोजिनाले पनि यही सोच बनाएका छन्।
उनका बाबु एमालेका सक्रिय कार्यकर्ता भए पनि आमा र छोराछोरी रविलाई मत दिने पक्षमा छन्। बाबुले भने सूर्यलाई भोट दिने बताए।
राजनीतिक विषयमा प्राय: घरमूली लोग्ने मानिसको विचार चल्ने नेपाली परिवारमा घरमा महिला र युवाका कारण निर्णय फेरिन थालेको छ। घरको वातावरणले एमाले-कांग्रेसका कतिपय सक्रिय कार्यकर्ता नै रविलाई मत दिने पक्षमा पुगेका छन्।
गठबन्धन र एमालेको पक्षमा चुनाव प्रचारप्रसारमा हिँड्नेहरूले समेत रविलाई भोट हाल्ने उनका समर्थकहरूको दाबी छ।हामीले भेटेका कतिपय एमाले र कांग्रेसका सक्रिय कार्यकर्ताले पनि रविलाई मत दिने बताए।
एकीकृत समाजवादीबाट भर्खरै एमालेमा प्रवेश गरेका एक जना नेताले आफू र आफ्नो परिवारले भोट भने यसपालि रविलाई नै दिने बताए।
कालिका १० जुटपानीका उदय श्रेष्ठ कांग्रेसका समर्थक हुन्। तर यसपटक उनले घन्टीलाई भोट दिने निर्णय गरिसके। आफू मात्र होइन, धेरै पार्टीका मानिसले यसपालि आफ्ना उम्मेदवारलाई मत नदिने बताए।
‘सबैतिर मासुभात खान्छन्। तर भोट घन्टीलाई दिन्छन्। अरू कराउने मात्रै हो तर भोट ल्याउने घन्टी मात्रै हो,’ उनले भने, ‘२०६४ सालमा माओवादीको पक्षमा भित्रभित्रै जस्तो माहोल थियो, अहिले घन्टीको त्यस्तै छ। यो क्षेत्रमा गठबन्धन त तेस्रो हुन्छ।’
रविले कुन निर्वाचन क्षेत्रबाट लड्ने भनेर उम्मेदवारी दिने अन्तिम दिनसम्म निर्णय गर्न सकेका थिएनन्।
लामो समयसम्म उनी काठमाडौंमा लड्ने कि चितवनमा भनेर दुबिधामा परे। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ र ३ मा उनको आँखा थियो। साथसाथै आफू हिरासतमा परेको अप्ठ्यारो समयमा चितवनले देखाएको प्रेम र सद्भाव पनि उनको मनबाट हटेको थिएन। हिरासतमुक्त भएपछि नारायणी नदी किनारमा भेला भएको जनसागरले नै उनको मनमा सुशुप्त राजनीतिक आकांक्षामा सलाई कोरेको थियो।
रविले एउटा मत सर्वेक्षण कम्पनीको सहयोगमा चितवन र काठमाडौंमा सर्भे पनि गराएका थिए। तर अन्तिममा उनले आफूलाई अप्ठ्यारो समयमा साथ दिने चितवनमाथि भरोसा राखे। सायद चितवन उनको त्यही भरोसाको गुण तिर्ने क्रममा छ।
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे ‘रेड जोन’ मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा