चुनावी कार्यक्रममा सत्ता गठबन्धनका शीर्ष नेताहरू आगामी सरकार सत्ता गठबन्धनकै हुने दाबी गर्छन्। तर, सत्ता गठबन्धनबाट आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा उनीहरू स्पष्ट छैनन्।
सरकारको नेतृत्वको सवालमा, कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका छन्,‘आफूले अहिले सरकारको नेतृत्व गरिरहको छु भोलिका दिनमा प्रचण्ड वा माधव नेपालले नेतृत्व गर्नेछन्।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासको मोडल प्रस्तुत गर्न प्रधानमन्त्री बन्ने भन्दै आकांक्षा देखाएका छन्। यता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि भावी प्रधानमन्त्री भन्दै प्रचण्डतर्फ इशारा गरेका छन्।
तर प्रचण्ड, माधव वा देउवामध्ये भावी प्रधानमन्त्री को हुने भनेर सत्ता गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न सकिरहेको छैन। यसो गर्नुका पछाडि प्रमुख तीन कारण छन्। पहिलो, गठबन्धनभित्र रहेका तीन दलका नेतृत्वको सुशुप्त चाहना। दोस्रो, आलोपालो नेतृत्वको विषय र तेस्रो मत ट्रान्सफर नहुने त्रास।
पहिले चर्चा गरौँ, तीन दलका नेतृत्वको सुशुप्त चाहानाबारे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच पटक प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरिसकेका छन्। कांग्रेस पहिलो पार्टी बन्ने सम्भावना प्रवल भएकाले छैठौं पटक प्रधानमन्त्री बनेर कीर्तिमान राख्ने पक्षमा देउवा छन्।
यता देउवाको कीर्तिमानमा ब्रेक लगाउन कांग्रेस भित्रबाट रामचन्द्र पौडेल, शशांक कोइराला र गगन थापाले पनि प्रधानमन्त्रीको चाहाना राखेका छन्। तर यसका निम्ति उनीहरू संसदीय दलमा विजयी हुनुपर्नेछ।
नेता थापाले यसपटक संसदीय दलमा भिड्ने बताइसकेका छन्। ‘कत्तिको सकिन्छ सकिँदैन थाहा छैन तर यसपटक प्रधानमन्त्रीका लागि प्रयास गर्ने हो,’ उनले भनेका छन्।
गगनले साहस देखाए उनको प्रस्तावक बन्न पछि नपर्ने अर्का महामन्त्री विश्वप्रकाश शर्माको घोषणा गरिसकेका छन्। ‘गगन थापाले प्रधानमन्त्री बन्ने चाहना गरेमा म प्रस्तावक बन्ने हो, त्यसमा आपत्ती मान्नुपर्ने कुनै कारण छैन,’ उनले भनेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने त्यस पार्टीबाट प्रधानमन्त्रीका लागि निर्विकल्प हुन्। उनले खुल्ला रूपमा मुलुकको नेतृत्वका लागि आकांक्षा समेत देखाइसकेका छन्।
दुई पटक प्रधानमन्त्री भएका प्रचण्डका अनुसार तेस्रो पटक प्रधानमन्त्री भएर उनलाई विकासको मोडल प्रस्तुत गर्न मन छ। ‘अवसर आउँदा मुलुकको नेतृत्व गर्नुपर्छ भन्नेमा छु। एक पटक नेतृत्व गरेर विकासबारे प्रचण्डको मोडल स्थापित गर्न मन छ,’ प्रचण्डले भन्दै आएका छन्।
यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आंकाक्षा पनि दोस्रो पटक प्रधानमन्त्री हुने छ। अवसर पाएको खण्डमा नेतृत्व लिने पक्षमै उनी छन्। सातौं पटक संसद छिर्ने तयारीमा रहेका नेपाललाई ७५ वर्षपछि राजनीतिबाट अवकास लिन मन छ। त्यसैले अवसर पाए सरकारको नेतृत्व गर्ने, नभए शक्ति बाँडफाँटमा पार्टीलाई महत्वपूर्ण पद दिलाउने ध्याउन्न उनको छ।
‘गठबन्धनभित्र अहिलेनै शक्ति बाँडफाँटमा हामी प्रवेश गरेका छैनौँ, अहिले हाम्रो सम्पूर्ण ध्यान बहुमत ल्याउनेमा छ। मैले नेताहरूलाई अवकासबारे पनि प्रस्ताव गरेको छु अवसर पाए मुलुकको नेतृत्वका लागि तयारनै छु,’ नेता नेपालले भने।
कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको सबै नेतृत्वमा प्रधानमन्त्री भइसकेका व्यक्ति छन्। तर उनीहरु अझै मुलुकको नेतृत्वका लागि आकांक्षी रहेकाले भावी प्रधानमन्त्रीको विषयमा मौन रहेको राजनीतिक विश्लेषक उद्धव प्याकुरेल बताउँछन्।
‘गठबन्धनमध्ये तीन दलका मुख्य नेताहरू पहिले पनि प्रधानमन्त्री भइसकेका छन्। उनीहरूमा अझै प्रधानमन्त्री बन्ने तीव्र इच्छा छ। अहिलेनै प्रधानमन्त्री तोकेर अघि बढ्दा गठबन्धनमा विवाद हुने र परिणाममा असर पुग्ने सम्भावनाले सत्ता गठबन्धन प्रधानमन्त्रीबारे नबोलेको हो,’ प्याकुरेलले भने।
अब दोस्रो विषयको चर्चा गरौँ,
सत्ता गठबन्धनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणामा तगारो बनेको अर्को विषय हो-आलोपालो नेतृत्व।
गठबन्धनभित्र कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनावपछि सत्ताको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको छ। यो कुरा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्पष्ट पारिसकेका छन्।
‘अहिले हाम्रो सम्पूर्ण ध्यानगठबन्धनको पक्षमा बढीभन्दा बढी नतिजा निकाल्नेमा केन्द्रित छ। परिणामपछि सरकारको नेतृत्व मिलेर गर्ने भन्ने विषयमा नेताहरू सकारात्मक पाएको छु,’ नेता पौडेलले सेतोपाटीसँग भने।
यस्तै, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संसदीय प्रणालीमा प्रधानमन्त्रीको अनुहार अघि सारेरै चुनावमा जानैपर्ने बाध्यता नरहेको बताए।
सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा चुनावपछि बहस हुने उनको भनाई छ। ‘अहिलेनै सरकारको नेतृत्व गर्ने व्यक्ति अघि सार्नुपर्छ भन्ने बाध्यता छैन नि। सरकारको नेतृत्व पहिले कसले गर्ने भन्नेबारे चुनावपछि चर्चा हुन्छ, अहिले त्यसमा प्रवेशनै गरेका छैनौँ,’ उनले सेतोपाटीसँग भने।
देउवा र प्रचण्डबीच आलोपालो नेतृत्वमा सहमति जुटे पनि पहिले को हुने भन्ने टुंगो नलागेकाले गठबन्धनf भावी प्रधानमन्त्रीबारे मौन रहेको राजनीतिक विश्लेषक लोकराज बरालले बताए। ‘भित्र देउवा र प्रचण्डबीच आलोपालोको सहमति भएको देखिन्छ। तर पहिले नेतृत्व कसले गर्ने भन्ने विषय टुंगो लागेको देखिँदैन। पहिलेनै घोषणा गर्यो भने अरू पार्टीले भोट नहाल्ने सम्भावना रहेकाले पनि रणनीतिक रूपमा उनीहरू मौन बसेका छन्,’ बरालले भने।
तेस्रो विषय हो मत ट्रान्सफर,
सत्ता गठबन्धनका शीर्ष नेताहरूले एउटा पार्टीका कार्यकर्ताले अर्काको चुनाव चिन्हमा मत नखसाउने प्रवृत्तिबारे चर्चा गर्दै उनीहरूलाई मत ट्रान्सफरका निम्ति प्रेरित गरिरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसको मत कम्युनिष्ट पार्टीको चुनाव चिन्हमा नखस्ने चिन्ता छ। उनीहरुले सार्वजनिक मञ्चमै गठबन्धनलाई जिताउन एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन्।
प्रचण्डले भनेका छन्, ‘रुखका साथीहरूले हँसिया हतौडा र कलममा मत खसालेर र कलम र हँसिया हतौडाका साथीहरूले रूखमा मत खसालेर गठबन्धन संस्कृतिको उदाहरण पेश गर्ने बेला हो यो। त्यसैले आनाकानी नगरौँ। कांग्रेसका साथीहरूले के नर्बिसिनु भने हँसिया हतौडा र कलमका साथीहरूलेनै सहयोग गरेर स्थानीय चुनावमा कांग्रेस पहिलो बनेको हो।’
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भनेका छन्, ‘हामीबीचको समन्वय र सहकार्यले मात्रै गठबन्धनको पक्षमा अत्यधिक बहुमत सुनिश्चत गर्छ त्यसैले एकले अर्कालाई सहयोग गरौँ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि एकले अर्कालाई सहयोग गर्नुपर्ने मत राखेका छन्। ‘कलम र हँसिया हतौडाका उम्मेदवार रहेका ठाउँमा रूखले सहयोग गर्ने र रूखका उम्मेदवार रहेका ठाउँमा कलम र हँसिया हतौडाले भोट हाल्ने, यत्ति गरे त भइगो नि- किन अरू कुरा गरिरहने?, देउवाले भने, ‘कलम, हँसिया हतौडा र रूख एकै हो।’
अहिलेनै गठबन्धनको तर्फबाट प्रधानमन्त्री घोषणा गर्दा मत ट्रान्सफर नहुने सम्भावना रहेकाले मौन रहेको राजनीतिक विश्लेषहरुको भनाइ छ। राजनीतिक विश्लेषक बराल भन्छन्, ‘सत्ता गठबन्धनमा प्रधानमन्त्रीका लागि महत्वकांक्षी नेता धेरै छन्। अहिलेनै प्रधानमन्त्री घोषणा गर्दा एकले अर्कालाई भोट नहाल्ने हुनसक्छ।’
राजनीतिक विश्लेषक प्याकुरेल मत ट्रान्सफर नहुने त्रासले पनि गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवारबारे नबोलेको बताए। ‘अर्को पार्टीको व्यक्तिलाई प्रधानमन्त्री बनाउन किन त्याग गर्ने गर्ने भन्ने मनोविज्ञान कार्यकर्तामा हुनसक्छ। मत ट्रान्सफर नहुने स्थिति रोक्न प्रधानमन्त्रीको उम्मेदवार तोक्न नसकेका हुन्।’
सत्ता गठबन्धनबाट आलोपालो नेतृत्व हुने कुरामा समझदारी भए पनि पहिलो कार्यकालको नेतृत्वबारे चुनावपछिनै छलफल हुने नेताहरुले बताएका छन्।
हेर्नुस् भिडिओ :