सातौं पटक संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेका वामदेव गौतमले यसपटक मनोनयन दर्ता गराएनन्।
माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने तयारी गरेका वामदेव राष्ट्रिय जनमोर्चा र आफ्नै अडानका कारण उम्मेदवार बन्न नपाएका हुन्।
प्युठानबाहेक अन्यत्रबाट चुनाव नलड्ने वामदेवको शर्त थियो भने राष्ट्रिय जनमोर्चाले प्युठान नछोड्ने अडान गठबन्धनमा राखेपछि उनी यसपटक उम्मेदवार हुन नपाएका हुन्।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गत साउन ३१ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए। खुमलटारमा प्रचण्डलाई गौतमले ३ दशक पुरानो आफूहरू बीचको दोस्तीको उपकार गर्ने प्रस्ताव गरे। प्रतिनिधि सभामा आफूलाई माओवादीको चुनाव चिन्ह दिन र प्युठानमा गठबन्धनको समर्थन दिलाउने वातावरण बनाउन उनको आग्रह थियो।
‘प्रचण्डसँग मेरो दशकौंको दोस्ती हो, मैले उहाँलाई दोस्तीको उपकार गर्नुस् भनेको हुँ,’ त्यतिबेला वामदेवले सेतोपाटीसँग भनेका थिए।
वामदेवले आग्रह गरेपछि त्यसैदिन माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्यो र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एकता राष्ट्रिय अभियानलाई माओवादीको चुनाव चिन्हमा उम्मेदवारी दिन स्वीकृति दिने निर्णय गर्यो। सुरूमा स्वीकृति दिए पनि राष्ट्रिय जनमोर्चाको अडानका कारण प्रचण्डले वामदेवसँगको दोस्तीको उपकार भने गर्न सकेनन्।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ मा दुई वा दुईभन्दा बढी दलले एउटै निर्वाचनमा चिन्हमा संयुक्त रूपमा चुनाव लड्न आयोगमा निवेदन दिनुपर्ने प्रावधान छ। निवेदन दिने अन्तिम दिन साउन ३१ थियो। त्यसदिन माओवादी केन्द्र र नेसपाको पत्रमात्रै निर्वाचन आयोगको कार्यालय पुग्यो। आफ्नो पत्र नपुगेपछि वामदेवले प्रचण्डलाई फोन गर्दै उपायबारे सोधेका थिए।
‘प्रचण्डले मात्रै हस्ताक्षर गरेको कागज निर्वाचन आयोगमा पुगेपछि मैले प्रचण्डलाई सम्पर्क गरेर सहमति भएपछि हामीलाई पनि सामेल गरेको भए हुन्थ्यो। केही उपाय छ कि भनेर सोधें। कुनै उपाय फेला परेन,’ गौतमले सेतोपाटीसँग भने।
वामदेवका अनुसार राष्ट्रिय जनमोर्चाबाटै उनलाई प्युठानमा चुनाव लड्न प्रस्ताव आएको थियो। त्यस प्रस्तावबारे उनैले प्रचण्डलाई जानकारी गराउँदै हँसिया हतौडा चिन्ह दिन आग्रह गरेका थिए।
‘जनमोर्चाकै शीर्ष नेताबाट मलाई प्युठानमा उम्मेदवारी दर्ताको प्रस्ताव आएपछि मैले प्रचण्डसँग एउटै चुनाव चिन्हको लागि संवाद थालेको थिएँ,’ उनले भने।
जनमोर्चाले प्युठानबाट उपाध्यक्ष दुर्गा पौडेललाई प्रतिनिधि सभा उम्मेदवार बनाउने भनेको थियो। वामदेवले उनको उम्मेदवारी फिर्ताका लागि आफूले नै पहल गर्ने र पौडेललाई राष्ट्रिय सभामा पठाउने वातावरण आफैंले निर्माण गर्ने प्रचण्डलाई बताएका थिए।
‘जनमोर्चाको शीर्ष तहबाटै प्रस्ताव आएपछि सबै व्यवस्थान गर्न सक्छु भन्ने लागेर नै गठबन्धनको साथ खोजेको थिएँ,’ उनले भने।
हँसिया हतौडामा चुनाव लड्नका निम्ति पनि गौतमले शर्त राखेका थिए। गौतमको शर्त प्युठानबाहेक अन्यत्र चुनाव नलड्ने थियो। आफ्नो समूहले प्रदेश सभामा २ सिट पाउनु पर्ने उनको अर्को शर्त थियो।
जनमोर्चाकी उपाध्यक्ष पौडेलका अनुसार वामदेवको इच्छाबारे सत्ता गठबन्धनको बैठकमा प्रचण्डले जानकारी पनि गराएका थिए। जनमोर्चाले संगठन बलियो रहेको बाग्लुङ र प्युठान नछोड्ने अडान राख्यो।
‘वामदेव गौतमको चाहनाबारे सत्ता गठबन्धनमा कुरा पनि आएको थियो। हामीले हाम्रो संगठनात्मक आधार बलियो रहेका क्षेत्र नछोड्ने भन्यौं। वामदेवले नै प्युठानबाहेक अन्यत्र उम्मेदवार नबन्ने भन्नुभएको थियो नत्र वामदेवलाई उम्मेदवार बनाउन गठबन्धन सकारात्मक नै थियो,’ पौडेलले भनिन्।
एकल चुनाव चिन्ह लिने निर्णय भएपछि प्रचण्डलाई जनमोर्चाका नेताले नै फोन गरे। राष्ट्रिय सभासँग प्रतिनिधि सभाको सिट अदलबदल नगर्ने अडान राखे।
त्यसपछि प्रचण्ड र बाबुरामको मात्रै हस्ताक्षर रहेको पत्र निर्वाचन आयोगमा पुगेको थियो।
‘मलाई जनमोर्चाले प्युठानमा उठ्न गरेको प्रस्तावमा त्यस पार्टीका नेताहरूसँग बुझेर प्रचण्ड सकारात्मक हुनुभयो,’ वामदेवले भने,‘पछि फेरि राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभासँग अदलबदली गर्न सकिँदैन भने। प्रचण्डलाई पार्टीको निर्णय सुनाएपछि म चुनाव लड्ने स्थिति भएन। जनमोर्चाको अडानले मसँगको दोस्तीको उपकार गर्न प्रचण्डलाई सहज स्थिति भएन।’
वामदेव अहिले राष्ट्रिय सभा सदस्य छन्। राष्ट्रिय सभामा अरू कोही शीर्ष तहको नेता नभएकाले प्रतिनिधि सभामा जान उनले चाहना राखेका थिए।
‘राष्ट्रिय सभामा शीर्ष तहको नेता नै छैनन्। प्रतिनिधि सभामा सबै शीर्ष नेता हुन्छ्न्। बाहिरभन्दा त्यहाँ छलफलका लागि धेरै समय पनि हुन्छ। मैले फेरि फुटेको पार्टीलाई एकजुट बनाउनका निम्ति संवाद गर्न सक्थें। प्रतिनिधि सभामा गएर सरकारमा जानका लागि मैले चाहना राखेको थिइनँ,’ वामदेवले भने।
वामदेवले २०४८ र २०५१ सालमा एमालेको तर्फबाट बर्दियाबाट प्रतिनिधि सभाको निर्वाचन जितेका थिए। उनी २०५४ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। २०५५ सालमा एमाले विभाजन गरेर नेकपा मालेको महासचिव बनेका गौतमले २०५६ को निर्वाचन हारेका थिए।
२०५९ सालमा एमालेमै फर्किएका वामदेवले २०६४ मा पनि बर्दियाबाटै निर्वाचन हारेका थिए। पराजित भए पनि उनी २०६५ मा फेरि उपप्रधानमन्त्री एवं गृहमन्त्री बनेका थिए। २०७० को निर्वाचनमा भने बर्दिया र प्युठान दुबै ठाउँबाट उनी विजयी भएका थिए। त्यसपछि उनी तेस्रो पटक उपप्रधानमन्त्री र गृहमन्त्री बने।
आफ्नो राजनीतिक जीवनमा गौतमले ६ वटा आमनिर्वाचनमा भाग लिए। जसमध्ये ३ मा उनी पराजित भए। प्रतिनिधिसभामा उम्मेदवारी दिने उनको सातौं प्रयास असफल भएको छ। यसप्रति उनको कुनै पनि गुनासो छैन।
‘३० वर्षसम्म दोस्ती रहेको प्रचण्डसँग मेरो कुनै गुनासो छैन। अब कम्युनिष्ट आन्दोलन सफल हुँदैन। प्रजातान्त्रिक पद्धतिबाट समाजवादको आन्दोलनको खाँचो छ। त्यसका निम्ति साथीहरूलाई एकतावद्ध गर्ने अभियानमा म सक्रिय हुनेछु,’ वामदेवले भने।