२०३८ सालतिरको कुरा हो, मैले हुलाक कार्यालय देखेको प्युठानको भिंग्रीबजारमा हो। त्यति बेला भिंग्रीबजारको डेढ किलोमिटर माथि अमर माध्यमिक विद्यालयमा हामी नौ कक्षामा पढ्थ्यौँ।
हामीले रेडियो नेपालमा फर्माइस गीतको कार्यक्रम नियमित रूपमा सुन्ने हुँदा मैले पनि रेडियो नेपालमा एउटा गीत अनुरोध गरेर पठाउने विचार गरेँ र तारादेवीको स्वरमा रहेको ‘नौ सय खोला तरेर जाने’ बोलको गीत सुन्नका लागि भिंग्रीबजारको हुलाकबाट रेडियो नेपालको ठेगाना सिंहदरबार, काठमाडौँमा एउटा चिठी प्रेषण गरेँ। पत्रमा दाइ, काका, छिमेकी अन्य साथीहरूको नाम पनि उल्लेख गरेँ। केही दिनमा रेडियो नेपालले फर्माइस गीतको कार्यक्रममा हाम्रो नाम पनि फलाक्यो। रेडियो नेपालबाट हाम्रोतर्फको समेतको अनुरोधको उक्त गीत सुनेर हामी मक्ख पर्यौँ।
त्यति बेला हुलाकमार्फत चिठी पठाउन आफ्नो गाउँ खुंग्रीबाट छ घण्टाको बाटो हिँडेर सदरमुकाम लिबाङसम्म पुग्ने सम्भव थिएन। पछि रोल्पाको सुलिचौर बजारमा पनि इलाका हुलाक कार्यालय बस्यो, तर त्यति बेला म काठमाडौँ प्रवेश गरिसकेको थिएँ।
नेपालको हुलाकको इतिहास खोतल्दा विसं १९३५ सालमा 'नेपाल हुलाक घर' को स्थापना भएपछि नेपालमा हुलाक सेवाको सुरुवात भएको पाइन्छ। नेपालको पहिलो हुलाक टिकटको बारेमा भन्नुपर्दा विसं १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको इतिहास छ। विसं १९९३ मा नेपाल र भारतबिच सम्झौता भएपछि चिठीको खामबाहिर नेपाली र भारतीय टिकटको प्रयोगका लागि भारत र नेपालबिच पत्र पठाउने कामको सुरुवात भएको थियो।
हुलाक दिवसको प्रसङ्ग उल्लेख गर्दा विश्व हुलाक दिवस प्रत्येक वर्ष अक्टोबर महिनाको ९ तारिखका दिन मनाइँदै आएको छ। विश्व हुलाक सङ्घको स्थापना भएको दिन मानिएको हुँदा प्रत्येक वर्ष उक्त दिनमा विश्व हुलाक दिवस मनाउने गरिन्छ।
मैले पत्र मञ्जूषा पहिलो पटक २०४० सालमा पाटनढोकामा देखेजस्तो लाग्छ। पहिले गोश्वारा हुलाक रहेको स्थान सुनधारामा हुलाक कार्यालय छिर्ने गेटनिर दायाँ-बायाँतर्फ दुई वटा पत्र मञ्जूषा राखिएका देखिन्थे। तीमध्ये एउटा राष्ट्रिय र अर्को अन्तर्राष्ट्रिय भनेर लेखिएको हुन्थ्यो। दुई पत्र मञ्जूषाको रङ पनि फरक फरक नै थियो।
पहिलेको गोश्वारा हुलाक कार्यालय रहेको स्थान सुनधारामा नवनिर्मित धरहरा निर्माण गर्ने क्रममा भत्काइएको छ। त्यहाँ गोश्वारा हुलाक कार्यालय र वैदेशिक हुलाक कार्यालय भवन थिए। वैदेशिक हुलाक कार्यालय भवनमा रहेको भन्सार कार्यालयमार्फत पार्सल आउने जाने पनि गर्दथे। म कार्यरत संस्थानको तर्फबाट म पनि सेवाग्राहीको रूपमा त्यहाँ जाने गर्दथेँ।
मैले २०४० साल भदौ ५ गते पाइला टेक्दासम्म काठमाडौँ महानगर भइसकेको थिएन। घर-घरका गेटछेउमा टाँसिएका टिनका निलो प्लेटमा 'कानपा' उल्लेख गरेर ब्लक नम्बर टाँसिएका हुन्थे। हुलाकीहरूले ब्लक नम्बरको आधारमा घरघरमा चिठी पुर्याउने काम गर्दथे। प्रापकहरू आफै हुलाकमा आउनु नपरोस् भन्ने उद्देश्यले गोश्वारा हुलाक कार्यालयले पोस्ट बक्सको व्यवस्था गरेको थियो।
सिलसिलेवार र क्रमाङ्कअनुसार कार्यालयको भित्रपट्टि भित्तामा टाँसेर राखिएका पोस्ट बक्सहरूको सम्झना अझै पनि आउँछ। म कार्यरत संस्थानको पोस्ट बक्स नम्बर ४९६ मा नै मेरा निजी पत्रहरू पनि आउँदथे। विभिन्न पत्रिकाहरूमा छापिने पत्र मित्रतापछि पेनफ्रेन्डको पनि चलन भएकोले मेरो नाममा देश विदेशका पेनफ्रेन्डहरुले पठाएका पत्रहरू त्यहीँ पोस्ट बक्स नं. ४९६ मा नै आउँथ्यो।
साँचो लगेर सुनधारास्थित गोश्वारा हुलाक गएर पोस्ट बक्स खोलेपछि कार्यालयका पत्रहरू कार्यालयमा ल्याएर कार्यालय प्रमुखलाई दिइन्थ्यो भने निजी चिठी भए पोस्ट बक्सबाट झिक्नेबित्तिकै हतार हतार गरेर खोलेर चिठी पढिन्थ्यो।
पोस्ट बक्समा चिठी पत्रका साथै ब्रोसर, बुकलेट, पुस्तक लगायत अन्य सामग्रीहरू पनि आउँथे। म कार्यरत संस्थानको नाममा देश विदेशबाट पठाइएका फ्याक्स लिनका लागि नयाँसडकस्थित एक एजेन्सीमा जान्थ्यौँ। फ्याक्सको चलन पनि पछि आएको थियो। त्यसअघि टेलेक्स र टेलिग्रामको चलन पनि थियो। कार्यालयको लेटर हेडमा कार्यालयको नामको मुनि सानो अक्षरमा पो.ब.नं, टेलेक्स-टेलिग्राम भनेर उल्लेख हुन्थ्यो। पछि सबै निकाय तथा संस्थानहरूमा आ-आफ्नै फ्याक्स मेसिन राख्ने चलन आयो।
२०४४-४५ सालमा बालुवाटारस्थित म कार्यरत संस्थानको कार्यालयमा आफ्नै फ्याक्स मेसिन जोडियो। त्यसका लागि टेलिफोनको अलग्गै नम्बर प्राप्त गर्न नेपाल दूरसञ्चार संस्थान (हालको टेलिकम) मा पत्राचार भएपछि तत्कालै नयाँ १३९७६ नम्बरको टेलिफोन लाइन जडान भयो र फ्याक्स सञ्चालनमा आयो। तत्पश्चात् फ्याक्स लिन हामी नयाँसडक जानुपरेन। फ्याक्सका लागि प्राप्त १३९७६ अगाडि १४६६४ नम्बरको टेलिफोन सञ्चालनमा थियो।
एउटै नम्बरबाट फोन पनि गर्न मिल्ने र फ्याक्स जोड्न पनि मिल्ने भए पनि त्यो झन्झटिलो थियो। किनकि फ्याक्स पठाउनुअघि ‘फ्याक्स जोड्नुस् त! फ्याक्स पठाउन लागेका छौँ’ भनेर पूर्व सूचना दिनुपर्दथ्यो टेलिफोनबाटै। एक ठाउँबाट अर्को ठाउँमा टेलिफोन गर्नुपरेमा ट्रङ्कल गर्नुपर्दथ्यो।
अहिलेका युवा र किशोरहरूलाई ट्रङ्कल के हो थाहा छैन। काठमाडौँबाट बाहिर जिल्लामा ट्रङ्कल गर्नका लागि कुनै एउटा नम्बर तोकिएको थियो इन्क्वायरीका लागि- सोधपुछका लागि १९७ र मर्मतका लागि १९८ तोकिए झैँ। बाहिर जिल्लामा फोन सम्पर्क गर्नुपूर्व तोकिएको फोनबाट ‘फलानो जिल्लाको फलानो अफिस वा व्यक्तिसँग सम्पर्क गराइदिनुस् त’ भनेर अनुरोध गर्नुपर्दथ्यो।
कुनै बखतसम्म आ.वा. गर्नका लागि भने त्रिपुरेश्वरस्थित आ.वा. भवनमा जानुपर्दथ्यो। अहिले आधुनिक सञ्चार प्रविधिले गर्दा आ.वा. इतिहासमा मात्र सीमित रहेको छ। अहिलेका युवाहरूलाई आ.वा. भनेको के हो थाहा छैन होला। २०४७ साल भदौ २६ मा रोल्पामा हाम्रा छोराको जन्म भएपछि मलाई आ.वा.बाटै त्यसको खबर आएको थियो।
रोल्पामा त्यति बेला जेनरेटरको सहायताले आ.वा. सञ्चालनमा थियो। एउटा अक्षरका लागि दश पैसा दस्तुर लाग्दथ्यो। आ.वा.का सेवाग्राहीले सकेसम्म शब्दका छोटो रूपहरू प्रयोग गर्दथे। जस्तै- ‘तुरुन्त आउनु’ लाई ‘तु. आउनु’ भनेर उल्लेख गर्दथे। आ.वा.को पूरा रूप भने आकाशवाणी हो। भारतमा आकाशवाणी नामको रेडियो स्टेसन पनि सञ्चालनमा थियो। जसमा नेपाली भाषामा पनि कार्यक्रम प्रसारण हुन्थ्यो।
सरकारी कार्यालयले अनुरोध सहितको पत्राचार गरेर पठाउँदा बित्तिकै टेलिफोन जडान हुन्थ्यो भने व्यक्तिगत टेलिफोन जडान गर्न निवेदन दिएर वर्षौँ कुर्नुपर्दथ्यो। मैले २०५० सालमा ५० रुपियाँको दस्तुर बुझाएर प्राप्त रसिद सुरक्षित साथ राखेको छ वर्षपछि मात्र बालुवाटारस्थित हाम्रो डेरा कोठामा टेलिफोन जडान भएको थियो। बालुवाटारमा जडान भएको मेरो टेलिफोन नम्बर ४१९६७७ थियो। पछि चाबहिलमा डेरा सरेपछि ४४६८६७७ भयो।
डेरा वा बसाइ सरेपछि टेलिकमले सकेसम्म मिल्दोजुल्दो नम्बर दिने गरेको अनुमान गरेको थिएँ मैले। त्यो नम्बर पहिले नेपाली कांग्रेसका नेता धनराज गुरुङको नाममा रहेछ। उहाँले छोडेपछि टेलिकमले जगेडामा राखेको सो नम्बरमा पछिसम्म पनि उहाँलाई फोन आइरहन्थ्यो। हामीले फोन उठाएपछि ‘धनराज गुरुङ बोल्नुभएको हो?, यो नम्बर धनराज गुरुङको होइन?, धनराज गुरुङ हुनुहुन्न?’ भनेर सोधिन्थ्यो। मैले जवाफमा कहिलेकाहीँ ‘धनराज त होइन, अमरराज चाहिँ हुँ’ भन्थेँ। ‘सरी! रङ नम्बर’ भन्दै फोन गर्नेले फोन राखिदिन्थे।
पछि काठमाडौँ उपत्यकामा सञ्चालित टेलिफोन नम्बरको पछाडि थप एक नम्बर थपियो। क्षेत्र विभाजन गरेर काठमाडौँमा कतै अगाडि २ थपियो त कतै ४ थपियो। त्यस्तै ललितपुरमा टेलिफोन नम्बरको अगाडि ५ अंक थपियो भने भक्तपुरका लागि टेलिफोनको नम्बरको अगाडि ६ थपियो।
अहिलेको साइबरझैँ कुनै बखत फ्याक्स, लोकल कल, एसटिडी. र आइएसटिडी सेवा भनेर अलग्गै सेवा प्रदायक पसलहरू चलेका हुन्थे। त्यहाँ फोटोकपी मेसिन राखिएकै हुन्थ्यो।
गोश्वारा हुलाकसँगै पार्सल सेवा पनि थियो। त्यहाँबाट यदाकदा तस्करका काम पनि हुने हुँदा बेलाबेलामा त्यहाँका कर्मचारी कारबाहीमा पनि पर्दथे। सामान छुटाउनका लागि भन्सार कार्यालयमा झैँ प्रज्ञापन पत्र फाराम भर्नुपर्दथ्यो। जाँचकी र अधिकृत हुँदै भन्सार महसुल बुझाएपछि सामान छोडिदिने काम हुन्थ्यो।
पोस्ट बक्समा गल्तीवश एकको पत्र अर्कोको पोस्ट बक्समा पनि राखिन्थे। कर्मचारीको लापरबाहीका कारण यस्तो काम हुने गरेको थियो। कर्मचारीले हुलाकको माध्यमबाटै अनैतिक वा नाजायज आयआर्जनका काम पनि गर्दथे। कोही कोही पक्राउ परेर कारबाहीमा परेका उदाहरणहरू छन्।
मेरा एक आफन्तको संस्थाको पोस्टबक्स नं. २१३२३ मा पनि मेरो नाममा पत्रहरू आउँथे। धेरैजसो संस्थाहरूले लेटर हेडमा पोस्ट बक्स नं. भनेर नै उल्लेख गरेको देखिन्छ भने थोरातिना संस्थाहरूले पत्र मञ्जूषा नम्बर भनेर उल्लेख गरेको देखिन्छ। पत्र मञ्जूषा भन्नाले बजार वा दोबाटोमा राख्ने मन्दिर आकारको बाकसलाई भनिन्छ, जुन तल्लो भाग ठुलो र माथिल्लो भाग सानो हुँदै गएको र पेट भागमा पत्र छिराउन मिल्ने प्वाल भएको र त्यससँगै ताल्चा मारिएको बाकसलाई भन्ने बुझिन्छ भने हुलाक भवनभित्र भित्तामा जडित बाकसलाई पोस्ट बक्स भनिन्छ, जहाँ पत्रहरू सर्टिङ गरेर राखिन्छ।
गोश्वारा हुलाक कार्यालयका नायब सुब्बा छवि रिजालका अनुसार पहिले २६ हजारको सङ्ख्यामा रहेको पोस्ट बक्सहरूको सङ्ख्या हाल घटेर १२ हजार ५ सयमा झरेको छ। काठमाडौँ बाहिर पनि पोस्ट बक्स सुविधा छ। इपिसी नामको कम्पनीले निजी स्तरबाट पोस्ट बक्स सेवा सञ्चालन गर्दै आएको छ। प्रविधिको विकासले गर्दा हुलाक सेवामा कमी हुन आएको कुरालाई सामान्य कुरा नै मान्नुपर्दछ।
नम्बरसहितका पोस्ट बक्सहरू अहिले डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालय परिसरमा रहेका छन्। हुलाक सेवाको पछिल्लो स्थान आ.वा, टेलेक्स, टेलिग्राम, कुरियर, फ्याक्स हुँदै अहिले इमेल, भाइबर, मेसेन्जर, ह्वाट्सएपसम्म आइसकेका छन्। पछिल्लो समयमा पनि आवश्यक ठानिएको कुरियर सेवा अहिले पनि सञ्चालनमै छ।