यो संसारमा तबसम्म अरू सबै कुरा ठुला हुन्छन् जबसम्म तपाईँको स्वास्थ्यमा समस्या आएको हुँदैन। सानातिना, झिना-मसिना सबै कुरा नै ठुलो लाग्छन् र यी सबै कुराले सताइरहेका पनि हुन्छन्।
जीवन कति अमूल्य छ भनेर थाहा पाउन एक चक्कर अस्पतालको लाउन पर्ने रहेछ। त्यति मात्र कहाँ हो, अस्पतालमा भर्ती हुनुस् मात्र अनि थाहा हुन्छ यहाँबाट निस्कन पाउँदा कस्तो महसुस हुन्छ। आफ्नो जीवन कति अमूल्य छ आज म अस्पतालको लाइनमा बसेर महसुस गरिरहेकी छु।
एक्लै आएको भएर र भिडियो एक्स–रे गर्न पर्खनु पर्ने भएर म पुरै फुर्सदमा थिएँ। आफ्नो मनको भाव पोख्न ब्यागमा भएको डायरी र पेन निकालेँ।
वरिपरि म जस्तै पर्खाइमा बसेका बिरामी वा बिरामीका कुरुवाहरूलाई नियालेर हेरेँ। खासै उज्यालो अनुहार त कसैको पनि थिएन। म आफै पनि उज्याली थिइनँ। मलाई वरिपरि पर्खिरहनु भएका बिरामीका आफन्तहरूले हेरे जस्तै लग्यो। होला पनि किनकि म कहिले डायरीमा लेख्दै थिएँ त कहिले मोबाइलमा टाइप गरिरहेको थिएँ। बिच-बिचमा आफै भावुक पनि भइरहेको थिएँ।
अस्पताल आउने जाने क्रम जीवनमा मेरो नियमित छ। यो अस्पताल त मेरो मामाघर जस्तै छ; घरबाट नजिक अनि आउने जाने सिलसिला जारी छ। अस्पताल जाँदा मेरो मनमा के-के कुरा खेल्छन् खेल्छन्, सबैलाई त्यस्तै होला! अस्पतालमा खुसी भएर त को नै आउँछ र?
जीवनमा धेरै अस्पताल धाएको र समय समयमा भर्ती भएको मान्छे म। मन त मेरो हार मान्नको लागि बनेकै छैन तर शरीर भने कहिलेकाहीँ थाकेको महसुस गर्छु। १,२, ३ पटक होइन, ७ पटक अपरेसन गरेको शरीर मेरो, चेकअप गर्ने भन्ने बित्तिकै दुनियाँ कुरा खेल्छन् मनमा।
भगवानसँग ‘डिल’ गरेको थिएँ मैले, यो जुनीलाई चाहिँ मलाई फेरि अस्पताल जाने बाध्य नगर्नुस् भनेर। सायद त्यो ‘डिल’ एकतर्फी मात्र रहेछ। अनि फेरि रेगुलर चेकअप गर्ने मेरो आमाबाउको बानी मलाई पनि लागेको छ। मेरो आमाबुबाको अनुसार शिक्षा र स्वस्थको लगानीमा कहिले पनि दुई पल्ट नसोच्नु। पहिले यो कुरा बुझेको थिइनँ। अहिले यो एउटा ठुलो सिख हो मेरो लागि।
खासै ठुलो कुरा त केही भएको थिएन मलाई, महिनावारी गडबड भएर आएकी थिएँ। तर जीवनको पाठ पनि सिकेर गएँ। भिडियो एक्स–रेको पालो पर्खँदा मेरो मनमा अनेक कुराहरू खेले; यो भयो भने, त्यो भयो भने।
म त सामान्य चेकअप को लागि आएको थिए,१ घण्टा एक्स–रेको पालो कुर्दा धेरै जनालाई नियालेर हेरेँ। आसा, निराशा सबै अनुहारमा झल्किरहेको थियो। अस्पताल न हो, नौजवान, वृद्ध, बच्चा सबै छन् यहाँ। कोही ह्विलचेयरमा, कोही ब्लड दिने लाइनमा, कोही रिपोर्टको पर्खाइमा।
संसारको रोग हेर्नु भयो भने आफ्नो सबै दुख रोग बिर्सनु हुन्छ भने झैँ भयो मलाई। दुख के हो? रोग के हो? ब्लड नपाएर अस्पताल अस्पताल कुदेका बिरामीको आफन्तलाई सोध्नुस्, भर्खर सर्जरी गरेको बिरामीलाई सोध्नुस्, नजन्मिँदै बच्चा गुमाएको आमालाई सोध्नुस्, क्यान्सर पीडित त्यो मानिसलाई सोध्नुस् जसलाई भोलि ब्युँझिन्छु कि ब्युँझिन्न पनि थाहा छैन। हात-खुट्टा घुमाएकालाई सोध्नुस्, दुख के हो? पीडा के हो?
जबसम्म हात खुट्टा चलेको छ, सास छ, ओछ्यानमा लड्नु परेको छैन तबसम्म सिकायत गर्नु हुन्न जस्तो लग्यो।
सायद म आज एक्लै अस्पताल आउनुमा एउटा सिख थियो। एक्लै नआएको भए यी सबै कुरा मैले नियाल्ने थिइनँ होला, गफ गरेरै बस्थेँ होला।
मैले गरेको जस्तो भगवानसँग अरूले पनि त बिरामी नहुने ‘डिल’ गरेका छन् होला नि!
मेरो रिपोर्ट त ठिकै आयो, हर्मोन्सको गडबडी देखियो। आजभोलि महिलामा पाठेघरको धेरै समस्या देखापरिरहेको छ। मलाई पनि पिसिओडी देखा पर्यो, जुन महिलामा धेरै नै सामान्य छ तर यसलाई सामान्य चाहिँ लिन हुँदैन रहेछ। हरेक ५ महिलामा एक महिलालाई हुने रहेछ।
महिनावारी समयमा नभएर म जँचाउन आएको थिएँ। मेरो वजन पनि बढेको थियो र अनुहारमा पिम्पल पनि आइरहेको थियो। मैले भिटामिन डी, आइरन, सुगर, थाइरोइड, इन्फ्लामेसन् लगायत थाहा भए जति सबै टेस्ट गरिसकेको थिएँ। भिडियो एक्स–रे गरेपछि थाहा भयो र यसको बारेमा जानकारी पाएँ।
महिला हुन पनि साह्रै गारो छ, हर्मोन ठिक गर्यो, स्ट्रेस सुरु हुन्छ, स्ट्रेस ठिक गर्यो, महिनावारी गडबड हुन्छ, खायो वजन बढ्छ, नखायो भिटामिनको कमी हुन्छ। एउटालाई ठिक गर्यो अर्को बिग्रन्छ, मलाई मात्र त पक्कै पनि होइन होला।
३५ लागेपछि के-के हो के-के। जीवनको मजा चाहिँ आफू स्वस्थ हुँदा मात्र हो, सानो हुँदा स्वास्थ्य ठुलो नि धन भन्ने वादविवाद गरेको याद आइरहेको छ। स्वास्थ्य छ त सबै कुरा छ; जीवन छ, जोबन छ आशा छ, सपना छ, इच्छा छ। स्वस्थ छ त जीवन रङिन छ। स्वस्थ रहने प्रयास जारी छ किनकि जीवन सुनौलो छ।
मेरो आमाबाउले भने झैँ शिक्षा र स्वास्थ्यको लगानीमा कहिले पनि सम्झौता नगरौँ।